|

विराटनगर : विराटनगरको सहिद रंगशालामा जारी छैटाैं विराट गोल्डकपमा पाहुना टिम भारतको युनाइटेड फुटबल क्बल वेस्ट बंगाललाई हराउँदै घरेलु टिम विराटनगर ११ सेमिफाइनल प्रवेश गरेको छ। 

शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा भारतको वेस्ट बंगाललाई विराटनगरले ३–० ले हराएको हो। जितसँगै विराटनगरले चैत ३० गते हुने एपिएफ क्लब र नेपाल पुलिसबीचको विजेतासँग खेल्ने छ। 

एकपक्षीय खेलमा विराटनगरका सुनिल खड्काले दुई गोल र प्रकाश बुढाथोकीले एक गोल गरे। खेलको २५ औं मिनेटमा सुनिल खड्काले गोल गरी टिमलाई अग्रता दिलाएका थिए। 

खेलको २५ औ मिनेटमा प्रकाश बुढाथोकी क्रस पासलाई अनमार्क रहेका सुनिल खड्काले जाली चुमाए। ८५ औ मिनेटमा सन्जोग राईको क्रस पासमा प्रकाशले अग्रता दोब्बर बनाए । उनले डिबक्स बाहिरबाट दोश्रो बार च्याप्दै गरेको प्रहारमा विपक्षी टिमका गोलरक्षक निजम सिंहले कुनै प्रतिक्रिया जनाउन पाएनन्। 

८९ औ मिनेटमा गोलरक्षक किशोर गिरीको लामो प्रहारलाई सुनिलले जाली चुमाउँदै विराटनगरको जित सुनिश्चित गरे। पहिलो हाफमा विराटनगरले १– ० ले अग्रता बनाएको थियो। दोस्रो हाफमा भारतका खेलाडीले सुधारिएको प्रदर्शन गरे पनि हार टार्न सकेनन्।

७० औं मिनेटमा बंगालका सुरज राउतले पाएको अवसर विराटनगरका गोल रक्षक किशोर गिरी बाधक बनेका थिए। पहिलो हाफमा १ गोलले पछि परेको बंगालले  ७५ औं मिनेटमा फ्रिकिकको अवसर पाए पनि सदुपयोग गर्न भने सकेन। 

खेलको म्यान अफ द म्याच विराटनगरका सुनिल खड्का भए। उनले नगद १० हजार प्राप्त गरे।

पहिलो हाफमा खेडालीहरूले सोचेजस्तो प्रदर्शन नगरे पनि दोस्रो हाफमा राम्रो खेल्दा नतिजा आफ्नो पक्षमा आएको विराटनगरका प्रशिक्षक सन्जिव बुढाथोकीले बताए। ‘सेमिफाइनलमा राम्रो टिमसँग प्रतिस्पर्धा हुँदैछ,’ उनले भने, ‘केही खेलाडी र फरवार्ड परिवर्तन गर्ने योजना बनाएको छु।’

यता भारतका प्रशिक्षक अनिमेश तामाङले पाएको थुप्रै अवसर खेलाडीले खेर फाल्दा हार भएको बताए।

आइतबारको दोस्रो क्वाटरफाइनल मछिन्द्र क्लब काठमाडाैं र भारतको पंजाव पुलिसबीच हुने छ। भारतको पंजावले शनिबार टाइब्रेकरमा गोरखा ब्वाइज क्लब रुपन्देहीलाई ४–२ गोलले हराउँदै अन्तिम आठमा प्रवेश गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.