'माधव नेपाल आफैं अब सांसद हुँदैन, अरूलाई के टिकट दिऊन्'

|

काठमाडौं : नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रलाई सरकारलाई दिएको समर्थन फिर्ता लैजान चेतावनी दिएका छन्। 

उत्पीडित जातीय मुक्ति समाजको भेलामा ओलीले सीधै चेतावनीस्वरुप भने, 'राजीनामा देऊ भनेर किन रुने? सक्छौँ भने समर्थन फिर्ता लैजाऊ न। मसँग बहुमतको सरकार छ, मैले किन राजीनामा दिने? चाहिएको छैन तिमीहरूको समर्थन फिर्ता लैजाऊ न।’ 

अबको चुनावमा माधव नेपाल सांसदसमते नबन्ने पनि ओलीले ठोकुवा गरे। गल्ती स्वीकार गरेर पार्टीमा फर्किनसमेत उनको आग्रह थियो। 

‘एउटा हल्ला छ, केपी ओलीले टिकट नदिए चिन्ता नगर्नुस् म दिन्छु। टिकट त बसपार्कमा फालाफाल छ त। त्यो पनि उहाँले सक्नुहुन्न। तर उहाँले अब एक जना पनि सांसद बनाउन सक्नुहुन्न, आफैं त बन्नुहुन्न अरूको के जिम्मा लिने?’ उनले प्रश्न गरे। 

समानान्तर गतिविधि जारी राखे थप कदम चाल्न सक्ने चेतावनीसमेत दिए। एमाले फुटाउन माधव नेपालले समानान्तर कमिटी गठन गर्दै गएका उनको आरोप थियो। कम्युनिस्टविरोधी तत्वहरूलाई सफलताका साथ अगाडि जान नदिने उनले दाबी गरे। 

‘समूहगत छलफल हुँदैन। व्यक्तिगत रूपमा माधव नेपाल आएर पार्टीमा काम गर्नुहुन्छ भने मसँग होइन, जनतातिर फर्केर क्षमायाचना गर्नुस्। तर, पार्टीमाथि धावा बोल्नुभयो भने ठीक लगाइनेछ। बघिनी तबसम्म चुप हुन्छ जबसम्म डमरुमाथि खतरा हुँदैन। निष्कासन गर्न हामीलाई पनि आउँछ, तपाईंहरूलाई मात्र होइन’, उनले कडा टिप्पणी गरे। 

अपवित्र गठबन्धन गरेर प्रदेश सरकार समेत ढाल्न केही लागिपरेका पनि उनले बताए। नेता नेपालप्रति लक्षित गर्दै वामपन्थी आन्दोलन गर्न चुनावी तालमेलबाट सुरु गर्दासमेत आफ्नो भाग पाएपछि आफूलाई साधारण सदस्यबाट हटाएको ओलीले बताए। 

उनले थप्दै गए, ‘मलाई बहुमत चाहिएको थियो। उहाँहरूले आआफ्नो भागबाट मान्छे ल्याएर सबै मेरो टाउकोमा खन्याए। पार्टीको अध्यक्ष र साधारण सदस्यबाट हटाए, केटाकेटीलाई दशैं आएजस्तै अविरजात्रा गरेर लड्डु खाए। मलाई मिथिला चित्रझैँ भित्तामै टाँस्छु भन्छन्। संसद बैठक चलेको भए संसदको सदस्यबाटसमेत निकाल्ने रहेछन्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.