|

घरबाट निस्किन खोज्दै उसले तलबाटै पत्नीलाई भन्यो, ‘म एकछिन बाहिर गएर आउँछु है।’

‘कहाँ जाने?’ पत्नीले माथि भान्साबाटै सोधिन्।

‘बैंक’ उसले भन्यो।

‘किन?’ पत्नीले पुनः सोधिन्।

‘बैंक किन जानु र! बैंक र ऊ एक नदीका दुई किनारा जस्ता न हुन्। जसको कहिल्यै, कहीँ पनि भेट हुँदैन। महिनामा एक चोटी भेट गराउने काम नै पेन्सनले गराएको छ। त्यसैले पेन्सन बैंक र ऊबीचको सेतु हो। बैंक जाने भनेपछि यो किन भनेर कुनै सोधिरहनुपर्ने प्रश्न हो र! स्पष्टै छ त‚’ उसले मनमनमा सम्झ्यो। तर भन्यो, ‘पेन्सन लिन’।

ऊ निस्किहाल्यो। पत्नी के भन्दै थिइन्। सदाझैं उसले अहिले पनि केही सुनेन।

घरबाट बाहिर निस्केर अलिकति अगाडि पुगेपछि उसले मास्क लगाएर आउँदै गरेको एउटा व्यक्ति देख्यो। ‘धत् कस्तो म! मास्क नलगाई निस्केँछु। मास्क नलगाइ त जानु भएन। मास्क लगाएर आउनुपर्‍यो’ भन्ने सम्झँदै ऊ घर फर्क्यो। के कामले हो, उसकी पत्नी भान्साबाट तल आएकी रहिछन्। 

त्यसरी नै त्यही वर्ष एकजना साथीसँग रसुवाको टिमुरेबाट बिहानै हिँडेर नुवाकोटको विदुर आइपुग्दा काठमाडौं आउने गाडी पाएर त्यसै दिनको राति काठमाडौं आइपुगेको सम्झ्यो। अहिले भर्‍याङ चढ्न गाह्रो भएजस्तो सम्झेर आफैं फिस्स हाँस्यो।

‘किन फेरि फर्किहाल्या त?’ उनले सोधिन्। ‘मास्क लगाउन बिर्से‌छु, मास्क लाएर जाऊँ भनेर’ उसले भन्यो।

‘मास्क त लाइरहेको देख्छु त!’ उनले भनिन्। अनि उसले मुखमा हात पुर्‍यायो। यसो छाम्यो। मास्क लगाएकै रहेछ। ऊ लजायो। आफ्नो बेहोशी सम्झेर आफैं हाँस्यो। तर‚ मास्कले मुख छोपेको भएर हाँसेको देखिएन। ऊ फनक्क फर्कियो।

‘अघि मैले भनेको त सम्झना होला नि‚’ पत्नीले भनिन्। अघि भनेको उसले सुनेकै थिएन। भन्यो, ‘के?’

‘रिचार्ज कार्ड’ उनले भनिन्। उसलाई भरे बिर्सन्छु कि जस्तो लागेर घरै अगाडि पसलमा पहिले रिचार्ज कार्ड किनिहाल्यो। यसरी नसुनेर जिल्लिनु परेको कथा त कति छ कति ऊसँग।

आमाको तिथिको दिन थियो। थुप्रो मान्छे भेला भएका थिए। श्राद्धपछि पाँच/सातजना छतमा बसेर गफ गर्दै थिए। कसैले उसलाई केही सोध्यो। उसले सुनेन र ‘हँ’ भन्यो। फेरि सोधियो। उसले सुनेन र फेरि ‘हँ’ भन्यो। फेरि सोद्धा पनि उसले आवाज त सुन्यो‚ कुरो बुझेन। तर फेरि ‘हँ’ भन्न सकेन। अनि ऊ ङिच्च हाँस्यो। उसले सुनेन भनेर अरू मुखामुख गरेर हाँसे। त्यसबेला उसलाई त्यहीँ बसिरहन अलिक अप्ठ्यारो लागेर होला उठेर अन्यत्रै गएको थियो। ऊ यही भर्खरै अगाडिको घटना सम्झेर जाँदै थियो। अलि अगाडि गएपछि हजामको पसल आयो। ऊ ५५ वर्ष अगाडि पुग्यो।

न्युरोडमा ठूलो पसल थियो हजामको। ८/१० जना हजाममा काम गर्थे त्यहाँ। ऊ त्यहीँ बंगाली कट कपाल काट्थ्यो। रेट एक रुपैयाँ थियो। उसलाई भने डेढ रुपैयाँ लिन्थे। ‘तपाईंको कपाल सुँगुरको जगरजस्तो कडा छ, फेरि बाक्लो पनि छ। त्यसैले बढी लाग्छ’ भन्थे। ‘सुँगुरको जगरजस्तो’ भन्दा पनि ऊ रिसाउँदैनथ्यो। मोतिहारीको मान्छेले कति राम्रो नेपाली बोल्यो भनेर दङ्ग पर्थ्यो। अहिले त आफ्नै टोलको पसलमा कपाल काट्छ।

