|

काठमाडौं : ​पछिल्लो सातादेखि पुनः नेपालमा संक्रमणको दर उकालो लागेपछि स्वास्थ्य मन्त्रालयले बढी भीडभाड हुने क्षेत्रमा विशेष सजगता अपनाउन आग्रह गरिसकेको छ। जनस्वास्थ्यका मापदण्ड पालना गर्ने र रात्रिकालीन व्यवसायलाई ९ बजेदेखि बन्द गर्न र सार्वजनिक यातायातमा सवार यात्रुलाई सामाजिक दूरी पालना गराउन निर्देशन दियो।

नयाँ प्रजातिको भेरियन्ट भाइरस फैलिएको आशंकामा मन्त्रालयले जनस्वास्थ्यको मापदण्ड पालना गराउन खोजेको र थप संक्रमण फैलिन नदिन सचेतना अपनाउन आग्रह गरेको छ। सर्वसाधारणले सजगता नअपनाए संक्रमण तीव्र रुपमा फैलने सम्भावना बढदै गएको र अस्पतालमा भर्ना हुनेको संख्या पनि बढदै गएको छ।

सार्वजनिक यातायातमा सामाजिक दूरी कायम नगरेको र रात्रिकालीन व्यवसायीले ९ बजेदेखि बन्द गर्नुपर्ने भए पनि बन्द गरेका छैनन्। उपत्यकामा सबैभन्दा धेरै संक्रमण बढिरहेको र पछिल्लो समय बढेका संक्रमित पनि यहीँ रहेका छन्।

घनाबस्ती भएकोले पनि संक्रमणको दर बढेको हुन सक्ने अनुमान गरिएको छ। बढी भीडभाड हुने ठाउँबाट संक्रमण फैलने त्रास रहेकोले पनि जनस्वास्थ्यका मापदण्ड पालना गर्न निर्देशन दिएको छ।

बल्लबल्ल तंग्रिन लागेको व्यवसायलाई पुनः बन्द गर्नुपर्दा कहिले उठ्न नसक्ने गरी थलिने व्यवसायीले बताउन थालेका छन्। व्यवसायी जनस्वास्थ्यको मापदण्ड पालना गरेर व्यवसाय सञ्चालन गर्न तयार रहेका छन्।

'गृह मन्त्रालयबाट निर्देशन आएपछि कडाइ गर्छौ'

स्वास्थ्य मन्त्रालयले बढी भीडभाड हुने क्षेत्र बन्द गर्नु भनेकोले त्यस विषयमा निर्णय गर्न सरोकारवाला निकाय तथा सम्बन्धित मन्त्रालयमा छलफल गरिसकेको काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख काली प्रसाद पराजुली बताउँछन्। रात्रिकालीन व्यवसाय पर्यटन बन्द गर्ने विषयमा पर्यटन मन्त्रालय, गृह मन्त्रालय र सिसिएमसीसँग छलफल गरिएको उनले जानकारी दिए। 

सम्बन्धित मन्त्रालयहरुले निर्देशन दिएपछि प्रशासनले कडाइका साथ निर्णय लिने उनको भनाइ छ। उनका अनुसार अहिलेको अवस्थामा स्वास्थ्य मापदण्ड पालना गरिएको वा नगरिएको अनुगमन हुन्छ।

पराजुलीले भने, 'जनस्वास्थ्यको मापदण्ड पालना गरिएको वा नगरिएको त्यसको अनुगमन भइरहेको छ। सबैलाई मास्क अनिवार्य गरिएको छ।' सार्वजनिक यातायातमा पनि अनुगमनको काम हुन थालेको उनले बताए। उपत्यका प्रवेश नाकामा परीक्षण गर्नलाई निर्देशन दिएको उनले बताए।

गोकर्णेश्वर नगरपालिकामा परीक्षण सुरु भइसकेको छ। चन्द्रागिरि र दक्षिणकाली नपाले सुरु गरेका छैनन्। स्वास्थ्य सामग्री आइसकेपछि नाकामा परीक्षण थालिने उनले जानकारी दिए। बढी भीडभाड हुने ठाउँ वा चोकमा सचेतनामूलक कार्यक्रम सुरु गरिएको उनको भनाइ छ। 

'समयसिमा तोकेर व्यवसाय सञ्चालन गर्न सकिँदैन'

लामो समयको बन्दाबन्दीले थला परेको व्यवसाय अब बिस्तारै तंग्रिँदै गरेको व्यवसायले लय लिन लागेको समयमा पुनः निश्चित समयसीमा तोकेर व्यवसाय बन्द गर्न दिएको निर्देशनले रात्रिकालीन व्यवसायमा असर पर्ने ठमेल पर्यटन परिषदका उपाध्यक्ष राजुमान डंगोल बताउँछन्।

उनका अनुसार ठमेल क्षेत्रमा करिब रात्रिकालीन व्यवसायमा काम गर्ने करिब १५ सय मजदुरको रोजगार गुम्छ। 'जनस्वास्थ्यको मापदण्ड पालना गरेर व्यवसाय गर्छौ, मास्क,सामाजिक दूरी अनिवार्य र स्यानिटाइजर लगाउन व्यवस्था गर्छौ,' उनले भने, '२ बजेसम्म व्यवसाय गर्न पाउनुपर्छ। रातको समयमा मात्र कोरोना संक्रमण फैलने भन्ने हुँदैन। संक्रमण फैलने भए दिउँसो पनि फैलिन सक्छ।'

सरकार तथा राजनीतिक दलको अगुवाइमा विभिन्न सभा सम्मेलन, गोष्ठी, जुलुस हुने तर व्यवसायमा समयको प्रतिबन्ध लगाउन नहुनेको उनको माग छ। रात्रिकालीन व्यवसाय गर्दैमा कोरोना नसर्ने उनको माग छ। कोरोना संक्रमण फैलिने भए दिउँसो पनि सक्ने उनले तर्क गरे।

'जनस्वास्थ्यका मापदण्ड पालना गरौं' 

पछिल्लो केही सातायता संक्रमितको संख्या बढन थालेपछि अस्पतालमा संक्रमितहरू बढन थालेका छन्। कोरोना संक्रमितको संख्याले अस्पतालको बेड भरिन थालेको शुक्रराज ट्रपिकल तथ सरुवा रोग अस्पतालका निर्देशक डा. सागर कुमार राजभण्डारी बताउँछन्। समयमा जनस्वास्थ्यका मापदण्ड नअपनाए कोरोना तीव्र रुपमा फैलिँदै जाने उनले संकेत गरे।

'सर्वसाधारण नागरिकले मास्क अनिवार्य लगाउनुपर्छ,' डा.राजभण्डारीले भने, '५ जनाभन्दा बढी भेला हुन नपाइने नियम बनाउनुपर्छ।' कोरोनाको लक्षण देखिएमा तुरुन्त परीक्षण गरी उपचार प्रक्रिया बढ्न उनले सुझाव दिए। 

क्वारेन्टाइन निर्माण गरी गत वर्षको अनुभवबाट केही सिक्नुपर्ने उनले बताए। स्थानीय सरकराले अधिकतम मात्रामा आइसोलेसन र क्वारेन्टाइन बनाउनमा ध्यान दिनुपर्ने उनले सुनाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.