|

सिर्जना अधिकारी

लमजुङ : लमजुङको मर्स्याङ्दी करिडोरमा निर्माणाधीन २२० केभी राष्ट्रिय प्रशारण लाइन प्रभावितहरुले आफ्नो लालपुर्जा जलाएका छन्। राष्ट्रिय प्रशारण लाइन निर्माणका क्रममा यसअघिका विवाद समाधान नहुँदै क्षतिपूर्तिका लागि सूचना जारी गरेको भन्दै प्रभावितहरुले विरोधस्वरूप लालपुर्जा जलाएका हुन्।

यसअघि जिल्ला प्रशासन कार्यालय लमजुङले प्रशारण लाइनअन्तर्गत राईट आफ वे भित्र पर्ने जग्गा धनीहरुलाई क्षतिपूर्ति लिन र उक्त जग्गाभित्र घर बनाउन तथा रुख विरुवा रोप्न निषेध गरेको थियो। तर, प्रभावितहरुले विगत चारवर्ष अघिदेखिका समस्याको कुनै सम्बोधन नगरी जनताको अधिकार खोस्ने काम गरेको भन्दै विरोधमा उत्रिएको बताएका छन्।

आफ्नो नाममा भएको जग्गा आफैँले उपभोग गर्न नपाएपछि सुकुम्बासी बन्नुको विकल्प नभएको भन्दै आ–आफ्नो जग्गाको लालपुर्जा जलाएको बेसीशहरका प्रभावित टुकबहादुर नेपालीले बताए।

मर्स्याङ्दी करिडोरअन्तर्गत राईनास, दोर्दी, बेसीशहर र मर्स्याङ्दी गाउँपालिकाका प्रभावितहरु सदरमुकाम बेसीशहरमा जम्मा भई विरोधसभा गर्दै एकैसाथ लालपुर्जा जलाएका हुन्। पीडितहरुले आफ्ना मागका विषयमा पटक–पटक सम्बन्धित निकायमा आग्रह गरे पनि सम्बोधन नगरेको उनीहरुको गुनासो छ। जनताको विषयमा सम्वन्धीत निकाय र जनप्रतिनिधिको समेत चासो नभएपछि लालपुर्जा जलाउन बाध्य भएको राईनास नगरपालिकाअन्तर्गत धमिलीकुवाका अर्का प्रभावित मोहनशर्मा चिलुवालको भनाइ छ।

लालपुर्जा जलाउनुअघि प्रभावितहरु जिल्ला प्रशासन कार्यालय पुगेर विभिन्न मागसहित प्रशासनको ध्यानाकर्षणसमेत गराएका थिए। उनिहरुले प्रशारण लाइनको राईट अफ वे १५-१५ मिटर नभई अन्तराष्ट्रिय मापदण्डअनुसार हुनुपर्ने, व्यक्तीको नाममा लालपुर्जा हुँदासम्म त्यसको उपभोग सम्बन्धित व्यक्तिले नै गर्न पाउनुपर्ने, सम्बन्धित व्यक्ति तथा उपभोक्तासँग छलफल नगरीबिना सहमति सम्पतिको हस्तक्षेप गर्न नपाउने जस्ता मागसमेत राखेका छन्।

ध्यानाकर्षण पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले प्रभावितहरुका समस्याका बारेमा सम्बन्धित निकायमा सहजीकरण गरेको जानकारी गराएको थियो। सहायक प्रजिअ शाहिले राज्यले व्यवस्था गरेको नीति नियमको परिधिमा काम हुनुपर्ने भन्दै जनताको अधिकतम सहभागिता र अनुकूल हुने गरी काम कारबाही अघि बढाउन प्रशासन प्रतिबद्ध रहेको बताए।

प्रशासनको ध्यानाकर्षण गराउँदै प्रभावितहरुले बेसीशहरको नारायणस्थान चोकमा आफ्नो लालपुर्जा जलाएका हुन्। लालपुर्जा जलाउने क्रममा प्रहरीले अवरोधसमेत गरेको एफपिक लमजुङका सचिव चन्द्र मिश्रले जानकारी दिए। आफ्नो अधिकार खोसिएको भन्दै प्रभावितहरुले सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए।

लमजुङको मर्स्याङ्दी करिडोरअन्तर्गत राइईनासको धमीलीकुवा देखि २२० केभी राष्ट्रिय विद्युत प्रशारण लाइन निर्माणको क्रममा रहेको छ। प्रभावितहरुले अधिकरण गरिएको जग्गामा उचित मुआव्जालगायतका विषयमा पटक–पटक प्रशासन कार्यालय र सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै आएका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.