|

म्याग्दी : म्याग्दीमा देउतालाई खुसी बनाउन जाँडको छोक्रा र कालो मोसो दल्ने प्रचलन छ। रघुगंगा गाउँपालिका–७ चिमखोलामा भूमे देउतालाई खुशी बनाउन एक अर्कामा जाँड र कालो मोसो दलेर रमाउने प्रचलन छ।

मगर समुदायको बहुल्यता रहेको चमखोलामा चैतको दोस्रो मंगलबार गाउँबाहिर देश तथा विदेशमा रहेकाहरू फर्किएर परम्परागत भूमे पूजा र सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ। यो पर्व नयाँ वर्ष सुरु हुनुभन्दा अघिल्लो महिना अर्थात् चैतको दोस्रो मंगलवार मनाउने चलन छ।

भूमेपूजाको दिन भूमे देवतालाई खुसी बनाउन भूमेलाई जाँडलाई जल र प्रसादको रुपमा प्रयोग गरिन्छ। आमा समूहले हरेक घरबाट कोदो भेला गरेर जाँड पकाउँछन्। त्यो जाँड भूमेपूजाको दिन छेमाहरुलाई खुवाएपछि युवायुवतीहरुले एक आपसमा दल्ने गर्दछन्। त्यससँगै खाना पकाउँदा आएको मोसो पनि दलेर रमाइलो गर्छन्।

भूमेपूजामा लआफन्तजनको स्वागत तथा सत्कारको रुपमा जाँड खुवाउने चलन यस क्षेत्रमा रहेको स्थानीय माया गवुर्जाले बताइन्। जाँडले स्वागत गरेपछि एक अर्काबीच कालोमोसो दल्ने चलन पुर्खादेखिको नै चलिआएको उनले बताइन्।

भूमेपूजा गरिसकेपछि भूमेलाई हँसाउन र भूमेलाई मान्न छेमाहरुले हरेक टोलबाट टोपा नाच देखाउने चलन रहेको पात्लेखर्कका ७२ वर्षीय नर्गेद्र पुनले बताए। भूमेपूजाको अवसरमा  युवाहरूले धमाखु खेलमैदानमा सांस्कृतिक तथा खेलकुद कार्यक्रम गरी टोपा‚ सोरठी‚ शर्माजाले, जुरे चल्ला, थाली नाच, कलस जुधाउने लगायतका नाच देखाउने गर्दछन्। स्थानीय चिनिमाया पुनले वृद्धवृद्धा‚ युवायुवती र बालबालिका सबैले शर्माजाले नाच नाच्ने बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.