|

काठमाडाैं : भौतिक पुर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले निर्माण व्यवसायीहरुले गुणस्तरीय काम गरे नगरेको सम्बन्धमा निर्माण व्यवसायी आफैंले समीक्षा गर्नुपर्ने बताउनुभएको छ। 

आइतबार नेपाल निर्माण व्यवसायी महासंघको २२ औँ साधारण सभा समुदघाटन समारोहमा बोल्दै मन्त्री नेम्बाङले निर्माण व्यवसायीले आफ्नो दायित्व र कर्तव्यहरू निर्वाह गरे नगरेको सम्बन्धमा समिक्षा आवश्यक रहेको बताए।

गुणस्तरीय काम र काममा आउने गरेको समस्या समाधानमा व्यवसायीहरुले कत्तिको समन्वयात्मक ढंगले समाधान गर्ने परिपाटी छ त्यसको सम्बन्धमा व्यवसायीहरु आफैले आफैलाई प्रश्न गर्नुपर्ने उनको भनाइ छ।

‘हामीले यति गर्दागर्दै पनि हाम्रो दायित्व कर्तव्य कति निर्वाह गरेका छौँ? चाहे त्यो कार्यान्वयन गर्ने कर्मचारीको क्षेत्रमा होस्। चाहे समयमै समन्वय कायम गरेर नीतिगत उचित व्यवस्थापन गरेर छिटो छरितो गर्ने अवस्था होस्, सहजीकरण गरेर सरल निर्माणलाई अगाडी बढाउने सन्दर्भमा होस्। चाहे त्यसका गुणस्तर र क्वालिटीका कुरा हुन। चाहे क्षमता अभिवृद्धिका कुरा हुन्। हामी कहाँ छौँ? आफूले आफूलाई प्रश्न गर्न म अनुरोध गर्दछु साथीहरुलाई। हामी कत्तिको गुणस्तरयुक्त निर्माण काम गर्दैछौ? हामीसँग आएको व्यवधानलाई कत्तिको समन्वयात्मक ढंगले समाधान गर्ने परिपाटीमा बढ्दैछौँ?,’ मन्त्री नेम्बाङले भने। 

मन्त्री नेम्बाङले संसद पुर्नस्थापना भए पनि राजनीतिक समस्या समाधान नभएको टिप्पणी समेत गरे।  राजनीति अस्थिर भएको भन्दै उनले अस्थिरताले समृद्धि र विकास निर्माणलाई अवरोध गर्ने र मुलुक पछाडी फर्किने उनले बताए। सरकारले आस्थिरतालाई अन्त्य गरेर स्थिर संसद चाहेको तथा व्यवसायीको निर्माण क्षमता अभिवृद्धिलाई बढाउने वातावरण चाहेको उनको भनाइ थियो। 

मन्त्री नेम्बाङले देशको समृद्धिका लागि सरकारले मात्रै भौतिक पूर्वाधार निर्माणको काम अघि बढाएर सम्भव नहुने भन्दै त्यसको कार्यान्वयनको निम्ति निर्माण व्यवसायीहरुको भूमिका महत्वपूर्ण हुने भएकाले भूमिका खेल्न आग्रह पनि गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.