अविश्वासको प्रस्ताव दर्ता र समर्थन फिर्ता एकैपटक हुन्छ : देवेन्द्र पौडेल

|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री महेन्द्र यादवले नयाँ वर्षको सुरुवातमै नयाँ सरकार बन्ने दाबी गरेका छन्। उनले भने,‘ढुक्क हुनुहोस्, नयाँ वर्षमा मुलुकले नयाँ सरकार पाउँछ, अहिले त्यसको लागि सकारात्मक वार्ता भइरहेको छ।’ 

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता यादवले वर्तमान सरकारको विकल्प खोजिने बताउँदै आगामी नयाँ वर्ष अर्थात् वैशाखभित्रै मुलुकले नयाँ सरकार पाउने विश्वास दिलाए। उनले भने, ‘हामी वर्तमान सरकारको विपक्षमा छौं। यो सरकार १०० प्रतिशत परिवर्तन हुन्छ, नयाँ वर्षमा नयाँ सरकार मुलुकले पाउँछ।’

उनले अहिले सरकारको विकल्प खोज्ने विषयमा आफ्नो पार्टी स्पष्ट रहेको सुनाए। उनले भने, ‘हामी स्पष्ट छौं, नेकपा (माओवादी केन्द्र) पनि स्पष्ट छ, तर जसपामा अलिक समस्या देखिएको छ।’

उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न तीन दिलले ढिलाई गर्न नहुने पनि सुनाए। उनले भने, ‘जति दिन ओली सरकार रहन्छ, त्यति दिन नै संघीयता, संविधानका दफामाथि प्रहार भइरहन्छ। अहिले कांग्रेस, माओवादी केन्द्र र जसपा सरकार फाल्ने विषयमा मिल्ने अवस्थामा छौं, चाँडै सहमति गरौं।’

नेता यादवले आफ्नो पार्टी अहिले पनि महाधिवेशनमा केन्द्रित रहेको सुनाउँदै सभापति शेरबहादुर देउवाले सरकार गठनमा त्यति चासो नदेखाएको हुन सक्ने तर्क पेस गरे।

नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य तथा सांसद देवेन्द्र पौडेलले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन यथाशक्य चाँडो फिर्ता लिने स्पष्ट पारेका छन्। उनले सरकारलाई दिएको समर्थन फिर्ता र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव एकै पटक आउने पनि विश्वास दिलाए। 

उनले आफूहरु वर्तमान सरकारलाई विस्थापित गर्ने कुरामा स्पष्ट भइसकेको जनाए। तर, सत्ता समीकरणको निर्णायक शक्ति जनता समाजवादी पार्टी, नेपाल भने अन्योलमा रहेको उनको भनाइ थियो। 

वर्तमान प्रधानमन्त्री ओलीले जनमतको अपमान गरेको उनको आरोप छ। उनले भने, ‘उहाँले जनमतको सम्मान गर्न सक्नुभएन, सरकार र संसद्को राम्रो व्यवस्थापन पनि गर्न सक्नुभएन, पार्टीको त झनै गर्न सक्नुभएन।’

पुष ५ गते संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध आफूहरु सडक संघर्षमा गएको र त्यतिबेला प्रधानमन्त्रीको कदमको विरोध कांग्रेस र माओवादी केन्द्रले पनि गरेको उनको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.