|

पर्वत : १९ औँ संस्करणको आहा–रारा गोल्ड कपमा सङ्कटा क्लबले पाहुना टोली क्यामरुनको अफ्रिकन रुट्स एसोसिएसनलाई पराजित गरेसँगै उपाधि नेपालको पक्षमा जोगिएको छ।

पोखरा रङ्गशालामा शनिवार भएको फाइनल खेलमा पेनाल्टीमा अफ्रिकन रुट्स एसोसिएसनविरुद्ध सङ्कटा क्लबले दुईविरुद्ध चार गोल गर्न सफल भयो। पेनाल्टीमा अमित तामाङ, सुवास गुरुङ, निरज बस्नेत र आयुष घलानले १/१ गोलको योगदान दिए।

निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले १÷१ गोल गरेका थिए। थपिएको ३० मिनेटको समयमा संकटा र अफ्रिकन रुट गोल गर्न असफल भएपछि खेल पेनाल्टीमा गएको थियो।

खेल सुरु भएको ११ औँ मिनेटमा बासेकले गोल गर्दै अफ्रिकन रुट्सलाई अग्रता दिलाएका थिए। सेमी फाइनल खेलमा पनि एसोसिएसनले खेल सुरु भएको तेस्रो मिनेटमा नै नेपाल पुलिस क्लबविरुद्ध गोल गरेको थियो।

शारीरिक रूपमा नेपालीको तुलनामा अग्ला र बलिया कदका क्यामरुनका खेलाडीहरू प्राविधिक रूपमा पनि बलिया देखिँदा नेपाली खेलाडी दबाबमा परेको आभास भएको थियो।

खेलको पहिलो हाफसम्मको समयमा अफ्रिकन रुट्सले बललाई आफ्नो नियन्त्रणमा राख्न सफल भएको भए पनि त्यसपछि भने नेपाली खेलाडीले रणनीति परिवर्तन गर्दै आक्रामक रूपमा खेलेका थिए।

जसको परिणाम खेलको ५० औँ मिनेटमा संकटा तर्फबाट गोल किपर राजाबाबु थापाको लङ किकलाई ग्लोरीले जाली चुमाउन सफल भए। खेलको २७ औँ मिनेट र त्यसपछिको समयमा एसोसिएसनले गोल गर्नै लागेको अवस्थामा थापाले बललाई नियन्त्रणमा लिएका थिए। खेलको ४८ औँ मिनेटमा एसोसिएसनका खेलाडी मोसाले प्रहार गरेको पावरफूल प्रहार गोल गोलकिपरको खुट्टामा ठोकिएर बाहिरिन पुग्यो।

संकटाले पहिलो पटक आहा–रारा गोल्ड कपको उपाधि जितेको हो। संयोग त के छ भने आहा–रारा गोल्ड कपको १७ र १८ औँ संस्करणको प्रतियोगितामा पनि पेनाल्टीका माध्यमबाट नै विजेताको टुङ्गो लगाइएको थियो।

प्रतियोगिताको विजेता सङ्कटा क्लबले १० लाख एक हजार रुपैयाँ पुरस्कार हात पारेको छ भने उपविजेता बनेको अफ्रिकन रुट्स एसोसिएसनले पाँच लाख एक हजार रुपैयाँ प्राप्त गरेको छ।

विधागत रूपमा सर्वोत्कृष्ट हुने खेलाडीले एप्रिला स्कुटर प्राप्त गरेका छन्। यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट कोच घोषित हुनेलाई ट्रफीसहित जनही २५ हजार रुपैयाँ प्रदान गरिएको छ।

यस पटकको संस्करणमा मनाङ मर्स्याङ्दी क्लब, नेपाल पुलिस क्लब, थ्रीस्टार क्लब, एपिएफ क्लब, सङ्कटा क्लब, मच्छिन्द्र क्लब, सहारा क्लब र अफ्रिकन रुट डउला क्यामरुन गरी आठ टोली सहभागी भएका थिए।

प्रतियोगिताबाट बचत भएको रकमले पोखरा–१७ दोविल्लामा रहेको सहारा एकेडेमी सञ्चालनमा खर्च गरिने क्लबले जनाएको छ। एकेडेमीमा २४ जना बालकहरूलाई आश्रय दिइएको छ। यो संस्करणमा एक करोड २९ लाख एक हजार रुपैयाँ आम्दानी र एक करोड एक लाख ८१ हजार रुपैयाँ बचत हुने आयोजकले अनुमान छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.