|

यतिखेर हिमालय पर्वत क्षेत्रमा पर्ने नेपाल र भारतका वन जंगलमा जताततै डढेलो लागिरहेको छ।

अफगानिस्तानदेखि म्यानमारसम्म फैलिएको हिन्दकुश–काराकोरम हिमालय क्षेत्रका उर्वर पहाडका जंगलमा लागेको आगोले जटिल पर्यावरणीय जोखिम निम्त्याउँदो छ।

उत्तर भारतका जंगलमा यतिखेर १५ वर्ष यताकै भीषण डढेलो लागिरहेको छ।

नैनीतालभन्दा पछाडि देखिने गरेका सबै हरिया पहाडहरू डढेलो लाग्दा निस्किएको धुवाँको डरलाग्दो मुस्लोभित्र छोपिएका छन्। यतिखेर नैनीतालको सुन्दरता पहिलेजस्तो छँदैछैन। 

यो क्षेत्रका जंगलबारे विशेषज्ञता हासिल गरेका प्राध्यापक शेखर पाठक भन्छन्, 'म यतिखेर तालको जुन क्षेत्रतर्फ छु, त्यहाँ तपाईं आइपुग्नुभयो भने धुवाँको गन्ध सुँघ्न सक्नुहुन्छ, बढी ज्वलनशील देवदारका रुखमात्रै होइन, ओक (कटुसको एक प्रजाति) को रुख पनि जलिरहेका छन्, यसबाट थाहा लाग्छ कि स्थिति निकै गम्भीर बनिसकेको छ।'

जंगलमा लागेको आगोबाट बढी प्रभावित इलाकामा बसिरहेका मानिसहरूले आफूहरू रातभर सुत्न नपाएको बताएका बीबीसी हिन्दीमा उल्लेख छ। 

पिथौरागढ जिल्लाको बन्ना गाउँका स्थानीय केदार अवनीले भनेका छन्, 'हामी मध्यरातसम्म जागै बसिरहेका छौं, वरपरका जंगलमा लागेको आगो हाम्रो घरसम्म आइपुग्छ कि भन्ने त्रासमा हुन्छौं। आगोले भेट्ने डरले घरमा जनावरका लागि राखिएका घाँस र आहारा पनि जलाइदिएका छौं। आगोको ज्वाला यति तातो छ कि २० मिटर पर बस्दा पनि शरीरमा जलन हुन थाल्छ। हामीसँग आगो निभाउने कुनै आधुनिक तरिका छैन।' 

डढेलोले तोडेको रेकर्ड

वैज्ञानिकहरूले उत्तर भारत र नेपालका विभिन्न जंगलमा लागेको आगो पछिल्लो १५ वर्षयताकै भीषण भएको बताएका छन्।

यूरोपीय संघको कोपर्निकस एट्मस्फेरिक मोनिटरिङ सर्भिस (सीएएमएस) का अनुसार पछिल्लाे एक महिनायता जंगलमा डढेलो लाग्दा ०.२ मेगाटन कार्बन उत्सर्जन भइसकेको छ। यो परिमाणले पनि सन् २००३ यताकै परिमाणलाई माथ गरिसकेको छ। 

अन्तरिक्षबाट लिइएका तस्बीरहरू हेर्दा यो वर्ष नेपालमा मात्रै १८ मेगाटन कार्बन उत्सर्जन भएको छ। यो सन् २०१६ पछिकै धेरै हो। सो वर्ष २७ मेगाटन कार्बन उत्सर्जन भएको थियो।

सीएएमएसका शीर्ष वैज्ञानिक मार्क पेरिङटन भन्छन्, 'सो क्षेत्रका जंगलमा जुन तीव्रतामा आगो फैलिइरहेको छ, सो निकै चिन्ताको विषय हो।'

नेपाल र उत्तराखण्डको जंगलमा यस वर्ष भएको डढेलोमा अहिलेसम्म २० जनाले ज्यान गुमाइसकेका छन्। लाखौं हेक्टर जंगल जलेर खरानी भएको छ। तर, यी दुवै देशले अहिलेसम्म आधिकारिक आंकडा सार्वजनिक गरिसकेका छैनन्।

अघिल्लो एक महिनाभित्रै नेपालका ५०० सयभन्दा धेरै जंगलमा डढेलो लाग्यो। त्यसैकारण धेरै दिनयता नेपालको हावामा प्रदुषणस्तर खतरनाक विन्दुमा पुगेको छ। 

नेपाल र भारतका कयौं राष्ट्रिय वन र जंगलहरू एक–आपसमा जोडिएका छन्, जसकारण कुनै एक देशको सीमावर्ती जंगलमा लागेको आगो अर्को देशको जंगलमा स्वतः फैलन्छ। 

निरन्तर खडेरीले तनाव बढाउँदै

केही महिनायता नेपाल र भारतका कयौं इलाकाहरूमा वर्षा भएको छैन। यसकारण पनि जंगलमा पतिङ्गरदेखि रुखहरू नै सुकिरहेका छन्।

