|

काठमाडौं : 'नेपाल यति धेरै सुन्दर छ। प्रकृतिले सबैथोक दिएको छ। तर मुलुक सोचे जस्तो किन अगाडि बढ्न सकेन?' पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठले चेम्बर अफ कमर्सको ७० औं वार्षिक साधारण सभामा दुःख व्यक्त गरे। 

आफ्नो समयमा पाँच रुपैयाँमा पाइने सामान आज पाँच हजार पर्ने र दैनिक उपभोग्य सामग्री वा प्रयोग गरिने सामान यति धेरै महँगी हुने अवस्था कसरी आइपुग्यो यसको खोजी गर्नुपर्ने पनि बताए। 

श्रेष्ठ बिहीबार नेपाल चेम्बर अफ कमर्सको ७० औ वार्षिक साधारण सभामा सम्मानित पनि भए। चेम्बरले केही दिनमा नयाँ पदाधिकारी पाउँदै छ। कार्यक्रममा सहभागी कोही विभिन्न पद पाउने आशामा आएका थिए। श्रेष्ठ भने पदभन्दा मुलुकले किन कोल्टो फेर्न सकेन भन्ने चिन्तामा थिए। 

जतिबेला उनी देशले प्रगति गर्न नसकेको गुनासो गर्दै थिए। त्यहीँ समयमा प्रधानमन्त्री केपी शर्मा ओली मञ्चमा बसी कुरा सुनिरहेका थिए।

विगतमा सस्तोमा पाइने सामग्री अहिले महँगोमा पाइँदा श्रेष्ठलाई नेपालको व्यवस्थाप्रति वितृष्णा जागेको छ। उनी ९० औ वसन्तमा हिँडिरहेका छन्। विगत सम्झिँदै उनी भन्छन्, 'मैले भोगेअनुसार देशले प्रगति गर्न नसक्दा नेपालको राजनीति र व्यवस्था देख्दा दुखः लागेको छ।'

उनको बाल्यवस्था पनि राम्रो थिएन। बाल्यवस्था अभावै अभावबाट गुज्रेको र  उनी सुख सयलमा हुर्कन सकेका थिएनन्। 'गरीबी घरानाबाट हुर्केर आएको मानिस हुँ म,' श्रेष्ठले सुनाए, 'तर अहिले १० देखि १२ वटा उद्योगको मालिक बनेको छु।'

श्रेष्ठलाई नेपालमा सबैथोक र प्रकृतिले दिनुपर्ने सबै कुरा दिएजस्तो लाग्छ। भएका स्रोतलाई प्रयोग गर्न नसकेकोमा उनले चिन्ता प्रकट गरे। नयाँ-नयाँ कुराहरूको आविष्कार गर्न जरुरी नरहेको उनी सुनाउँछन्। नेपाल गरिबीको रेखामुनी सधैं पर्नुपर्ने कारण आजसम्म नबुझ्दा उनलाई आश्चर्य पनि लागेको छ।

'गरिब मुलुक भनेर चिन्छन्'

विदेशीले नेपाल र नेपालीलाई गरिबीको मुलुक भनेर चिनेका ९० वर्षीय प्रेमलाई मनपर्दो रहेनछ। विदेश भ्रमण गएको स्मरण गर्दै उनी भन्छन्, 'विदेशमा रहँदा कहाँबाट आएको भनेर मलाई सोधे। मैले नेपालबाट भन्दा गरिबी मुलुकबाट पो हो भनेर उसले जवाफ फर्काएको थियो,' आफ्नै मुलुकलाई गरीबी मुलुकभन्दा  उनलाई अफ्ठ्यारो लागिरहेको थियो। 

उनले नेपालका लगभग सबै शासन व्यवस्था देखिसके। राणा, शाह र दलीय शासन व्यवस्था सबै भोगिसके। तर उनलाई कुनै पनि शासन व्यवस्थाप्रति चित्त बुझेको भने छैन।

नेपालले एकतन्त्रीय शासन व्यवस्था खोजेको छ। शासकीय स्वरुप परिवर्तन गरी निर्वाचन व्यवस्था नै परिवर्तन गरिनुपर्ने उनले धारणा व्यक्त गरे। उनले भने, 'प्रत्यक्ष राष्ट्रपति निर्वाचन गर्नुपर्छ। राष्ट्रपतिले मन्त्रिपरिषदमा योग्य मानिस लान पाउनुपर्यो। संसदमा निर्वाचित भएर जाने सांसदले नियम कानुन मात्र बनाउनुपर्छ। यस्तो व्यवस्था लागू गर्न सकेमा मात्र भ्रष्टाचार शून्यमा झार्न सकिन्छ।'

अहिलेको अवस्थामा निर्वाचन हुने हो भने उम्मेदवारले करोडौं खर्च गरेर विजय हासिल गर्छन्। त्यहीँ खर्च उठाउन विभिन्न शीर्षकमा भ्रष्टाचार गर्न सक्ने उनले बताए। 'नेताले गरेको भ्रष्टाचारको सबै रकम नेपाली जनताको हो,' उनले दुःख पोखे।

'नेपालमा पैसा उडिरहेको छ, कसैले देखेनन्'

श्रेष्ठ बोलेको प्रधानमन्त्री ओलीले सुनिरहेका थिए। नेपालमा भइरहेको विकासको अवस्था देखेर उनलाई प्रधानमन्त्रीले समय दिएमा विकास बजेटका लागि १ खर्ब दिने इच्छा व्यक्त गरे। विगत सम्झँदै श्रेष्ठ भन्छन्, 'म पहाडमा जन्मेको मानिस हुँ। विकास कस्तो हुन्छ देख्न पाइनँ। अहिले सहरमा बसोबास छ। अहिले भने केही उद्योग मसँग पनि छ।'

सफलताको शिखरमा एकै पटक कोही पनि पुग्न नसक्ने उनलाई लाग्छ। सफलता प्राप्त गर्न मेहनत, निरन्तरता र इमान्दार हुन जरुरी हुने उनी बताउँछन्। 'मेरो सबै सफलताको कसी नै इमानदारीपन हो, जसरी सफल हुन इमानदार हुनुपर्छ। समृद्ध राष्ट्र बनाउन राजनीति गर्ने व्यक्ति इमान्दार हुनु परो।'

उनी नेपालमा पैसा उडिरहेको देख्छन्। 'उडिरहेको पैसा टिप्नका लागि न राज्य व्यवस्था लागेको छ,न कसैले देखेको छ। अहिलेसम्म जनताको मत प्राप्त गरेर आएका जनप्रतिनिधिले स्पष्ट भिजन सहित बोलेको सुनेको छु,' आक्रोशित स्वरमा उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.