|

भक्तपुर : यसवर्षको बिस्का जात्रा शुरु भएको छ। आज साँझ ३ बजेर ५० मिनेटको समयमा ङातापोल (पाँचतल्ले मन्दिर) परिसरमा निर्माण गरिएको भैल खःमा (भैरवनाथको रथमा) भैरवनाथ विराजमान गराएसँगै भैल खः तान्न शुरु भएको थियो। यससँगै भक्तपुर आठ रात नौ दिन जात्रामा झुम्ने छ।

काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको ३ तल्ले भैल खःलाई क्वने र थनेका बासिन्दाले रथको अगाडि ५ वटा र पछाडी ४ वटा डोरीले तानातान गरेर आ–आफ्नो टोलतर्फ लैजाने परपम्परा रहेको छ। यो जात्राको मुख्य आकर्षण नै रथ तानातान गर्नु हो। यसरी तानातान गर्ने क्रममा थनेतर्फ पहिला तानेर लानसके दत्तात्रयसम्म लैजाने र त्यहाँबाट तानेर पुनः टौमढीहुँदै क्वनेतर्फको टेखापुखुसम्म ल्याएर त्यहाँबाट पनि फर्काएर गःहिटीमा रथ पुर्‍याएपछि पहिलो दिनको जात्रा सम्पन्न गरिन्छ।

जात्रामा रथ तान्ने परम्परागत रुट क्वने (तल्लो टोल) तर्फ टौमढी, बुलुँचा, घट्खा, नासमना, मुलाखु, बंशगोपाल, तेखापुखुसम्म र थने (माथिल्लो टोल)तर्फ क्वाछें, साकोठा, सुकुलढोका, गोल्मढी, इनाचो, दत्तात्रयसम्म रहेको छ। जात्राको दोस्रो दिन शुन्य मानिन्छ।

यसवर्ष कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर भैल खःलाई माथिल्लो टोलतर्फ सुकुलढोकास्थित बुलुबुलु हिटीसम्म र तल्लो टोलमा नासमनासम्म मात्र भैल खः पुर्‍याउने योजना रहेको छ।

जात्राको तेस्रो दिन गःहिटीमा भैरवनाथलाई बली चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ। उक्त बलिपुजाको मासु प्रसादका रुपमा लाकुलाछेबासीलाई बाँडिन्छ, जसलाई स्थानीय भाषामा ‘स्याःक्वःत्याःक्वः’ भनिन्छ।

जात्राको चौथो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह यसीं(हात नभएको लिङ्गो) उभ्याइन्छ भने साँझपखः तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ५५ हात लामो हात भएको लिङ्गो ल्योसिङ खेलमा उभ्याइन्छ।

लिङ्गो उभ्याउने जात्रा बिस्काको अर्को आकर्षणको रुपमा लिइन्छ। पुरानो वर्ष विदाइ र नयाँ वर्षको आगमनको पूर्व सन्ध्यामा लिङ्गो उभ्याउने गरिन्छ। लिङ्गोको कोखामा झुण्ड्याइएका दुई ध्वजाहरुलाई वीरध्वजा र विश्वध्वजा भनिन्छ। एकजोडी ध्वजाहरु फुकाएपछि एउटा संवत् फेरिने हुनाले बीचमा फुकाएर हेर्न हुँदैन भन्ने धार्मिक मान्यता रहेको छ। लिङ्गो उभ्याउन बाँधिएका आठवटा डोरीलाई अष्ट मात्रिकाको प्रतिक मानिन्छ। लिङ्गो उभ्याउने जात्रा सकिएपछि तलेजुमा दुमाजुको विशेष जात्रा र पूजा गरिन्छ। बैशाख १ गते मध्यरातमा नवदुर्गा देवगण लिङ्गो दर्शका लागि आउने परम्परा छ।

लिङ्गो उठाएको हेर्नाले शत्रुहरु नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यसलाई शत्रुहन्ता जात्रा पनि भनिन्छ। यस दिन भैरवनाथ र भद्रकालीको रथ पनि लिङ्गो उभ्याउने स्थानमा पुर्‍याइन्छ।  लिङ्गो उठ्नासाथ स्थानीय बाराही इन्द्रेणी देवीको तिंप्वाः जात्रा मनाइन्छ।

बिस्का जात्राको पाँचौं दिन अर्थात नयाँ वर्ष बैशाख १ गतेका दिन लिङ्गो ढालिन्छ। त्यसको लगतै गःहिटीमामा भैल खः र भद्रकालीको रथलाई एक आपसमा जुधाइ द्यः ल्वाकिगु(रथ जुधाउने) जात्रा गरिन्छ। त्यसपछि तलेजुमा दुमाजु देवीको जात्रा समेत गरिन्छ।

जात्राको क्रममा बैशाख २ गते महालक्ष्मी र महाकालीको रथ जुधाउने जात्रा मनाइन्छ। ३ गते तचपालस्थित ब्रम्हायणी देवीको तिलाखप्वा जात्रा र खँलामा परदेशी भिमसेनको जात्रा गरिन्छ। त्यसैगरी बैशाख ४ गते जात्रा अवधिभरमा गरिएका विभिन्न कार्यको क्षेमा सहितको पुजाको रुपमा सगुन जात्रा गरी नगरका सबै देवीदेवतालाई सगुन दिइन्छ। साँझ  चोछेको छुमा गणेशको जात्रा गरिन्छ। जात्राको अन्तिम दिन भैल खःलाई गःहिटीबाट पहिलो दिनमा जस्तो थने(माथिल्लो) र क्वने(तल्लो) टोलका जात्रालुहरले  तानातान गरी  टौमढी भैरवनाथको प्राङ्गनमा रथलाई तानेर ल्याई जात्रा समापन गरिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.