|

जुम्ला : जुम्लामा उत्पादन हुने ऊनबाट बनेको राडी‚ स्वीटर, कोट, गलबन्दी आदिको माग बढ्दै गए पनि उत्पादन भने घट्दै गएको छ।

कच्चा पदार्थ ऊन अभाव भएकाले उत्पादन घटेको चन्दननाथ नगरपालिका-३ खोलीकोटकी ४४ वर्षीया कुन्जाङ पुटिक तामाङले बताइन्। चीनबाट ऊन ल्याउने गरे पनि कोरोनाका कारण नाका बन्द हुँदा समस्या भएको उनको भनाइ छ। घरेलु उत्पादनको माग राम्रो भए पनि ऊनको अभाव भएको तामाङले बताइन्।

तामाङले लामो सयमदेखि तानबाट राडीपाखी उत्पादन गर्दै आएकी छन्। उनी जुम्लामा एक सफल महिला उद्यमीको रुपमा स्थापित भएकी छन्। तामाङले जुम्लामा महिलालाई रोजगारी सिर्जनासँगसँगै सिप हस्तान्तरण गर्दै आएकी छन्।

चन्दनाथ नगरपालिकाका हरिबहादुर खत्रीले पनि ऊनबाट बनेको वस्तुको माग बढे पनि उत्पादन घटेको बताउँछन्। 'घरेलु उत्पादन शरीरका लागि राम्रो र न्यानो हुन्छ। यसले गर्दा पनि माग बढेको हो‚' उनले भने‚ 'तर‚ ऊन उत्पादन नहुँदा समस्या भएको हो।'

घरेलु उत्पादनका लागि ऊन प्रोसेसिङ गर्ने उपकरणको आवश्यकता रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द महतले बताउँछन्। महतका अनुसार उक्त उपकरण व्यवस्थापनका लागि प्रदेश सरकारले बजेट विनियोजन गर्ने भएको छ। उपकरण व्यवस्थापन गर्न सके घरेलु उत्पादन गुणस्तरीय हुने र यसको बजार अझै बढ्ने सम्भावना रहेको उनको भनाइ छ।

चालु आर्थिक वर्षको अहिलेसम्म जुम्लामा दर्ता भएका ३१५ उद्योगमध्ये ६० प्रतिशत उद्योग महिलाका नाममा छन्। जुम्लामा ५० भन्दा बढी भेडाबाख्रा पालन गर्ने २०० भन्दा बढी किसान छन्। ७७ हजार भेडा र ४२ हजार बाख्रा रहेका तथ्यांक छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.