शैक्षिकसत्रमै धक्का, १५ सय शिक्षकले गुमाए राेजगारी

|

काठमाडौं : चीनको वुहानमा कोभिड–१९ को संक्रमण फैलिँदासम्म नेपालको शैक्षिक संस्थाका सबै गतिविधि चलायमान थियो। चीनबाट विश्वका अन्य मुलुक हुँदै नेपालमा पनि संक्रमण फैलिएपछि सबै विद्यालय,विश्वविद्यालयहरू २०७६ चैत ६ गतेबाट बन्द भए। दिनदिनै संक्रमणदर बढ्दै गएपछि सरकार लकडाउन गर्ने निर्णयमा पुग्यो। २०७६ चैत ११ गतेबाट देशमा पूर्ण लकडाउन भयो। लकडाउन भएसँगै शैक्षिक क्रियाकलाप ठप्प भए। विद्यार्थी घरभित्रै बस्न बाध्य भए। 

वैकल्पिक माध्यमको पढाई

सरकारले लकडाउन गरेको चार महिनापछि अनलाईन प्रणालीबाट शैक्षिक क्षेत्रलाई चलायमान राख्ने योजना ल्यायो। वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण निर्देशिका, २०७७ जारी भयो। सरकारले ०७७ असार १ गतेबाट वैकल्पिक प्रणालीबाट पढाई सुचारु गर्नलाई देशभरका निजी तथा सामुदायिक विद्यालयलाई निर्देशन दियो।

यो निर्देशनपछि सरकारी भन्दा पनि बढि नीजि स्कुलले इन्टरनेटको माध्यमबाट पढाइ सञ्चालन गरे। सरकारले देशभरका दुई सय १ वटा सामुदायिक रेडियो र टेलिभिजनबाट पनि पढाई अघि बढायो। तर, वैकल्पिक सिकाई प्रभावकारी नभएको शिक्षाविद् र विद्यार्थीका अभिभावकहरूले टिप्पणी गर्दै आए।

बरु वैकल्पिक नाममा जथाभावी शुल्क विद्यालयले उठाएको भन्दै अभिभावक आन्दोलित भए। आक्रोशित अभिभावकले केही विद्यालयसमेत तोडफोड गरे। एसईई परीक्षा पनि सञ्चालन हुन सकेन। विद्यालयहरूको आन्तरिक मूल्यांकनकै आधारमा नतिजा प्रकाशित गरियो। तर, शिक्षक र विद्यालयमाथि मनोमानी अंक दिएको आरोप प्रत्यारोप लाग्यो ।

लकडाउन भएको आठ महिनापछिको पठनपाठन

लकडाउन भएको आठ महिनासम्म पनि सरकारले केही शिक्षा क्षेत्रमा नहेरेको भन्दै सरोकारवालाहरूले स्वास्थ्य सुरक्षा अपनाएर विद्यालय सञ्चालन गर्न सरकारलाई सुझाव दिए। नभन्दै शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले लामो समयको बन्दाबन्दीपछि पठनपाठन प्रभावित हुन नदिन ०७७ कात्तिक २० गते ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७’ जारी गर्‍याे।

कार्यढाँचा जारी भएपछि कोरोना जोखिम नभएका र जोखिम कम हुँदै गएका जिल्लामा विद्यालयहरू आलोपालो सिफ्ट  प्रणालीबाट सञ्चालन हुँदै आयो। यसको सबै जिम्मा स्थानीय तहले पाए। जसले लामो समयपछि विद्यालयमा विद्यार्थी जान पाउँदा खुशीले गदगद भए। 

शैक्षिक सत्रमा देखिएको असर

कोभिड–१९ कहरका कारण विद्यार्थीको पढाइसँगै शैक्षिक सत्रसमेत बिथोलिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गणेश पौडेलका अनुसार २०७७ सालको शैक्षिक सत्रलाई लम्ब्याइएको छ। वैशाखबाट सुरु भई चैत मसान्तमा सकिनुपर्ने शैक्षिक सत्र लम्ब्याएर जेठ मसान्तसम्म पुर्‍याइएको छ।

२०७८ सालको शैक्षिक सत्र भने घटाएर १० महिनाको मात्रै व्यवस्थापन गरिएको उनले जानकारी दिए। उनका अनुसार २०७८ सालको शैक्षिक सत्र असार १ गतेबाट सुरु भई चैत मसान्तमा सकिने छ। त्यस्तै, २०७८ सालको शैक्षिक सत्र चैत मसान्तमा पूरा भएपछि २०७९ सालको शैक्षिक सत्र भने वैशाखबाट सुरु भई १२ महिना नै कायम गरिने भएको छ। 

शिक्षाविद र प्याब्सनले देखेको शैक्षिक अवस्था

शिक्षाविद् डा. विद्यानाथ कोइराला २०७७ सालको शैक्षिक अवस्थालाई सकरात्मक र नकरात्मक गरी दुई पाटोबाट हेर्छन्। सकरात्मक पाटोमा उनी भन्छन्,‘विद्यार्थीहरु शिक्षकमा मात्र नभई प्रविधिको पनि सहायता लिएर प्रविधिसँग परिचित भए,मिडियाबाट पनि पढ्ने बाटो खुल्यो, केन्द्र, प्रदेश र स्थानीय तहलाई शिक्षकमा मात्र भर नपरी प्रविधिको विकास गरी पढाउनुपर्ने रहेछ भन्ने बुद्धि पलायो,केही चुनौती पनि भयो।’

