|

इन्डियन प्रिमियर लिग (आइपीएल)-१४ औं संस्करणको पहिलो खेल निकै रोमाञ्चक भएको छ।

गएराति भएको सो खेलमा साविक विजेता एवम्‌ पाँच पटक च्याम्पियन बनेको मुम्बई इन्डियन्सलाई रोयल च्यालेञ्जजर्स बैंग्लोरले २ विकेटले हराइदिएको हो।

टस जितेर पहिलो इनिङमा बलिङ गरेको बैंग्लोरले मुम्बईबाट १६० रन जोड्ने लक्ष्य पाएको थियो। निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै बैंग्लोरले सो लक्ष्य भेटेको हो।

बैंग्लोरलाई जित दिलाउन ब्याटिङतर्फ एव डी भिलियर्सले सर्वाधिक योगदान गरे। उनले २७ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४८ रन जोडे। अन्तिम ओभरको चौथो बलमा २ रन लिँदै जित हासिल गर्न खोज्ने क्रममा विकेट गएपछि उनी पेभेलियन फर्किएका थिए।  

त्यसपछि क्रिजमा आएका मोहम्मद सिराजले एक रन र हर्षल पटेलले एक रन जोडेपछि बैंग्लोरले मुम्बईलाई निराश पारेको थियो। 

टीमलाई जित दिलाउने क्रममा ग्लेन म्याक्सवेलले ३९, कप्तान विराट कोहलीले ३३ र वाशिङ्टन सुन्दरले १० रन जोडे।

बलिङतर्फ हर्षल पटेलले उत्कृष्ट प्रदर्शन गरे। उनले ४ ओभरमा २७ रन खर्चिएर महत्वपूर्ण ५ विकेट लिए। २०औँ ओभरमा मात्रै उनले ३ विकेट लिए थिए। हर्षल पटेलले २ विकेट, काइल जेमिसन र वाशिङ्टन सुन्दरले  एक–एक विकेट हात पारे।

पहिलो इनिङ ब्याटिङ गरेको मुम्बईले ९ विकेट क्षतिमा १५९ रन जोडेको थियो। ओपनर क्रिस लिनले मुम्बईका लागि सर्वाधिक ४९ रन बटुलेका थिए।

सूर्यकुमार यादवले ३१, इशान किसानले २८, कप्तान रोहित शर्माले १९ र हार्दिक पान्ड्याले १३ रन जोडे। मुम्बईका बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्‌।​​

मुम्बईले दोस्रो खेलमा १३ अप्रिलमा कोलकाता नाइट राइडर्ससँग र बैंग्लोरले १४ अप्रिलमा सनराइजर्स हैदराबादसँग खेल्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.