|

काठमाडौं : कथाकार श्याम साहको दोस्रो कथा संग्रह 'पथेर' सार्वजनिक भएको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार किताबको विमोचन भएको हो।

'पथेर' सार्वजनिकीकरणमा लेखक राजन मुकारुङले नेपाली साहित्यको पुरानो मानक र व्याकरणमा राखेर उक्त कृतिलाई हेरे आफ्नो नलाग्ने बताए। पुरानै दृष्टिकोणबाट कथालाई पढ्न खोजेमा कथाकारले उठान गर्न खोजेको विषय र मुद्दासँग पाठक 'कन्भिन्स' हुन गाह्रो पर्ने उनको भनाइ थियो। केन्द्रमा बसेर एकाध व्यक्तिहरुले नेपाली समाजबारे गरेको व्याख्या अपर्याप्त रहेको उनले बताए। मुकारुङले साहित्यको कथित मूलधारलाई भत्काउन पथेरले योगदान दिने बताए।

लेखक विभूति भट्टराईले साहका कथाहरु पढेपछि पाठकलाई मधेशप्रति अपनत्व महसुस हुने बताइन्। राज्यद्वारा मधेशमाथि भएको विभेदका विविध आयामहरुलाई कथाकारले आफ्ना कथाहरुमार्फत प्रस्तुत गर्न सफल भएको उनको भनाइ छ। मधेशको सामाजिक मनोविज्ञान, मधेशी समाजमा व्याप्त पितृसत्तात्मक संरचना, मधेशको समग्र अर्थ-राजनीति, आदि विषयलाई कथाकारले मिहिन ढंगले आफ्ना कथाहरुमा चित्रण गरेको उनले बताइन्। केन्द्रले रटाइरहेको विकासको रटानमाथि पनि मधेशको फरक दृष्टिकोण हुनसक्नेतर्फ श्याम साहको कथाले सतर्क गराएको भट्टराईको भनाइ थियो।

त्रिवि समाजशास्त्र विभागका प्रमुख डा युवराज लुईंटेलले, मधेशका कथाहरु लेखेर श्याम साहले नेपाली साहित्यमा सशक्त उपस्थिति जनाएको बताए। साहका कथाहरुमा मधेशको र विशेषतः महेन्द्र राजमार्गदेखि दक्षिणको आञ्चालिकता झल्किएको उनले बताए। मधेशमै पनि सबैभन्दा तल्लो तहमा राखिएका समुदायहरुको कथा लेखेकोले मधेशभित्रको वर्गीय अनुहार साहले देखाउन सफल भएको उनको भनाइ थियो।

लेखक एवं राजनीतिक विश्लेषाक सिके लालले साहका कथाहरुमा मधेशभित्रको समाजलाई हेर्ने वास्तविक दृष्टिकोण प्रस्तुत गरिएको बताए। साहित्य समाजको ऐना भएकाले त्यसमा परावर्तित हुने कुरा लेखकको पृष्ठभूमि र दृष्टिकोणमा भर पर्ने उनले बताए। समाजको उठान सही तरिकाले भएका कथाहरु नै कालजयी हुने उनको धारणा थियो।

फिनिक्स बुक्सले प्रकाशन गरेको कथासंग्रह 'पथेर'भित्र ११ वटा कथा छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.