क्रियाशील सदस्यता छानबिन र समायोजनबारे छलफल

|

काठमाडाैं : सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल अनुपस्थित भएको नेपाली कांग्रेसको आज (आइतबार) बसेको पदाधिकारी बैठकले भोलि बस्ने केन्द्रीय समिति बैठकका एजेण्डा तय गरेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी सहितको बैठकले भोलिको केन्द्रीय समितिका लागि एजेण्डा तय गरेको हो।

आजको बैठकमा पार्टीको आगामी महाधिवेशनका विषयमा छलफल गर्दै भोलिका लागि एजेण्डा तय गरेको कांग्रेस सहमहामन्त्री प्रकाश शरण महतले थाहासञ्चार नेटवर्कलाई जानकारी दिए।

आजको बैठकमा क्रियाशील सदस्यता छानबिन र समायोजनबारे भएको कार्य प्रगतिबारे सम्बन्धित समितिसँग छलफल गरेको हो। कांग्रेसले क्रियाशील सदस्यता छानबिनका लागि केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा केन्द्रीय क्रियाशील सदस्यता छानबिन समिति गठन गरेको छ।

यस्तै तत्कालीन नेपाल लोकतान्त्रिक फोरमलगायत अन्य राजनीतिक दलको सांगठनिक संरचना समायोजनका लागि उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा समायोजन समिति गठन गरेको थियो।

यस विषयमा भएका समस्यासहित प्रगतिका विषयमा छलफल भएको नेता प्रदीप पौडेलले बताए। 'सांगठनिक संरचना समायोजनमा भएका समस्याबारे पनि छलफल भएको र त्यसको कसरी निदान गर्ने भन्ने विषयमा छलफल केन्द्रित भएको थियो,' नेता पौडेलले भने। सदस्यता छानबिन समिति र समायोजन समितिका विषयमा पदाधिकारी र पूर्वपदाधिकारीको छलफल हो,' उनले भने, 'आजको बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल भने उपस्थित  हुनुहुन्थेन।' नेता पौडेलका अनुसार आजको बैठक महामन्त्रीले बोलाएका र सभापति र वरिष्ठ नेताको अनुपस्थितिले खासै फरक नपर्ने उल्लेख गरे।

सभापति देउवा र वरिष्ठ नेता पौडेल नआउनुमा त्यस्तो रहस्य नभएको र नआए पनि हुने यो बैठक भएको उनले प्रतिक्रिया दिए। 'उहाँहरू आउनुभएन, आजको बैठक महामन्त्रीले बोलाउनुभएको हो। सभापति र वरिष्ठ नेता उपस्थित हुनुपर्ने त्यस्तो केही होइन,' नेता पौडेलले थाहाखबरसँग भने।

बैठकमा उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छेदार, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत र कोषाध्यक्ष सीतादेवी यादवको उपस्थिति थियो।

यस्तै पूर्वमहामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री अर्जुनरसिंह केसी, केन्द्रीय सदस्यहरू एनपी साउद, डा. मिनेन्द्र रिजालल गायत नेता सहभागी थिए। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक भोलि बस्दै छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.