|

विराटनगर : पाहुना टोली पञ्जाब पुलिस विराटनगरमा जारी पाँचौ संस्करणको विराट गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ। दोस्रो प्रि–क्वाटरफाइनल खेलमा रुपन्देहीको गोर्खा ब्वाइज क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले हराउँदै पञ्जाबले क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको हो।

विराटनगर रंगशालामा भएको खेलको निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा दुवै टिमबाट १–१ गोल भएको थियो। पहिलो हाफ बराबरीमा सकिएको खेलको ८०औं मिनेटमा शक्ति राईले रुपन्देहीलाई अग्रता दिलाएका थिए।

खेलको अन्तिम मिनेटमा उत्कृष्ट पुनरागमन गर्दै पाहुना टोलीले खेल बराबरीमा ल्यायो। जितेन्द्र सिंहले गोल गर्दै खेल बराबरीमा ल्याए। ट्राइबेकरमा शक्ति राई र गौरव श्रेष्ठले गोल गर्न सफल भए। आशीष गुरुङ र अजित गुरुङ चुक्दा गोर्खा ब्वाइजको यात्रा प्रि–क्वाटरबाटै समाप्त भयो। पञ्जाबका सरजित सिंह, जितेन्द्र सिंह, बलजित सिंह र अर्शदीप सिंहले जाली चुमाए। जितसँगै पञ्जाबले सेमिफाइनल प्रवेशका लागि ए डिभिजन लिग विजेता मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा शनिबार विराटनगर महानगरपालिका र मनाङ मर्स्स्याङ्दीबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल साँझ साढे ६ बजेदेखि नै सुरु हुनेछ। विराटनगर प्रतियोगिताको उद्धघाटन खेलमा सिक्किम युनाइटेडलाई हराउँदै क्वाटरफाइनल प्रवेश गरेको थियो। आगामी वैशाख ४ गतेसम्म हुने प्रतियोगितामा नेपाली सात र विदेशी तीन टिम छन्। विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबका साथै विराटनगर महानगरपालिका, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र क्लब, गोर्खा ब्वाइज क्लब र संकटा रहेका छन्।

विदेशी टिममा भारतको सिक्किम युनाइटेट फुटबल क्लब, पञ्जाब पुलिस तथा अफ्रिकन रुट्स एशोसिएसन क्यामरुनले सहभागिता जनाएका छन्। विराट गोल्डकप फुटबल ट्रष्टको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित १५ लाख १५ हजार रुपैयाँ हात पार्नेछ भने उपविजेताले ७ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.