|

बैतडी : यो वर्ष बैतडीका १५ भन्दा बढी सामुदायिक वनमा डढेलो लागेको छ।

लगातार खडेरी परेर सुख्खा भएका वनजङ्‌गलमा डढेलो लागेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ।

जिल्लाका १५ बढी सामुदायिक वनको १ सय ५५ हेक्टर वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले बताए। जिल्लाको कुल क्षेत्रफलको ६२ प्रतिशत वन क्षेत्र रहेको छ। 

यहाँका अधिकांश वनजङ्‌गलहरूमा आगलागी भएको दोगडाकेदार गाउँपालिका-३ का गणेश विष्टले बताए। आगलागीका कारण काँचो रुखहरू समेत जलेर नष्ट भएका छन्। अन्य ठाउँको भन्दा बढी सल्लेरी वनहरूमा आगलागी भएको उनले बताए। 

सामुदायिक वनहरूमा आगलागी हुँदा स–साना बोटबिरुवा जलेर खरानी भएका स्थानीयबासीले बताएका छन्। वनमा भएको आगलागीका कारण वातावरण समेत प्रदूषण भइरहेको छ।

वनजङ्‌गलमा लागेको आगोले वर्षौंसम्म समस्या निम्त्याउने डिभिजन वन कार्यालयका प्रमुख पराजुलीको भनाई छ। खडेरीका कारण वनजङ्‌गलमा रुखहरू आफैँ सुकिरहेका बेला आगलागीका कारण झन् समस्या भएको उनले बताए।

आगो लगाउँदा पालुवा राम्रो पलाउँछ र घाँस राम्रो हुन्छ भन्ने गलत सोचका कारण वनजङ्‌गलमा डढेलो लगाउने क्रम बढ्दै गएको छ। वनजङ्‌गलमा लागेको डढेलोका कारण पानीका मुहानहरू समेत सुक्दै गएका स्थानीयहरूले बताएका छन्। 

डढेलोबाट थप समस्या निम्तने भएकोले सावधानी अपनाउन वन कार्यालयको आग्रह रहेको छ।

खडेरीले रुखबिरुवा सुक्दै

निरन्तर खडेरी पर्दा बैतडीका विभिन्न स्थानमा रुखहरू सुक्न थालेका छन्। पालुवा लाग्ने बेलामै ठूल्ठूला रुखहरू सुक्न थालेका हुन्‌। 

सुर्नया गाउँपालिका-४ को रौलेश्वर केदार सामुदायिक वन, रानीपातल सामुदायिक वन, बजलाडी सामुदायिक वन, ठूलापातल सामुदायिक वन, चोरपातल र सौलेभाडी सामुदायिक वनमा रुखहरू सुक्न थालेका हुन्। सामुदायिक वनमा दैनिक रुखहरू सुक्न थालेका सुर्नया गाउँपालिका ४ का रामबहादुर महराले बताए।

स्थानीयहरूले उपभोग गर्दै आएको सामुदायिक वनमा रुखहरू सुक्न थालेपछि स्थानीयहरू चिन्तित बनेका छन्। रुखहरू सुक्नुको कारणबारे सरोकारवाला निकायहरूले ध्यान दिनुपर्ने महराले बताए।

विभिन्न कारणले गर्दा रुखहरू सुकेको हुनसक्ने बताइएको छ। डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले लामो समयको खडेरी, रोग-कीराको प्रकोप र रुखहरू बुढो भएका कारणले रुख सुकेको बताए।

उनले भने, ‘सामान्यतया लामो खडेरी, रोग-कीराको प्रकोप पनि रुख सुक्छन्, तर रुख के कारणले सुकेको हो भन्ने एकीन गर्न विशेषज्ञहरूले अध्ययन गरेपछि मात्रै थाहा हुन्छ।’

रुखहरू सुक्दै जान थालेपछि पानी मुहान पनि सुक्दै गएका छन्। जिल्लाका अधिकांश ठाउँमा खानेपानीको हाहाकार हुन थालेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.