|

पर्सा : ट्रान्सपोर्टबाट भन्सार छली भित्र्याइएका ४२ लाख रुपैयाँ बराबरका सामान बोकेर छुटेको ट्रक प्रहरीले नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ।

पशुपति रोड कैरियर्स ट्रान्सपोर्टबाट छुटेको ना३ख ७२१० नम्बरको अवैध मालबस्तु बोकेको ट्रक प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो। 

'त्यो ट्रकमा भन्सार छली चोरी पैठारी गरी ल्याइएका सामान रहेछ। त्यो सामान लिएर नारायणघाटतर्फ जाँदै गरेको अवस्थामा चेकजाँच गर्दा शंकास्पद पाइएपछि सामानसहित ट्रक र चालकलाई पनि नियन्त्रणमा लिइएको हो,' पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए। प्रहरीले नियन्त्रणमा लिएको ट्रक सोमबार राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको उनले जानकारी दिए। 

बिल विजक र भन्सार प्रज्ञापन छैन 

ट्रकमा लोड गरिएका सामानको भन्सार प्रज्ञापन पत्र र बिल बिजकसमेत रहेनछ। त्यसैले गण्डक चोकबाट नियन्त्रणमा लिई सवारीका चालक जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर–७ का सुरज सिंहलाई पनि नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि बढाइएको पर्साका प्रहरी नायव उपरिक्षक खनालले बताए। अवैध सामान बोकेको ट्रकमा कस्मेटिक, हार्डवेयर र किरानाका सामानहरु रहेछन्। ती सामानको बजार मूल्य करिब ४२ लाखभन्दा बढी रहेको खुलेको पर्सा प्रहरीले जनाएको छ। 

अवैध सामान भएको ट्रक २० दिन अगाडी पनि पक्राउ  

गएको चैत १० गते पनि वीरगन्जको नेपाल भारत संयुक्त भन्सार जाँच चौकी (आइसिपी) बाट भन्सार पास गराई निस्किएको भारतीय नम्बरको बिआर ०६ डिबी ४१५६ नम्बरको धान लोड गरिएको भनिएको ट्रकमा पनि १ करोड ५ लाखको अवैध कपडा फेला परेको थियो।

त्यो ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाएको थियो। सो ट्रकका सामान पनि अवैध ठहरिएका थिए। उस्तै प्रकृतिका अर्को मालवाहक सवारी पनि नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ। त्यसको पनि राजश्व कार्यालयले अनुसन्धान थालेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.