|

धनगढी : नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस‚ नेकपा माओवादी र एमाले (माधव-झलनाथ) समूह निकट पत्रकार संगठनको प्यानल विजयी भएको छ।

महासंघ सुदूरपश्चिमको अध्यक्षमा योगेश रावल निर्वाचित भएका छन्। उनी प्रेस युनियन, प्रेस संगठन, प्रेस चौतारी (माधव-झलनाथ समूह) गठबन्धनको उम्मेदवार हुन्। उनले ७५६ मत प्राप्त गरे भने प्रेस चौतारी (ओली समूह)को नेतृत्व गरेका कृष्ण ओलीले २९२ भोट प्राप्त गरेका छन्।

रावलको प्यानलमा उपाध्यक्ष योगेन्द्र बलायर, महासचिव रामसिंह ठगुन्ना, सचिव हरि जोशी, समावेशी सचिव प्रेम चुनारा, कोषाध्यक्ष राम धामी विजयी भएका छन्।

कुन जिल्लामा कसको नेतृत्व?

सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये बझाङमा संयुक्त प्यानलका शैलेन्द्रबहादुर रोकाया नेतृत्वको प्यानल विजयी भएको छ। अछाममा खम्बु खत्री नेतृत्वको प्रेस युनियनको प्यानल विजयी भएको छ। बाजुरामा युनियन र ओली समूहबीच गठबन्धनका छक्क मल्ल नेतृत्वको प्यानल विजयी भएको छ। मल्ल युनियनका हुन्।

डोटीमा मोहन शाही नेतृत्वको प्यान विजयी भएको छ। दार्चुलामा ओली समूहको चौतारीको प्यानल विजयी भएको छ। यस्तै कैलालीमा प्रेस युनियनको प्यानल विजय भएको छ। प्रेस युनियनका तर्फबाट हिमाल जोशीको टोलीले बाजी मारेको हो। कञ्चनपुरमा माधम धामी नेतृत्वको गठबन्धन समूह निर्वाचित भएको छ।

बैतडीमा जिल्लाको भएन निर्वाचन

बैतडीमा भने सदस्यता विवादका कारण चुनाव हुन सकेन। नयाँ सदस्यता सिफारिस गर्ने क्रममा क्रियाशील पत्रकारहरूले नपाएको भन्दै एक समूहले निर्वाचन समितिको कार्यालयका कागजात च्यात्दै तालाबन्दी गरेको थियो।

प्रदेश र केन्द्रको टिमलाई मतदान गर्ने तर जिल्ला नेतृत्वको निर्वाचन नगर्ने गरी सहमति भएको छ। जिल्ला नेतृत्व चयन भएको छैन।

डडेल्धुरा र कैलालीको बागी विजयी

डडेल्धुराको निर्वाचन रोचक रह्यो। युनियन नेतृत्वको गठबन्धनले युनियनका वरुण पनेरु नेतृत्वमा प्यानल तयार गरेको थियो। उक्त टिम आफूहरूलाई स्वीकार्य नभएको भन्दै युनियनइतर नेताहरूले विद्रोह गरे।

उनीहरूले प्रेस चौतारी माधव–खनाल समूहका हिक्मत सिंह नेतृत्वमा नयाँ प्यानल बनाउँदै निर्वाचनमा होमिएका थिए। केन्द्रदेखिको गठबन्धनविरुद्ध लागेको भन्दै सिंहलाई कारबाही समेत भयो।

तर‚ चुनावी बाजी तिनै सिंहको प्यानलले मारेको छ। सिंहले गठबन्धनका आधिकारिक उम्मेदवार पनेरुलाई १८ मतको अन्तरले पराजित गरेका हुन्। उपाध्यक्ष, सहसचित, समावेशी सचिव र कोषाध्यक्ष पनि सिंह प्यानलकै विजयी भएका छन्।

यस्तै‚ कैलालीमा पनि प्रेस युनियनसहितको गठबन्धनका आधिकारिक उम्मेदवार श्रवण देउवालाई ७ मतले पराजित गर्दै अध्यक्षमा हिमाल जोशी विजयी भएका छन्। जोशीले युनियनसँग विद्रोह गरेर नयाँ प्यानल बनाएका थिए। आफ्ना प्रतिद्वन्दी श्रवण देउवा र सुशील ढुङ्गानालाई पराजित गर्दै जोशी विजयी भएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.