तर भोक मेट्ने गरी खाजा खुवाउन समस्या

|

पर्वत : कुस्मा नगरपालिका–२ खुर्कोटमा रहेको कालिका माध्यमिक विद्यालयमा रहेको बाल विकास केन्द्रमा केही समय पहिलेसम्म करिब १५ जना बालबालिकाहरू आउथें। तर करिब २ महिनायता विद्यार्थीको सङ्ख्या २३ पुगेको छ।

प्रायः घरमै बस्ने तर विद्यालय आउन नमान्ने ससाना विद्यार्थीलाई विद्यालयमा नै वितरण गरिने खाजाले लोभ्याएको छ। नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आर्थिक सहयोगमा प्राथमिक तह ९१–५० मा अध्ययनरत विद्यार्थीलाई दैनिक १५ रुपैयाँका दरले देशैभरका विद्यार्थीहरूलाई दिने व्यवस्था गरेपछि पर्वतका विद्यालयले विद्यालयमा मेस चलाएर खाजा बनाउने अनि कक्षामा नै खुवाउने गर्न थालेका छन्। जसका कारण प्राथमिक तहमा विद्यार्थीको आकर्षण बढेको हो। यसले विद्यार्थीको टिकाउदरसमेत बढ्ने देखाएको छ।

कालिका माविका शिक्षक सन्तोष पौडेलका अनुसार पहिले भर्ना भएका विद्यार्थीसमेत विद्यालयमा नियमित नहुने समस्या थियो। विद्यालयमा खाजा खुवाउने कार्यक्रम सुरु भएपछि भर्ना नभएका विद्यार्थीसमेत कक्षामा आउन थालेका छन्।

‘मामाघर बस्ने गरेका बाबु नानीहरू पनि विद्यालयमा आउन थालेका छन्। उमेर पुगेकैहरु समेत आउन नमान्ने समस्याका बीच उमेरै नपुग्दै समेत बालबालिकाहरू आएका छन्,’ उनले भने, ‘समय तालिका अनुसार फरक बारमा फरक खाजा खुवाउने गरिएको छ। विद्यालयमा पकाउने भएकाले स्वस्थ छ।’ तर सरकारले दिएको प्रतिदिन १५ रुपैयाँका दरमा उनीहरूको भोक मेट्ने गरी र परिकार फेरेर खुवाउन समस्या हुने उनको भनाइ छ। 

कुस्मा नगरपालिका–१४ आर्थरमा रहेको शुभकल्याण आधारभूत विद्यालयका प्रधानाध्यापक सुरेन्द्र शर्मा गौतमले स्थानीय र अर्ग्यानिक वस्तु महँगो पर्दा सरकारले दिएको रकमबाट बालबालिकाहरू सन्तुष्ट हुन नसकेकाले यस कार्यक्रमलाई थप प्रभावकारी बनाउन बजेट पनि बढाउनुपर्ने बताउँछन्। उनले आफ्नो विद्यालयमा पनि पहिलेको तुलनामा विद्यार्थीहरू नियमित हुन थालेका तथा बाल विकास केन्द्रमा आउनेको सङ्ख्यासमेत बढेको जानकारी दिए।

जिल्लाका विभिन्न स्थानीय तहका अनुसार जिल्लाका कुल दुई सय ८८ वटा विद्यालयमा नै यो कार्यक्रम चलिरहेको छ। बालबालिकाले विद्यालयमै खाजा खान पाएपछि उनीहरू विद्यालयमा आकर्षित हुनुका साथै पढाइमा समेत सुधार हुने भनी विद्यालयबाट प्रतिक्रिया आएको कुस्मा नगरपालिकाअन्तर्गत नगर शिक्षा शाखाका अधिकृत राजेन्द्रबहादुर क्षत्रीले बताए। 

‘खाजा खुवाउन सुरु गरिएपछि हामीले विभिन्न विद्यालयहरूको प्रतिक्रियाहरू लिइरहेका छौँ। उहाँहरूको गुनासो अलिकति रकम कम भयो भन्ने त छ नै। तर जति त्यसलाई नै व्यवस्थापन गर्दा विद्यार्थी खुसी भएका र विद्यालयमा आएको तथा अध्ययनमा समेत सुधार भएको बताउनुभएको छ,’ उनले भने, ‘बजारका जंक फुड खाने बानीलाई विस्थापित गर्न समेत यो उपयोगी बनेको छ। तर  १५ रुपैयाँमा के नै पो खाजा आउने अवस्था छ र? गाउँमा तरकारी फलाउनै महँगो पर्छ। बजारको कुरा खुवाउनु उपयुक्त छैन।’

सदरमुकाम र सुगम ठाउँमा रहेका कतिपय विद्यार्थीले घरबाट खाजा बोकेर लैजाने र मध्याह्नमा खाने गरेका भए पनि कतिपय ग्रामीण क्षेत्रमा अझै पनि मध्याह्न समयमा खाजा खानकै लागि घरमा जाने चलन छ।

यसका कारण विद्यार्थीहरू पटक पटक घर आउजाउ गर्नुपर्ने तथा घरमा जाँदा खाजा तयार नभएको भए विद्यालय फर्किनै ढिलो हुने गरेको थियो। दूरी टाढा भएका कतिपय विद्यार्थी त दिनभर भोकै विद्यालयमै रहनुपर्ने अवस्था थियो। तर अब विद्यालयमा खाजा बन्ने भएपछि त्यो दौडधुप नहुँदा सजिलो भएको महाशिला गाउँपालिका–५ लुंखुमा रहेको महेन्द्र ज्योति माध्यमिक विद्यालयको कक्षा पाँचमा अध्ययनरत छात्रा निशा अधिकारीले बताइन्।

कुस्मा नगरपालिकाको शिक्षा शाखाका प्रमुख विष्णुप्रसाद तिवारीका अनुसार विद्यार्थी विद्यालयमा हाजिर भएको दिनको तथ्यांक विद्यालयले राखेर नगरपालिकामा पेस गरेपछि एक जना विद्यार्थीले एक वर्षमा बढीमा एक सय ८० दिनसम्म खाजा खाएबापत रकम विद्यालयलाई निकासा दिइने छ।

कुस्मा नगरपालिकामा मात्रै उक्त कार्यक्रमको लागि करिब ८० लाख रुपैयाँ बजेट आएको भए पनि लकडाउनको बेलामा विद्यालयमा बन्द रहँदा विद्यार्थी घरमै रहेकोले सबै रकम खर्च नहुने अवस्था रहेको उनको भनाइ छ। 

‘हाम्रो नगरपालिकामा करिब ८० लाख रुपैयाँ बजेट आएको थियो। तर लकडाउनको अबेलामा विद्यालयहरू खुलेनन्, विद्यालय नै नगएपछि खाजाबापत पैसा पाउँदैनन्। केही रकम रकमान्तर गरेर अन्यत्रै प्रयोग हुने अवस्था छ,’ उनले भने, ‘हाम्रो नगरपालिकामा फाटफुट रूपमा खुलेको विद्यालयले मङ्सिरबाट र अधिकांश विद्यालयले माघ २० गतेबाट खाजा खुवाउन थाल्नुभएको छ। सबैको गुनासो भने पैसा कम भयो, १५ रुपैयाँमा के आउँछ र? भन्ने नै छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.