|

काठमाडौं : पशुपति विकास कोष परिसरको क्षेत्रमा क्रिश्चियन धर्मावलम्बीहरूले शव गाड्ने र पक्की चिहान बनाउन थालेपछि सनातन धर्म महासंघले आइतबार एक विज्ञप्ति जारी आपत्ति जनायो।

क्रिश्चियन समुदायले गैरकानुनी, आपराधिक, अवाञ्छित एवं हिन्दु समुदाय विरुद्ध आक्रमण गरिरहेको महासंघले जनाएको छ। २०६८ जेठ १ गते सर्वोच्च अदालतको आदेशपछि त्यस क्षेत्रमा इसाई धर्मावलम्बीको शव गाड्न निषेध गरिएको थियो।

विज्ञप्तिमा उल्लेख गरिएको छ, 'आज पर्यन्त त्यहाँ इसाई धर्मावलम्बीहरूबाट लाश गाड्ने काम रोकिएको छैन। चैत २६ गते श्लेष्मान्तक वनको निरीक्षण गर्दा इसाई धर्मावलम्बीद्वारा निर्माण गरिएका नयाँ पक्की चिहान फेला परेका छन्। सर्वोच्च अदालतको फैसलालाई अटेर गरी इसाईहरूले पशुपति क्षेत्रमा अतिक्रमण गर्नु गैरकानुनी र सर्वोच्च अदालतको मानहानी हुनु हो।'

सनातन धर्म महासंघले पक्की चिहान बनाएको विरोधमा विज्ञप्ति जारी गरेपछि पशुपति क्षेत्र विकास कोषका पदाधिकारीलाई थाहाखबरले सम्पर्क गरेको थियो। कोषका अधिकारीले राजनीतिक संक्रमणकालीन अवस्थामा सरकारले केही समय क्रिश्चियन धर्मावलम्बीको शव अन्त्येष्टि गर्न अनुमति दिएको बताएका छन्।

विकास कोषका निर्देशक डा. घनश्याम खतिवडाका अनुसार गिरिजा प्रसाद कोइराला प्रधानमन्त्रीको सरकार भएको बेला पशुपति क्षेत्रको जंगलमा केही समयको लागि शव अन्त्येष्टि गर्नलाई अनुमति दिएको थियो। उनले भने, 'त्यहाँको पक्की चिहान पुरानो हो। नयाँ बनेका छैनन्।'

पुराना पक्की चिहानहरूको संरचना बाँकी रहेको खतिवडाले जानकारी दिए। त्यहाँ भएका सबै संरचना हटाउन थालिसकेको उनले बताए। रातको समयमा आएर पनि केही शवको अन्त्येष्टि भएको उनको भनाइ छ।

खतिवडाले भने,' विकास कोषका सुरक्षा गार्डको मिलेमतोमा जंगलमा लगेर गाडेको उदाहरण थियो। अहिले भने त्यस्ता कार्यहरू हटिसकेको छ।'

कोषले इसाई धर्मावलम्बीहरुले यहाँ शव ल्याउने गरेको छन भने पनि अबदेखि नल्याउन अनुरोध गरिने उनले जनाए। खतिवडाले इसाइ समुदायका मानिसको शव आउन छोडेको दाबी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.