|

काठमाडौं :  वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओली पुनर्निर्माण गरिएको धरहराको उद्घाटन गर्ने भएका छन्।

नेपाल पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरका अनुसार धरहराको टावर बनाउने काम अन्तिम चरणमा पुगेको छ। अहिले रंग लगाउने र बत्ती जोड्ने काम भइरहेको छ । गजुर पनि केही दिनभित्रै राखिने उनले जानकारी दिए।

‘२०७२ वैशाख १२ को भूकम्पले ढलेको धरहरा हामी २०७८ वैशाख ११ गते फेरि उद्घाटन गर्दैछौं’ उनले भने, ‘शोकको दिन कार्यक्रम गर्नु उचित नहुने भएकाले वैशाख ११ लाई उद्घाटनको दिन तोकेका हौं।’

उनका अनुसार धरहराको पार्किङ र बगैँचातर्फको काम भने सकिएको छैन। वरपरको २९ रोपनीमा विस्तारित रुपमा सुन्धारालाई समेटेर पार्क बनाउने सरकारी योजना अनुसार ३ अर्ब ८ करोड लागतमा रमण कन्स्ट्रक्सनले ठेक्का पाएको छ।

गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा खाली गरेर त्यहाँ पार्क बनाउन लागिएको हो । धरहरा परिसरमा म्युजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैंचा, रेष्टुराँ, पार्किङलगायतका सुविधा हुनेछन्।

पार्कतर्फ काम नसकिएपछि भूकम्पले क्षतिग्रस्त सम्पदा उठ्नु गौरवको विषय भएकाले वैशाख १२ गते अघि नै उद्घाटन गर्न लागिएको इन्जिनियर मानन्धरले बताए।

१९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो। भुइँचालोले दुई तला भत्किएपछि ९ तलामा सीमित भएको थियो । प्राधिकरणका अनुसार धरहरामा दुई तला अन्डरग्राउन्ड बेसमेन्ट छ।

धरहराको टावरमा चढ्ने र ओर्लिने दुईतर्फी लिफ्ट हुनेछ। अहिले भग्नावशेष रहेको असली धरहराको भागलाई सिसाले ढाकेर संरक्षण गरेर राख्ने योजना छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.