नकारात्मक पक्षमा बढी विद्यार्थीको पढाईमा असर पुगेको उनी बताउँछन्। ‘कोरोनाका कारण विद्यालय खोल्दै फेरी बन्द गर्नुपर्‍यो,’कोइरालाले भने,‘लामो समयसम्म पढ्न नपाउँदा पढाइको स्तर खस्कियो, विद्यार्थीको भविष्यमै प्रश्नवाचक चिन्ह खडा भयो,केही ठाउँमा प्रविधिबाट पढाई राम्रो त कहीँ खेलबाड भयो।’ 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का केन्द्रीय अध्यक्ष टीकाराम पुरीले २०७७ को शैक्षिक क्षेत्र मानव इतिहासमै दुःखदायी बनेको विश्लेषण गर्छन्। उनी भन्छन,‘कोरोनाका कारण बढी शैक्षिक क्षेत्रमा असर पुग्यो,पढाई प्रभावित भयो, कतिपय शैक्षिक संस्थाहरु सधैका लागि बन्द भए।’ 

उनका अनुसार देशभर मन्टेश्वरीदेखि कक्षा १२ सम्मका १० हजार विद्यालय छन्। कोभिड–१९ ले गर्दा ५ देखि १० प्रतिशत विद्यालय बन्द भएको उनी सुनाउँछन्। 
शिक्षा क्षेत्रमा गरेको लगानीमा ठूलो घाटा व्यहोर्नु परेको पनि उनी दुखेसो पोख्छन्।

‘शिक्षा क्षेत्रमा चार खर्ब ५० अर्ब रुपैयाँ लगानी छ, कोरोनाले गर्दा लगानीको २० प्रतिशतभन्दा बढी घाटा व्यहोर्नुपरेको छ, बैंकबाट लिएको ऋण तिर्न सकेका छैनौं।’ पुरीले भने। 

१५ सय बढी शिक्षकले गुमाए रोजगारी 

२०७७ साल कोरोना कहरमै बित्यो। विद्यार्थीले राम्ररी पढ्न त पाएनन् नै,योसँगै शिक्षकले समेत रोजगारी गुमाउनुपर्यो। संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष होमकुमार थापाका अनुसार कोरोना कहरमा १५ सयभन्दा बढी शिक्षकले रोजगारी गुमाएका छन्। उनीहरुको रोजीरोटी सबै गुमेको छ। 
देशभर करिब १ लाख ७५ हजारभन्दा बढी शिक्षक छन्। 

०७८ को पढाई पनि अन्याैलमै!

वि‍‍‍.सं. २०७७ साललाई विदाई गरेर हामी नयाँ वर्ष २०७८ साललाई स्वागत गर्दै छौं। नयाँ वर्षलाई स्वागत गर्दै शिक्षाविद् कोइराला कामना गर्छन,‘शैक्षिक क्षेत्रमा सकारात्मक चिन्तन बढेको छ,अझै यो नयाँ वर्षमा शिक्षकले पढाउने भन्दा अन्य वैकल्पिक उपाय पनि खोजियोस्, यसको सम्भावना छ, हिजो पढाउने शैली भन्दा फरक ढंगले पढाउने सोच आओस्,शिक्षकहरु २०७७ मा संगठित हुँदैछन्,अझ ०७८ मा संगठित होउन्।’

मुखले भटभटाएर भन्दा पनि विद्यार्थीले गरिखाने सीपमार्फत् पढाउनुपर्ने पनि उनी अपेक्षा लिन्छन्। ‘शिक्षकको भरमा मात्रै होइन प्रविधितर्फ पनि विद्यार्थीहरु केद्रित होउन्,शिक्षक र विद्यालयले पनि यसमा ध्यान दिउन्।’ कोइरालाले भने।

प्याब्सनका केन्द्रीय अध्यक्ष पुरीले पनि २०७७ सालमा भएको पढाई क्षति ०७८ मा पूर्ति होस भन्ने कामना गर्छन्। ‘यो नयाँ वर्षमा कोरोना संक्रमण नियन्त्रण होस,सबैले स्वास्थ्य मापदण्ड पालना गरौं,बढी शिक्षा क्षेत्रमा उन्नति होस।’ उनले भने। तर ०७८ साल सुरु हुँदै गर्दा पनि कोरोनाकाे दोस्राे लहर सुरु भएकाे छ। 

पछिल्लो समय कोरोना संक्रमणदर बढ्दै गएकाले अझै शिक्षा क्षेत्रमा असर पुग्ने देखिन्छ। तर, पनि यो नयाँ वर्षमा हर्ष,उल्लास र उमंगका साथ शैक्षिक क्षेत्र चलायमान होस। उत्तराेत्तर प्रगतिको कामना।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.