|

सर्लाही : सर्लाहीको उत्तरमा रहेको चुरे क्षेत्रका बासिन्दाले खानेपानीको संकट झेल्दै आएका छन्। बर्सेनि सुक्खा मौसममा त्यस क्षेत्रका बासिन्दाले खानेपानीको अभाव झेल्छन्।

सुक्खा याम सुरु भएपछि चुरे क्षेत्रका धारा, ईनार, कुवा जस्ता खानेपानीको स्रोत सुक्ने गरेको स्थानीयको गुनासो छ। चुरे डाँडाका बस्ती र चुरे डाँडा छेउछाउका बस्तीमा फागुन महिनादेखि नै खानेपाकीको समस्या हुने गरेको छ।

हिउँदका केही महिना चुरे क्षेत्रमा पर्ने भालुखोप‚ केराबारी, वनमारा, बेलडाँडा, कालिन्जोर, परवानीपुर, नारायणखोला, अत्रौली, ढुङ्ग्रेखोलालगायतका क्षेत्रमा खानेपानीको संकट हुने गरेको छ। बढ्दो वन विनाश र उत्खननले गर्दा पछिल्ला वर्षहरुमा खानेपानीका स्रोतहरु चाँडो सुक्न थालेका जानकारहरु बताउँछन्।

यस क्षेत्रका बासिन्दा एक गाग्री खानेपानी जोहो गर्न घण्टौं धाएर छिमेकी गाउँसम्म पुग्न बाध्य छन्। गाउँका ४०/४५ घरधुरीका लागि एउटा मात्रै कुवा रहेके र त्यस कुवामा रातभरि जम्मा भएको पानीले दुई/चार घरलाई समेत पुग्दैने हरिवन नगरपालिका–१, केराबारीकी रश्मिला जिम्बाले बताइन्। 'अहिले गाउँका अधिकांशले नजिकैको खोला, कुवा र छिमेकी गाउँबाट पानी ल्याएर खाइरहेका छौँ,' उनले भनिन्‚ 'चुरेका वासिन्दा र वस्तुभाउले एउटै खोला/खोल्साको पानी खान्छन्। दूषित पानी पिउँदा स्थानीय वासिन्दा बर्सेनि झाडापखालालगायत अन्य पानीजन्य रोगको शिकार बन्दै आएका छन्।'

लालबन्दी नगरपालिका–१२ भालुखोपका वीरबहादुर रानाले फागुन र चैतमा खानेपानीको जोहो गर्न निकै अप्ठ्यारो हुने गरेको गुनासो गरे। 'मुहानै सुक्न थालेपछि गाउँका धारामा कम पानी आउन थालेको छ,' रानाले भने, 'एक गाग्री पानीका लागि पाँच घण्टासम्म कुर्नुपर्ने बाध्यता छ।'

खानेपानीको अभाव टार्न गत वर्ष बागमती, हरिवन र लालबन्दी नगरपालिकाले लिफ्ट प्रविधिबाट चुरेका केही बस्तीमा खानेपानी पुर्‍याए पनि केही स्थान बाहेक अधिकांश बस्तीमा त्यो प्रविधि प्रभावकारी नभएको स्थानीय बताउँछन्। तर‚ नगरको उत्तरी क्षेत्रका खानेपानीको अभाव हुन नदिन पुराना इनार मर्मत एवं नयाँ निर्माण गर्ने र ठाउँ–ठाउँमा डिप बोरिङ गाड्ने काम भइरहेको हरिवन नगरपालिकका प्रमुख गणेशप्रसाद प्रसाई बताउँछन्। नगरको अति विकट मानिने वडा नम्बर १ र आसपासका क्षेत्रमा कसरी पानी पुर्‍याउन सकिन्छ भनेर अध्ययन गरिसकेको र नजिकैको खोलाबाट लिफ्ट प्रविधिमार्फत ‍खानेपानी पुर्‍याउने थप प्रयास भइरहेको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.