‘कपाल झरेर आधा पनि बाँकी छैन। पैसा त आधा मात्र लाग्ला नि’ ऊ हजामसँग ठट्टा गर्दै भन्ने गर्थ्यो। ‘मकै गोडेजस्तो गरेर केलाएर काट्नुपर्छ हजुरको कपाल। अप्ठ्यारो छ। झन् बढी लाग्छ’ भन्दै हजाम हाँस्थ्यो। ‘कपाल बाक्लो हुँदा पनि पैसा बढी लाग्ने, नहुँदा पनि बढी लाग्ने। अचम्म।’ भन्ने सम्झँदै अगाडि बढ्दै जाँदा गणेशथानमा बालेर छोडेको सिन्के धूपको बासना नाकमा परेर छ्युँ गर्‍यो।

उसलाई नाक सधैं बन्द भएर सास फेर्नै गाह्रो हुने, अलिकति खुल्यो भने गन्ध नाकमा पस्दा छ्युँ आइहाल्ने पुरानो रोग छ। ‘यो एलर्जी जाती भए कति खुशी हुन्थें’ उसले बारम्बार भन्ने गरेको मनमनमा सम्झ्यो।

फुटपाथमा बिच्छ्याइएका दुई तीनवटा टायल उक्किएर एक ठाउँ खाल्डो परेको रहेछ। त्यसकै अलिकति अगाडि दुई इन्च जति अग्लो एउटा ठूलो स्लाब बिछ्याइएको रहेछ। अगाडि खाल्डो छ भन्ने उसको आँखाले भेउ पाएन। समतलमै टेके झैं टेक्दा एउटा खुट्टा तल टेकिँदा शरीरको सन्तुलन नमिलेर झन्डै लडेको थियो।

अर्को खुट्टा अग्लो स्ल्याबमा टेकिँदा झन् अझाटिएर तीन हात अघि अरूसँग ठोकिन पुग्यो। तर, लड्नबाट भने बच्यो। ‘महानगरको सडक, राजधानीको सडक, हैट’ उसले मनमनमा भन्न खोजेको थियो, साह्रै भनेछ। सबैले उसको मुखमा हेरे। ‘सरकारलाई र सडकलाई दोष दिऊँ भने अरू अझाटिएका छैनन्। आफ्नै आँखाले गर्दा न हो। नदेखेर बाँच्न पनि गाह्रै हुँदो रहेछ’ मनमनमा सम्झ्यो।

यत्तिकैमा बैंक आइपुगेछ। भर्‍याङ उक्लिँदै थियो। भर्‍याङ उक्लिँदा स्याँस्याँ भएको महसुस गर्दै ४२ वर्षअघि पुग्यो। एकजना साथीसँग रामेछापबाट हिँडेको दोस्रो दिन बेलुका काभ्रेपलाञ्चोको धुलिखेल आइपुगेको र भाग्यले धुलिखेलमा काठमाडौं आउने एउटा बस पाइएकाले भोलिपल्टै काठमाडौं आइपुगेको सम्झ्यो।

त्यसरी नै त्यही वर्ष एकजना साथीसँग रसुवाको टिमुरेबाट बिहानै हिँडेर नुवाकोटको विदुर आइपुग्दा काठमाडौं आउने गाडी पाएर त्यसै दिनको राति काठमाडौं आइपुगेको सम्झ्यो। अहिले भर्‍याङ चढ्न गाह्रो भएजस्तो सम्झेर आफैं फिस्स हाँस्यो।

आज के भएर हो बैंकमा भीड रहेछ। क्यास काउन्टरको डिस्प्लेमा ५४ नम्बर देखिएको थियो। उसले टोकन मेसिनको निर्धारित स्थानमा थिच्यो। ७२ नम्बरको टोकन आयो। प्रायः सबै बुढाबुढी थिए। ज्येष्ठताको प्रमाणपत्र देखाएर लाइन मिच्ने कुरा पनि भएन। सबै आफूजस्तै र अझ कोही त आफूभन्दा बुढा जस्ता थिए। सायद सबै पेन्सन लिने नै थिए।

