|

उदयपुर : सिद्धिचरण राजमार्गअन्तर्गत सिरहाको मिर्चैयादेखि उदयपुरको कटारी–घुर्मी सडकखण्ड तत्काल स्तरोन्नति नगरे अनिश्चितकालीन बन्द गर्ने चेतावनी दिएको छ।

संघर्ष समितिका संयोजक दीपक बुढाथोकीले  सडकखण्ड स्तरोन्नतिका लागि सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाउने र सुनुवाइ नभए आगामी वैशाख ६ देखि कटारी नगरपालिकाको मरुवा, पट्नाभञ्याङ्ग गहुँबारी, वेतेनीमा एम्बुलेन्सबाहेकका सवारीसाधन सञ्चालन अनिश्चित कालका लागि बन्द गर्ने जानकारी दिए।

संघर्ष समितिले डिभिजन सडक कार्यालय लाहानका प्रमुख काठमाडौंमा भएका कारण इन्जिनियर शैलेन्द्र चौधरीलाई कार्यालयमै पुगेर ज्ञापनपत्र बुझाएको वडाध्यक्ष बुढाथोकीले बताए।

सिद्धिचरण राजमार्गको कटारी नगरपालिका क्षेत्रमा पर्ने कटारीदेखि घुर्मीसम्म जम्मा ४६ किलोमिटर सडक जीर्ण बनेको छ। जुन क्षेत्र कटारी नगरपालिकाको वडा नम्वर ८, ९, १०, ११, १३ र १४ मा पर्दछ। उक्त सडकखण्डमा गरिएको कालोपत्रे भत्किएको अढाइ दशक बितिसक्दा पनि स्तरोन्नति नहुँदा स्थानीय र यात्रुले चरम सास्ती भोग्दै आएका छन्।

उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका लाखौं सर्वसाधारणको आवागमन र दैनिक उपभोग्य सामग्री ढुवानी हुने सिद्धिचरण राजमार्गको स्तरोन्नति नगरिँदा यात्रुहरु बर्षामा हिलो र हिउँदमा धुलोसहित जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

प्रदेश २ को सिरहादेखि मिचैँयादेखि प्रदेश १ को उदयपुरको कटारी, घुर्मी हुँदै ओखलढुंगा जोड्ने सिद्धिचरण राजमार्गको कटारी घुर्मी सडक खण्ड ४६ किलोमिटर छ। सवारी दुर्घटना धेरै हुने गरेकाले यो सडक खण्डलाई 'मान्छे मार्ने सडक' भनेर समेत चिनिने गरेको स्थानीयहरु बताउँछन्।

२०५२ सालदेखि नै निर्माण सुरू भएर २०५८ सालमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको उक्त सडकखण्ड अहिलेसम्म सडकका खाल्डा समेत पुरिएको छैन। जसका कारण सडक जीर्ण भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.