|

भक्तपुर : यस वर्षको बिस्काः जात्रामा शनिबार दिउँसो २ बजे नै भैल खः (भैरवनाथको रथ) तान्ने तयारी भएको छ। सरोकारवालाहरुको बिहीबार साँझ बसेको बैठकले रथ दिउँसो २ बजे नै तानेर बिस्काः जात्रा सुरु गर्ने निर्णय गरेको हो।

भैरवनाथको रथ अपराह्न साढे ५ बजेसम्म गःहिटीमा पुर्‍याई जात्रा सम्पन्न गर्ने तयारी गरिएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए। नगर प्रमुख प्रजापतिको अध्यक्षतामा बसेको बैठकले भैल खः टौमढीबाट पूर्वमा बढीमा बुलुबुलु हिटी (सुकुलढोका) र पश्चिममा बढीमा नासमनासम्म मात्र लग्न तथा रथमा जुसी बजु, कर्माचार्य, तलेजुको मुल पुजारी, गुठी नाइके, भैरव नाइके, कर्मी नाइके, चौगुठीलगायत तोकिएका आवश्यक व्यक्तिहरू बाहेक अन्य व्यक्तिहरू अनधिकृत रुपमा नचढ्न अनुरोध गर्ने निर्णय गरेको छ।

जात्रा अवधिभर भक्तपुर नगरक्षेत्रमा खानेपानीको आवश्यक व्यवस्था मिलाउन काठमाडौं उपत्यका खानेपानी लिमिटेड, भक्तपुरलाई, विद्युत् प्रसारण गर्न विद्युत प्राधिकरण, भक्तपुर वितरण शाखा र टेलिफोन र इन्टरनेट सेवा सञ्चालन गर्न नेपाल टेलिकम, भक्तपुरलाई जिम्मा दिने निर्णय गरेको छ।

जात्रा अवधिभर भक्तपुर नगरका विभिन्न क्षेत्रमा आकस्मिक स्वास्थ्य उपचारका लागि स्वास्थ्य शिविर व्यवस्थापन गर्न नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र, च्याम्हासिंह, यहाँका विभिन्न अस्पतालहरू र नेपाल रेडक्रस सोसाइटी, भक्तपुरलाई जिम्मा दिने भएको छ।

यो वर्ष चैत २८ गते द्यो क्वँ बिज्याइगु जात्रासँगै पशाःचर्‍हे पनि परेको अवस्थामा उक्त दिन भैरवनाथ मन्दिरभित्र पूजाआजा मात्र गर्ने र मन्दिर अगाडिको भैरवनाथ र वीर बेताल रहेको स्थानमा बली दिने व्यवस्था गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.