|

काठमाडाैं : ने​पाली खेलकुद क्षेत्रमा केही समययता नियमित प्रतियोगिताहरू भइरहेका छन्।

नेपाल क्रिकेट संघले पनि लामो समयपछि आफ्नो उपस्थिति देखाउँदै लगेको छ, जबकि लामो समयसम्म संघले क्रिकेट क्षेत्रलाई शून्यप्रायः: बनाएको थियो। 

यसबीचमा पुरुषतर्फ मात्र होइन, महिला क्रिकेटको विकास र व्यावसायिकताका लागि सहयोगी हुने भन्दै प्रतियोगिताहरू आयोजना भए।

नेपाली महिला क्रिकेटमा कायम छोटो फरम्याट व्यावसायिक बनाउनुपर्ने मत बलियो हुँदै गएको छ। तर, क्यानले आयोजना गरेका प्रतियोगितामा महिला क्रिकेटका समस्या धेरै भएकाले पनि चुनौती थपिएको छ। 

महिला क्रिकेटमा यसै वर्षमात्र दुईवटा टी–२० क्रिकेट प्रतियोगिता भए। पुसतिर दाङमा प्रधानमन्त्री कप महिला क्रिकेट आयोजना हुँदा शनिबार ललितपुरमा मेयर महिला टी–२० क्रिकेट सम्पन्न भयो। तर यी दुवै प्रतियोगिताले एउटै सन्देश दिएका छन्‌ - नेपालमा महिला क्रिकेटमाथि लगानी गर्न अझै पनि चुनौतीपूर्ण छ।

पुरुषतर्फ सामान्य व्यवस्थापनका साथ आयोजना हुनेगरेका टी-२० क्रिकेटको समेत निकै चर्चा हुन्छ। तर, महिला क्रिकेटमा भने माहोल शून्यजस्तै देखिने गरेको छ।

शून्यजस्तै रहने दर्शक उपस्थितिबीच अब व्यावसायिक महिला लिग क्रिकेट आवश्यक रहेको देखिएको छ। अर्कातर्फ, यो छोटो फरम्याटमा महिला क्रिकेट अघि बढाउने आँट कस्ले गर्ला भन्ने प्रश्न उब्जिएको छ।

पुरुषतर्फ कोरोना कहर अघिसम्म एकपछि अर्को छोटो फरम्याटका फ्रेन्चाइज प्रतियोगिताहरू आयोजना हुँदा खेलाडीका लागि एक्सपोज र आर्थिक रूपमा समेत बलियो बनाउन क्यानलाई धेरै टाउको दुखाउनु पर्दैनथ्यो। अहिले पनि पुरुष फ्रेन्चाइज क्रिकेट प्रतियोगिता दिनदिनै परिष्कृत हुँदा महिला फ्रेन्चाइजको अवधारणा भने आएको छैन।

यद्यपी; अहिले राज्यस्तरबाट भएका प्रतियोगिताले विस्तारै महिला क्रिकेटका लागि व्यावसायिक प्लेटफर्म निर्माण हुनेमा विश्वस्त छिन् नेपाली महिला टिमकी कप्तान रुबिना क्षत्री।

छोटो फरम्याटमा व्यावसायिकता जति जरुरी छ, त्यति नै एक्सपोज लामो प्रतियोगिताहरूको पनि आवश्यक रहेको उनको बुझाइ छ। टी–२० सँगै अब एकदिवसीय खेलका लागि पनि महिला खेलाडी तयार गर्न जरुरी छ। प्रतियोगिता भएमात्रै त्यस्ता खेलाडी पहिचान हुने रुबिनामा विश्वास देखिन्छ।

लामो समय खेलाडीलाई क्रिजमा टिकेर खेल्नसके मात्रै अन्तराष्ट्रिय क्रिकेटमा नेपाली महिला टिमले पनि प्रतिष्पर्धा गर्न सक्ने संभावना रहन्छ। त्यसैले, महिला खेलाडीको व्यावसायिकताका लागि फ्रेन्चाइज टी–२० लिग तथा अन्तराष्ट्रिय स्तरमा अब्बल बनाउन एकदिवसीय प्रतियोगिताको एक्सपोज अपरिहार्य बन्दै गएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.