|

काठमाडाैं : केही साता अघिसम्मको अंक तालिकालाई आधार मान्ने हो भने स्पेनिस लालिगामा एट्लेटिको म्याड्रिड यो पटक निर्विकल्प च्याम्पियन हुने अनुमान धेरैको थियो।

तर अहिले अवस्था फेरिएको छ। विशेष गरी ५ अप्रिलमा लिग लिडर एट्लेटिको म्याड्रिड सेभियासँग १–० ले पराजित भएपछि अब लिगको उपाधि होड खुला भएको छ।

कुनै समय शीर्ष स्थानमा १५ अंकको अग्रता बनाएको एट्लेटिको २९ औँ चरणमा आउँदा १ अंकको साँघुरो अग्रतामा खुम्चिँदा अब बार्सिलोना र रियल म्याड्रिड दुबैको लागि पनि उपाधि जित्ने अपेक्षा बढेको छ। 

एट्लेटिकोलाई निरन्तर पछ्याइरहेका दुई स्पेनी महारथी रियल र बार्सिलोना सिजनको अन्तिम एल क्लासिको भिडन्त आज मध्यरात हुँदा दुवैका लागि जित्नैपर्ने दबाब छ।

नेपाली समयअनुसार आज मध्यरात १२ः४५ एक अर्काविरुद्ध प्रतिस्पर्धा गर्दैछन्। त्यसोत एल क्लासिकोमा लगातार पछिल्ला चार खेल जितेको रियल सोही नतिजा दोहोर्‍याउने सुरमा हुँदा बार्सिलोना भने पछिल्ला ६ खेलमा रहेको आफ्नो फर्म रियलविरुद्ध पनि कायम राख्ने ध्याउनमा हुनेछ। 

धेरैले बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसीको यो एल क्लासिको अन्तिम हुने चिन्ता लिइरहेका छन्। त्यसैले मेसी सबैका लागि आकर्षक हुनेछन्। त्यसो त रियलका लागि मुख्य खेलाडी एडेन हाजार्डको चोट बार्सिलोनाविरुद्ध समस्या बन्न सक्ने छ।

दुई डिफेन्डरहरु सर्जियो रामोस र रफाइल भरानेको अनुपस्थिति पनि रियलका लागि टाउको दुखाइ बन्न सक्छ। यद्यपि केही दिनअघि लिभरपुलविरुद्ध च्याम्पियन्स लिगमा जित निकालेको आत्माविश्वास रियलका लागि बलियो पक्षका रुपमा रहने छ।

एल क्लासिको ला लिगामा १८२ पटक खेलिसकिएको छ। जसमा रियल म्याड्रिड ७४ पटक विजयी रहदा बार्सिलोनाले ७२ पटक जितेको छ। ३६ खेल बराबरीमा सकिएका छन्। त्यसैले यो सधैं विश्व क्लब फुटबलका लागि प्रतिक्षामा रहने गर्छ।

एल क्लासिको नाम कसरी रहन गयो?

पहिले रियल म्याड्रिड र बार्सिलोनाबीच ला लिगामा हुने भिडन्तलाई मात्र एल क्लासिको भनिन्थ्यो । पछि आएर यी दुई टिमबीचका जुनसुकै प्रतिस्पर्धालाई पनि एल क्लासिको भन्न थालिएको हो।

एल क्लासिको पहिलेदेखि नै प्रतिष्ठाको लडाइँ थियो, तर अहिलेजस्तो भीषण भने थिएन। स्पेनका दुई ठूला सहर म्याड्रिड र बार्सिलोनाबीचको राजनीतिक भिन्नताका कारण यी दुईबीचको खेल प्रतिष्ठाको लडाइँ बनेको थियो। म्याड्रिड स्पेनिस राष्ट्रवादको पक्षमा थियो भने बार्सिलोना क्याटलान राष्ट्रवादको पक्षमा।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.