|

बैतडी : भारतका विभिन्न ठाउँबाट फर्किएका बैतडीका आठजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ३९ जनाको झुलाघाट नाकामा एन्टिजेन विधिबाट परीक्षण गर्दा आठजनामा कोरोना पुष्टि भएको हो। 

संक्रमण पुष्टि भएका आठजनामध्ये सातजना दशरथचन्द नगरपालिकाका र एकजना दोगडाकेदारका रहेका हुन्। संक्रमित सबै होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा गत माघ २५ गतेदेखि भारतसँग जोडिएको बैतडीको सीमा नाका झुलाघाटमा हेल्थ डेस्क सञ्चालनमा छ। नाका खुला भएसँगै सीमा क्षेत्रबाट आवतजावत गर्ने नागरिकको स्वास्थ्य परीक्षण गर्न डेस्क सञ्चालन गरिएको हो। 

सदरमुकाममा आइसोलेसन सेन्टर बनाइने

भारतबाट फर्केका नेपाली नागरिकमा कोरोना संक्रमण देखिन थालेपछि बैतडीको सदरमुकाममा आइसोलेसन सेन्टर बनाइने भएको छ। जिल्ला सदरमुकाम रहेको दशरथचन्द नगरपालिकाले कोरोना संक्रमितहरुको व्यवस्थापनका लागि आइसोलेसन सेन्टर बनाउने भएको हो।

जिल्ला कोभीड संकट व्यवस्थापन केन्द्रले वीरेन्द्र मावि शाहीलेकको खाली रहेको छात्रावास भवनमा आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए।

भारतसंग सीमा जाडिएको झुलाघाट नाका हुँदै स्वदेश फर्केका नागरिकमा कोरोनाको संक्रमण देखिन थालेकाले उनीहरुको व्यवस्थापनका लागि आइसोलेसन सेन्टर सञ्चालनमा ल्याउने निर्णय भएको हो ।

यस्तै झुलाघाट नाकाबाट भित्रिएका नागरिक मध्ये कसैमा कोरोना देखिएमा जिल्लाको हकमा सम्बन्धित पालिकामा पठाउने निर्णय भएको छ भने बाहिरी जिल्लाका भए दशरथचन्द नगरपालिकाले नै व्यवस्थापन गर्ने निर्णय भएको छ ।

कोरोना भाईरस संक्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन पनि स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । साबुनपानीले हात धुने, मास्कको प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने लगायतका कुराहरुमा ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।

यस्तै सरकारले कोरोना संक्रमणबाट बच्नको लागि २५ जनाभन्दा भिडभाड हुने खालका क्रियाकलाप नगर्न अनुरोध समेत गरेको छ ।  भारतमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसंगै सीमानाकामा समेत उच्च सतर्कता अपनाइएको छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.