पहिलोपटक खटिएका सुमनको अनुभव

|

चितवन : चितवन राष्ट्रिय निकुञ्जमा चैत ९ गतेदेखि सुरु भएको गैंडा गणना चैत २७ गते सकिएको छ। गणनामा २५० जना जनशक्ति र ४३ वटा हात्ती खटाइएको थियो। गैंडा गणना सुमन घिमिरेको लागि भने पहिलो अनुभव हो।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा रेन्जर पदमा कार्यरत सुमनलाई विभागले नै गैंडा गणना र तथ्यांक व्यवस्थापनका लागि खटाएको हो। चितवन राष्ट्रिय निकुञ्जमा २३ दिनसम्म गैंडा गणना भयो। सुमन चाँहि ६ दिन मात्रै गणनाका लागि निकुञ्ज गए। अरू दिन उनले तथ्यांक व्यवस्थापनको काम गरे।

पहिलो अनुभव संगालेका सुमनले जंगली ध्रुवे हात्तीलाई आफ्नै आँखाले पनि देख्न पाए। गणनाका क्रममा चैत २० गतेको घटनालाई उनले नजिकबाट देखे। त्यसदिन ध्रुवे हात्तीले लखेट्दा गणनामा खटिएका पाँच जना गणकहरू घाइते भएका थिए।

हात्तीबाट खसेर गम्भीर घाइते भएका राष्ट्रिय प्रकृति संरक्षण कोषका अधिकृत विनोद श्रेष्ठको अझै पनि काठमाडौंको ह्याम्स अस्पतालमा उपचाररत छन्। सुमन चढेको हात्तीका माहुतेसमेत रूखको लहरा लागेर घाइते भए। लहरा लागेर सुमनको चस्मा र झोला खस्यो। अरू कुनै चोट भने लाग्न पाएन।

गैँडा गणना सुरु हुनुअघि उनले तालिम लिएका थिए। विभागमा तथ्यांक व्यवस्थापनमा काम गरिरहेका घिमिरे पहिलो पटक दुर्लभ एकसिंगे गैंडा गणना गर्न निकुञ्जभित्र जाँदा उत्साहित बनेको बताउँछन्। ‘फिल्डको भन्दा पनि डाटा राख्नेसम्बन्धी काम गरेको थिएँ’, उनी भन्छन्, ‘गणनाको लागि फिल्डमा जाँदा उत्साहित भएँ। जंगल घुम्न रुचाउने भएकाले पहिलो अनुभव फलदायी नै भयो।’

निकुञ्जमा गैंडाको संख्यासमेत बढेको पाइएपछि थप खुसी लागेको उनी बताउँछन्। सन् २०१५ मा गरिएको गणनाअनुसार चितवन निकुञ्जमा ६०५ वटा गैंडा थिए। अहिले ६९४ वटा पुगेका छन् । देशभर गैंडाको संख्या ७५२ पुगेको छ।

घटना भएको दिन चुरे क्षेत्रमा गणना हुँदै थियो। पछाडि भएका साथीहरू अगाडि आएपछि लाइन लाग्ने भनेर उनीहरू एक घण्टाजति कुरेर बसेका थिए। त्यहाँ उनीहरूले जंगली हात्तीको दिसा र पाइला पनि देखेका थिए।

‘हात्तीका माहुतेलाई ज्ञान हुने भएकाले उहाँले नै जंगली हात्ती रहेछ भन्नुभयो’, उनी भन्छन्, ‘त्यसपछि हामीले सुरक्षाकर्मी टोलीलाई खबर गरेपछि उहाँहरू आउनुभयो। त्यसको एरिया छाडेर त्यसलाई डिस्टर्ब नहुने गरी हामी अघि बढ्यौँ। जंगली हात्तीलाई निगरानी गरिराख्न सुरक्षाकर्मीलाई पनि भन्यौँ।’

गणक टोली करिब ४ घण्टाजति अघि बढिसकेको थियो। त्यस ब्लकको गन्तव्य सकिन करिब ५०० मिटर बाँकी थियो। चुरेका साना–साना भंगलाहरू पार गर्दै टोली नारायणी नदीको बगरमा एकीकृत हुँदै थियो।

‘चार वटा हात्तीमाथि नै थिए, अरू भने तल झरिसकेका थिए। त्यसपछि एकाएक जंगली हात्ती आयो’, उनी सम्झन्छन्, ‘हात्तीले माथिका साथीहरूलाई लखेट्दै तल ल्याएछ। लखेट्दै ल्याएपछि हात्तीबाट खसेर विनोद सर गम्भीर घाइते हुनुभयो।’

