|

काठमाडाैं : अनशनरत गंगामाया अधिकारीका छोरा कृष्णप्रसादका हत्याका अभियुक्तहरूलाई पाटन उच्च अदालत हेटौंडा इजलासले सफाइ दिएको छ।

न्यायाधीशहरू चण्डिराज ढकाल र मेरिना श्रेष्ठको इजलासले चितवन जिल्ला अदालतको फैसला सदर गर्ने निर्णय गरेको हेटौंडा इजलासका उपरजिष्ट्रार कैलाश भट्टराईले जानकारी दिए।

यसअघि चितवन अदालतले १२ जना अभियुक्तलाई सफाइ दिएको थियो। आज सुरुमा उच्च सरकारी वकिल कार्यालय हेटौंडाका प्रमुख सहन्यायाधिवक्ता सन्देश श्रेष्ठसहित तीन जना सरकारी वकिलले अभियुक्तहरूलाई कृष्णप्रसादको हत्या अभियोगमा कारबाही हुनुपर्ने माग गर्दै बहस गरेका थिए। 

उनीहरूको बहस सकिएपछि जाहेरीवालाका तर्फबाट अधिवक्ता पुष्पराज पौडेल र महामुनिश्वर आचार्यले बहस गरेका थिए। त्यसपछि प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू मुक्ति प्रधान, रमण श्रेष्ठ, चण्डेश्वर श्रेष्ठ, दिनमणि पोखरेललगायतले बहस गरे।

२०६१ साल जेठ २४ गते चितवनको बकुलहरमा गंगामायाका कान्छा छोरा कृष्णप्रसादलाई गोली हानेर हत्या गरिएको थियो। सुराकी गरेको आरोप लगाउँदै तत्कालीन माओवादी कार्यकर्ताले १७ वर्षीय कृष्णप्रसादको हत्या गरेका थिए।

हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै गंगामाया र उनका पति नन्दप्रसादले प्रहरी कार्यालयका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकार संगठनहरूमा उजुरी दिए पनि कुनै कारबाही नभएपछि २०७० साउन २८ देखि आमरण अनशन थालेका थिए।

२०७०  चैत ३० मा छविलाल पौडेलसहित भीष्मराज पौडेल, रामप्रसाद अधिकारी, परशुराम पौडेल, कालीप्रसाद अधिकारी, हिमलाल अधिकारी, सीता अधिकारी, रामप्रसाद अधिकारी, मेघनाथ पौडेल, जानुका पौडेल, सुभद्रा तिवारी, विष्णु तिवारी र रुद्र आचार्यमाथि मुद्दा चलाइएको थियो।

चितवन जिल्ला अदालतले फरार रहेका रुद्र आचार्यबाहेक सबै प्रतिवादीलाई २०७५ साल भदौ २४  मा सफाइ दिएको थियो। त्यसविरुद्ध २०७६  भदौ १८ मा पाटन उच्च अदालतको हेटौंडा इजलासमा पुनरावेदन गरिएको थियो।

फरार आचार्य हाल नर्दन आयरल्याण्डमा बस्दै आएका छन्। छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाही माग राखेर गंगामाया अधिकारी १२ औं अनशनमा बसिरहेका छिन्। उनी १११ दिनदेखि अनशनमा छन्।

२०७१ असोज ६ मा आमरण अनशनको ३३४ औं दिनमा गंगामायाका पति नन्दप्रसादको निधन भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.