जंगलमा डढेलो निभाउन स्थानीय समुदायको निकै ठूलो भूमिका हुन्छ। शेखर पाठक भन्छन्, 'कयौं महिनायता यस क्षेत्रमा पानी र हिउँ परेको छैन, यसैकारण सुख्खा भएकाले यसपटक कटुसको रुख पनि जलिरहेको छ।'

चिन्ताको अर्को विषय यो पनि रह्यो कि सामान्य भीर पखेरामा भन्दा जंगलमा नै भीषण आगो लागिरहेको छ। तत्कालै पानी नपरे अहिले लागिरहेको डढेलोले झनै विकराल रूप लिन बाँकी नै छ।

अहिले लागेको आगोले विश्वभर जलवायु परिवर्तन निम्त्याउन प्रमुख भूमिका नखेलेपनि यस क्षेत्रमा सुख्खापन निकै बढाउने पक्कापक्की छ। 

नेपाल र भारतका अधिकारीहरूले बढिजसो आगो जंगल वरपरका जमिनमा किसानहरूले झ्याँस पोल्दा फैलिएको आंकलन गरेका छन्। तर, विशेषज्ञहरूले भने यो समस्याको कारण मौसमी प्रतिकूलता र झ्याँस जलाउनुमा मात्रै सीमित नरहेको बताइरहेका छन्। 

भारत छत्तीसगढका प्राकृतिक संशाधन प्रबन्धन विशेषज्ञ विजेन्द्र अजनबी भन्छन्, 'सरकारका अधिकारीहरूलाई जंगलको काम कार्बडाइअक्साइडलाई अक्सिजनमा बदल्नुमात्रै हो भन्ने लाग्छ, तर उनीहरू यो कुरा भुल्छन् कि जंगलमा आगो पनि लाग्छ र त्यसबाट कार्बन उत्सर्जन हुन्छ। भारतमा जंगली डढेलो नियन्त्रण खासै प्राथमिकता पर्ने गरेको छैन, यस्तो स्थिति निम्तिँदापनि संसदमा खासै आवाज उठाइएको छैन।' 

नेपालका जंगलमा लागेको आगोका कारण त हावाको गुणस्तर नै निकै खस्किएको छ। 

भारतको राष्ट्रिय विपद प्रबन्धन प्राधिकरण (एनडीएमए) ले जंगलमा लागेको आगोलाई प्राकृतिक खतरा नै मान्दैन। एनडीएमएले आफ्नो वेबसाइटमा चक्रवात, सुनामी, तातो हावा (हीटवेभ), भूस्खलन, बाढी र भूकम्पलाई मात्रै यस श्रेणीमा राखेको छ।

सन् २०१९ मा फरेष्ट सर्भे अफ इन्डियाले गरेको विश्लेषणबाट यो थाहा लागेको थियो कि देशका ३६ प्रतिशत जंगल आगोको खतरामा छ र सो मध्ये एक तिहाइ त झनै खतराको स्थितिमा छ। 

भारतले डढेलोलाई प्राकृतिक विपद्को सूचीमा नराख्नुको कारणबारे एनडीएमएका सदस्य कृष्ण वत्स भन्छन्, ' किनकी भारतका अधिकांश जंगलमा कृषि उत्पादन गर्ने क्रममा आगो लाग्ने गर्छ, त्यसैले यो एक मानवनिर्मित खतरा हो। तर, जंगलको आगोले गम्भीर खतरा निम्त्याइरहेको हामी स्वीकार्छौं।'

कहाँ गयो डलर ? 

नेपालको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भारती पाठक भन्छिन्, 'नेपालमा पर्यावरण संरक्षणका लागि भन्दै विदेशबाट करोडौं डलर सहयोग आएको सुनिन्छ। तर वनलाई आगोले सखाप पारिरहँदा त्यसलाई निभाउन सो रकम कतै खर्च भएको देखिँदैन। यहाँको सामुदायिक वन विश्वभर उदाहरणीय बनेको छ, तर जंगलमा लागेको आगोले अहिलेसम्मका सबै मेहनत बर्बाद बनाउने जोखिम बढ्यो।'

सरकारी अधिकारीहरूले चाहिँ आगो निभाउन आफूहरूले सकेका सबै काम गरिरहेको जवाफ दिने गरेका छन्।

नेपालको वन मन्त्रालयका प्रवक्ता प्रकाश लम्साल भन्छन्, 'सीमित संसाधनका बीच पनि हामीले सक्दो काम गरेका छौं, तर त्यस्ता इलाकाहरूमा आगो लागिरहेको छ, जहाँ पुग्न नै मुस्किल छ, जानीबुझी आगो लगाउने र सुख्खा मौसम बढ्दा मुस्किल पनि सँगसँगै बढिरहेको छ। विकसित देशमा पनि जंगलको आगो निभाउन निकै सकस पर्ने गरेको हामीले देखेका छौं।'

(बीबीसी हिन्दीमा प्रकाशित सामग्री अनुवाद र सम्पादन गरिएको ।)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.