|

डडेल्धुरा : भारतका विभिन्न शहरमा भइरहेको इन्डिइन प्रिमिएर लिग (आइपिएल) का लागि हर्कबहादुर कैनी (हरि) हाल चेन्नईमा छन्।

सुदूरपश्चिमको डडेल्धुरा जन्मेका हरिले टेलिभिजनमा हेर्ने खेललाई आकर्षक बनाएर देखाउँछन्। हरेक रोमाञ्चक दृश्यलाई दर्शकसामु पुर्‍याउने प्राविधिक टोलीमा उनी कार्यरत छन्। उनी एक ‘भिजन इन्जिनियर’ हुन्।

उनले कन्ट्रोल रुममा बसेर क्यामेरा कन्ट्रोल गर्नुका साथै क्यामेराको रंग म्याचिङको काम गर्छन्। यस वर्षको आइपिएलमा उनी त्यही काम गर्दै छन्।

उनले भारतका विभिन्न शहरबाट आइपिएलको प्रत्यक्ष प्रसारण गरिरहेका छन्। आइपिएल २०२१ को उद्घाटन म्याचमा बैंग्लोर र मुम्बई खेले। उक्त खेलको हरिले प्रत्यक्ष प्रसारण गरेका थिए।

त्यसो त उनले यसरी काम गरेको पहिलो पटक हैन। उनीसँग विगतमा विश्वकप क्रिकेट, आइपिएल, विश्वकप कवड्डि, बहुचर्चित आइफा एवार्डलगायतका विभिन्न इभेन्टस्को प्रत्यक्ष प्रसारण गरेको अनुभव छ।

त्यही अनुभवका कारण यसपटक पनि डडेल्धुराबाट उनलाई भारत बोलाइएको थियो। आइपिएलका लागि भनेर मार्च ३१ मा डडेल्धुराबाट दिल्ली हुँदै चेन्नई पुगेका थिए। त्यहाँ पुगेर उनी ताज होटेलमा ६ दिन क्वारेन्टाइन बसे। उनले त्यसपछि ९ अप्रिलदेखि आइपिएलको काम सुरु गरे।

डडेल्धुराको अमरगढी नगरपालिका–७ मा २०३३ सालमा जन्मेका उनले स्थानीय उग्रतारा माविबाट २०५२ सालमा एसएलसी उत्तीर्ण गरेका थिए। त्यसपछि २०५६ मा उनी भारतको मुम्बईतर्फ हानि। 

मध्यमवर्गीय परिवारमा जन्मिएका हरिको उच्च शिक्षा अध्ययनपश्चात विवाह गर्ने योजना भए पनि बुवाले २०५३ मंसिर १० गते विवाह गरिदिएका थिए। अभावै अभावमा बाँचेका उनी विवाह गर्दा लागेको ऋण तिर्न सपनाको सहर मुम्बइतिर गएका थिए। ‘बुवाले रहर गरेर मेरो विवाह गरिदिए तर त्यही महिना बुवाको अचानक निधन भयो’, भन्छन्, ‘अनि घरमा लागेको ऋण तिर्न भारत गएको थिएँ।’

मुम्बई अर्थात् सपनाको शहरमा उनले सोचेजस्तो सहज थिएन काम पाउन। तर कामलाई सम्मान गर्ने हरिले मुम्बइको एक निजी कार्यालयमा काम पाए। काम थियो चिया पकाउने र क्याबिनसम्म पुर्‍याउने। ‘पकाएको भाडा र गिलासहरू सफा पनि गर्थें’, उनी विगत सम्झँदै भन्छन्। 

त्यसपछि उनले ससाना सुटिङ गर्ने कम्पनीसँग जोडिने अवसर पाए। अनि चिया पकाउने काम छोडेर नयाँ कामतिर लागे। तर बिनातलब काम सिक्न पाउने सर्तमा। ‘त्यतिबेला जब ५ महिनासम्म राम्रो काम सिकेँ त्यसपछि बल्ल कम्पनीको तलब सुरु भयो’, उनले भने, ‘कामचाहिँ प्राविधिक रुपमा सहयोग गर्नुपर्ने, इक्युपमेन्टहरु मिलाउने।’ सोही समयअवधिमा अडियो–भिडियोको दुई वर्षीय अफलाइन कोर्ष पनि उनले उत्तीर्ण गर्न भ्याए। 

त्यसपछि सुरु भयो उनका राम्रा दिन। सन् २००३ पछि भारतभित्र मात्र हैन, विदेश जाने अवसर समेत हरिले त्यतिबेलादेखि नै पाए। भन्छन्, ‘विभिन्न इभेन्टलाई प्रत्यक्ष प्रसारण गर्ने क्रममा इंग्ल्याण्ड, मलेसिया, सिंगापुर, मकाउ, श्रीलंका, बंगलादेश, दुबई, साउथ अफ्रिका, वेस्ट इण्डिज, क्यानडाजस्ता थुप्रै देश पुगिसकेको छु।’ उनी सन् २०१८, २०१९ र २०२० को आइपिएलको प्रत्यक्ष प्रसारणको टोलीमा सदस्य थिए।

अहिले विश्वभरका करोडौं क्रिकेटप्रेमी आइपिएल हेरिरहेका छन्। खेल खेल्ने खेलाडीलाई त सबैले चिन्छन् तर त्यही खेल टेलिभिजनको पर्दासम्म पुर्‍याउने टिममा सुदूरका हरिसँग धेरै कम परिचित छन्।

नेप ब्रोडकाष्ट सिंगापुर नामक कम्पनीमा रहेर काम गरिरहेका उनी आफ्नो कामबाट सन्तुष्ट भएको बताउँछन्। तर, सधैंजसो इभेन्टस् नहुने हुँदा खालीसमेत बस्नुपर्ने उनले बताए। आइपिएल सकिएलगत्तै फेरि डडेल्धुरा फर्किने उनको योजना छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.