|

काठमाडौं : नेपालमा पहिलो पटक कोरोना संक्रमण देखिएको एक वर्षपछि फेरि कोरोना संक्रमण दर उकालो लाग्न थालेको छ। चिकित्सकहरूका अनुसार हाल नेपालमा सुरु भइरहेको कोरोना संक्रमणको दोस्रो लहर पहिलोभन्दा निकै घातक देखिएकाे छ। 

केही दिन यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण हेर्ने हो भने पनि दैनिक ३ सयको हाराहारीमा संक्रमित भेटिन थालेका छन्। जसको झण्डै आधा भन्दा बढी त काठमाडौं उपत्यकाकै संक्रमित रहेका छन्।

पुन: हटस्पट बन्न सक्छ काठमाडौं

चैत २३ गतेदेखि कोरोना संक्रमितको संख्या २ सय माथि नाघेको देखिन्छ। चैत २६ बाट बढ्दै संक्रमितको संख्या ३ सय माथि पुगेको छ। आइतबार मात्रै उपत्यकामा १ सय ५४ जना संक्रमित भेटिएका थिए।  यसले पनि काठमाडौं उपत्यकामा पुनः कोरोनाको जोखिम र यहाँ संक्रमितको संख्या बढ्दै गएको पुष्टि गर्छ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौं उपत्यकामा रहेका अस्पतालको शैय्या पनि भरिँदै गएका छन्। कोरोनाको दोस्रो लहर सुरु हुनेबित्तिकै बालबालिकाहरूमा संक्रमण देखिनु र उपत्यका जस्तो धेरै मानिसको बसोबास भएको ठाउँमा संक्रमण धेरै देखिनु खतराको संकेत रहेको बताउँछन् शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा प्रमुख सरुवा रोग विशेषज्ञ डा अनुप बाँस्तोला।

उनका अनुसार मानिसहरुले जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा हाल संक्रमण बढिरहेको छ। उनले भने ‘युके भेरियन्टसँग देखिएको समयमा नै मानिसहरुले कोरोनालाई विर्सिए, जनस्वास्थ्यको मापदण्ड पालना गरेनन्, स्कुलहरूले पनि मापदण्ड पालना गरेनन् जसले गर्दा संक्रमण ह्वात्तै बढ्यो।‘

पहिले विभिन्न समूदाय हटस्पट बनेपनि दोस्रो लहरको सुरुवाती चरणमै विद्यालय हटस्पट बन्ने अवस्था रहेको उनले बताए। ‘ अहिले स्कुलका बालबालिकाहरु धेरै संक्रमित भएका छन्, यही अवस्था भए अझै स्कूलहरुमा संक्रमण फैलन सक्छ जसले गर्दा हटस्पट बनेको अवस्था छ। त्यहाँबाट दीर्घरोगी, वृद्धवृद्धामा फैलिन सक्छ‘ उनले भने। 'यता मन्त्रालयको विवरण अनुसार चैत १४ देखि आइतबारसम्म ३ हजार ४ सय ५ जनालाई कोरोना संक्रमण देखिएकामा १८ वर्षभन्दा मुनिका बालबालिका मात्र २ सय ७१ जना छन्।

भेला, गोष्ठी र आन्दाेलनकाे भीडले फैलायो कोरोना

दुई महिनायता सभा समारोह तथा सडक आन्दोलनका नाममा भएका भीडभाडले  संक्रमण फैलाउन सहयोग गरेको छ।  हाल धेरै युवामा संक्रमण देखिनुको मुख्य कारण पनि घर विभिन्न सभा समारोह, आन्दोलनमा युवा वर्गको सहभागी हुने र उनीहरुले जनस्वास्थ्यको मापदण्ड पालना नगर्दा अहिले युवा समुहमा संक्रमण ह्वात्तै बढेको डा बाँस्तोलाले बताए।

‘हामीले केही महिनायता मास्क बिर्सियाैं, गोष्ठीसहित ठूला आन्दोलन  गर्याैं,  मुख्य कुरा जनस्वास्थ्यको मापदण्ड भुल्यौँ  र यही समयमा नयाँ भेरियन्टसँग पनि भित्रियो  जसले गर्दा संक्रमण बढ्यो।‘

युरोपलगायत अन्य दर्जनौँ देशमा महामारी अझ फैलिने खतरा बढेसँगै लकडाउन थपिँदै गएको र जमघट–भेलाहरूमा प्रतिबन्ध लगाइएको छ । नेपालसँग खुला आवागमन भएको छिमेकी देश भारतमा पनि नयाँ खालको भेरियन्टसँगै संक्रमण फैलिएपछि कडा प्रतिबन्ध गरिरहेको बेला जोखिम कम गर्न अहिले नै कदमहरू चाल्ने रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरु बताउँछन्।

मन्त्रालयका एक अधिकारीले भने ‘नयाँ खालको भेरियन्टसँग समुदायमा पुगिसकेको छ, केही दिनयता उपत्यकामा संक्रमण बढिसकेको छ जनजीवन सामान्य अवस्थामा छ यस्तो अवस्थामा संक्रमणले विकराल रुप लिन सक्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.