ऊ काउन्टर अगाडिको लबीको एउटा मेचमा आफ्नो पालो पर्खेर बस्यो। तर‚ समय बिताउन अप्ठ्यारो भइरहेको थियो उसलाई। यसो हत्केला हेर्‍यो। पहिलेजस्तो मुलायम थिएन। हात फर्काएर हेर्‍यो। हत्केलाको पछाडिपट्टि नीला नसा देखिए। पहिले त्यसरी नशा देखिँदैनथ्यो। यसो त्यहीँकै छाला तान्यो। पातलो छाला मात्र तानियो। पहिले छाला तान्दा मासुसमेत तानिन्थ्यो। अहिले त शरीरमा करिबकरिब खोल हालेजस्तो भएछ छाला। 

वास्तवमा ऊ ती कर्मचारीले देख्ने गरी नै लबीमा अगाडिको मेचमा बसेको थियो। ऊ निदाएको ती कर्मचारीले पक्कै देखेको हुनुपर्छ। त्यसैले त उनले ‘हिँडेको बेलामा बाटामा चाहिँ ड्रिमल्यान्ड नजानुहोला है बा’ भन्दै चेकबापतको रकम उसलाई उपलब्ध गराइन्।

काउन्टरतिर हेर्‍यो। डिस्प्लेमा ५४ देखियो। लामै समय पर्खनुपर्ने भयो भन्ने सम्झ्यो। काउन्टरको ग्लासमा उसले आफ्नै प्रतिबिम्ब देख्यो। गाला र मुखबीचमा खोल्सोजस्तो अलिक गहिरो परेर सीमा छुट्टिएजस्तो भएछ। त्यसबेला उसले पहिले दारी काट्दा स्वारस्वार रेजर चलाउने गरेको र हाल गाला तानेर तन्काउनु परेको सम्झियो। ‘घाँटीमा पनि नशा देखिने भएछन्’ भन्यो मनमनमा।

फर्किँदा प्रेसरको औषधि र टुथपेस्ट पनि लानुपर्नेछ भन्ने सम्झ्यो। टुथपेस्ट सम्झँदा उसलाई दाँत दुखेको अनुभूति भयो। सग्ला देखिने त अगाडिका दाँत मात्र न हुन्। बंगारा त कुनै उखेलिएका कुनै आधा कुनै पूरै भाँचिएकाले पहिले पहिले जस्तो मन पराएर खाने कुरा अहिले खान नपाएको भन्ने सम्झिँदै थक्थकायो। त्यत्तिकैमा त्यहीँ मेचमा बसीबसी झकाएछ।

उसको खल्तीमा मोबाइलको घण्टी बज्यो। घण्टीको आवाजले झसंग भएर फोन उठायो। फोन घरबाट पत्नीले गरेकी रहिछन्। ‘खोइ त! कता हो? किन ढिला गरेको हो?’ पत्नीले भनिन्। ‘आज अलिक भिड रहेछ। क्युमा छु। आइहाल्छु’ भन्यो र यसो डिस्प्लेमा हेर्‍यो। ७६ पुगेछ। अनि उसले आफ्नो टोकन हेर्‍यो। त्यसमा ७२ लेखिएको थियो।

‘नपढ्दा पनि दिउँसो मेचमै निदाइएछ’ भन्ने सम्झियो र ‘मेरो छुटेछ’ भन्दै अगाडि गएर टोकन र चेक काउन्टरमा तेर्स्यायो। अघिल्लो व्यक्तिको भुक्तानी भएपछि कर्मचारीले उसको टोकन हेर्दै ‘अघि कति बोलाएँ, कहाँ जानुभएको थियो बा?’ भनिन्। उसले हाँस्दै भन्यो, ‘ड्रिमल्यान्ड’। उनी पनि मुसुक्क हाँसिन्।

वास्तवमा ऊ ती कर्मचारीले देख्ने गरी नै लबीमा अगाडिको मेचमा बसेको थियो। ऊ निदाएको ती कर्मचारीले पक्कै देखेको हुनुपर्छ। त्यसैले त उनले ‘हिँडेको बेलामा बाटामा चाहिँ ड्रिमल्यान्ड नजानुहोला है बा’ भन्दै चेकबापतको रकम उसलाई उपलब्ध गराइन्।

यति लेखिसकेपछि मैले यो शिरदेखि पुछारसम्म सबै पढें। यसमा उल्लेख भएको चरित्र मैले कताकता चिनेजस्तो लाग्यो। यो को हो भनेर मैले अनेक सम्झने कोशिश गरें। तर‚ मेरो केही सीप लागेन। बिर्सिन त माहिर नै छु म। तै सम्झन्छु कि भनेर फेरि पढें। पक्कै पनि मेरो परिचित चरित्र हो भन्ने चाहिँ भयो। तर‚ यही हो भन्न भने सकिनँ। धेरै बेरको ब्रेन स्टोर्मिङपछि मात्र पत्ता लाग्यो, त्यो ऊ त म आफैँ पो रहेछु।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.