घरपालुवा हात्तीले वरपर जंगली हात्ती भए/नभएको सुँघेर थाहा पाउँछ। ‘जंगली हात्ती रहेको मेरो हात्तीले थाहा पायो, त्यसपछि चम्कियो’, उनले अरू सम्झन्छन्, ‘चम्केर भाग्न खोज्यो। पूरै काँडाघारी थियो, एकछिनसम्म त हात्तीका माहुतेले पनि सम्हाल्न खोज्नुभयो तर सक्नुभएन।’

माहुतेको घाँटीमा रूखको लहरा अड्किएपछि माहुते हात्तीबाट तल झरे। त्यसक्रममा चस्मा लगाएका सुमनलाई पनि लहराले लाग्यो। उनको चस्मा भुइँमा खस्यो। पछि केही पर पुगेपछि घिमिरे पनि सुरक्षित रुपमा हात्तीबाट झरे। त्यस दिन उनी पारसगज हात्तीमा चढेका थिए। हात्तीमा उनी र माहुते मात्रै थिए।

हात्तीबाट खसेका विनोद श्रेष्ठ घिमिरे भएको ठाउँदेखि ५०० मिटर पर थिए। ५० देखि १०० मिटरको दूरीमा लाइनसँगै हात्तीहरू गैंडा गणनामा खटिएका थिए।

त्यसदिन बिहानै गणकको समूहले ध्रुवेलाई घेरेर पर लगेका थिए। ध्रुवेलाई निगरानी गरिराख्न सुरक्षाकर्मीहरूलाई भनिएको थियो। ध्रुवेले सुरक्षाकर्मीलाई नै झुक्काएर एउटा खोल्सोमा छिर्‍यो। केहीछिनसम्म सुरक्षाकर्मीले त्यसलाई देख्न सकेनन्। ‘हामी सतर्क भएका थियौँ, तैपनि हामी चढेका हात्तीहरू अचानक चम्क्यो। त्यसपछि केही साथीहरू खस्नुभयो’, उनी सुनाउँछन्।

उनले त्यहीबेला पहिलो पटक आफ्नै आँखाले ध्रुवेलाई देखे। ध्रुवेको शरीरमा जिपिएस जडान गरेको हुनाले चिन्नलाई गाह्रो नभएको उनी बनाउँछन्।

जंगलभित्र गणक र सुरक्षाकर्मीबीच कुराकानी गर्न साथमा वाकीटकी राखिएको हुन्छ। सुरक्षाकर्मीको साथमा हतियार पनि हुन्छ। सुरक्षाकर्मीहरू छुट्टै हात्तीमा चढेर गणकको पछि–पछि हिँडेका हुन्छन्। आवश्यकताका आधारमा गणकहरूले थप सुरक्षाकर्मी मगाउन पनि सक्छन्। सुमनको साथमा त्यतिबेला चार जना सुरक्षाकर्मी थिए।

पहिलो पटक जंगलमा त्यस्तो घटना भएपछि एक किसिमको डर चाँहि लागेको उनी बताउँछन्। गणकहरू टाइगर टप्सदेखि गैंडाखासा क्षेत्रतर्फ जाँदै गर्दा त्यस्तो घटना भएको हो। भोलिपल्ट ध्रुवे बसेको स्थानलाई छाडेर अरू ब्लकहरूमा गणना गरिएको उनले बताए।

गणकहरूले दैनिक बिहान ५ बजे खाजा खान्थे। त्यसपछि गणकहरूले आफ्नो दिउँसोको लागि तयार गरिएको खाना लिएर गणना गर्न जंगलतर्फ लाग्थे। तथ्यांक व्यवस्थापन टोलीले गणकहरूका  लागि रातभरिमा डाटा सिट, जिपिएस, वाकीटकी र ब्याट्री व्यवस्था गरिसक्थे।

‘दिनभरिमा दिउँसोको एक छाक खानाले धान्नुपर्थ्यो’, उनी सम्झन्छन्, ‘सजिलो ब्लक पर्दा ३ बजे नै सकिन्थ्यो, अरु दिन ५ बजेसम्म हुन्थ्यो। कहिलेकाहीँ त साथीहरूले ८ बजेसम्म पनि सर्वे गर्नुभयो।’

आफू गणना गर्न नगएको दिनमा गणकले ल्याएको तथ्यांकलाई सुमनले व्यवस्थित तरिकाले उतार्ने काम गर्थे। उनले धेरै जसो तथ्यांक व्यवस्थापन टिममा बसेर काम गरे। उनले एकैठाउँमा ७ वटासम्म गैंडा देखे।

गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा भाले, १७४ वटा पोथी र ३९२ वटा लिंग पहिचान नभएका गैंडा छन्। उमेर समूहअनुसार ४७४ वटा वयस्क, ९५ वटा अर्धवयस्क र १२५ वटा बच्चा गैंडा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.