|

काठमाडौं : अहिलेकै अवस्थामा संक्रमण बढ्दै गए जेठ अन्तिमदेखि असार सम्ममा दैनिक ११ हजार सम्म कोरोनाका सक्रमित देखिन सक्ने सरकारले अनुमान गरेको छ।

हाल कोरोनाको दोस्रो लहर सुरू भएको र अहिलेकै अवस्थामा संक्रमण बढ्दै गए दैनिक ११ हजार र असार सम्ममा ६ लाख सम्म संक्रमितको संख्या पुग्न सक्ने सरकारले अनुमान गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले अहिलेकै अवस्थामा कोरोना संक्रमण बृद्धि भएमा असारसम्म ६ लाख संक्रमित पुग्ने अवस्था आउने प्रक्षेपण मन्त्रालयले गरेको जानकारी दिए। उनले भने ‘हाम्रोमा नयाँ भेरिएन्ट समेत समुदायमा पुगिसकेको छ र भारतबाट आउने मानिसको संख्या पनि बढ्दै गएको छ। जसले गर्दा असार सम्ममा दैनिक ११ हजार सम्म संक्रमित देखिन सक्ने हाम्रो अनुमान छ। त्यही अनुसार तयारी थालेका छौं।’

एक जनाबाट ४० जनालाई संक्रमण

हाल समुदायमा नयाँ भेरिएन्ट पुगेको र  नयाँ भेरिएन्ट पहिलेको भन्दा आक्रमक रहेको मन्त्री त्रिपाठीले बताए। अहिले संक्रमित एक जनाले ४० जना सम्मलाई सारेको भेटिएकोले अवस्था भयवित रहेका उनले बताए। उनले भने ‘यसअघि देखिएको भन्दा हाल देखिएको नयाँ भेरिएन्ट संक्रमित एक जना संक्रमितबाट ४० जना सम्मलाई सारेको पाइयो। जसले गर्दा परिस्थिती अलि जटिल छ। सबैले गम्भीर भएर जनस्वास्थ्यका मापदण्ड पालना गर्न जरुरी छ।’ 

अहिले धेरै संक्रमण बालबालिकामा र युवा उमेर समूहमा देखिएकोले अवस्था भयावह रहेको समेत उनले बताए। उनले भने ‘हालको संक्रमितको अवस्था हेर्दा भयावह स्थिति छ। यो पहिलेको भन्दा फरक खालको परिस्थिति हो।‘

पछिल्लो समय बालबालिकामा संक्रमण बढ्दै गएपछि कान्ति बाल अस्पतालमा संक्रमितको उपचार गर्न विशेष तयारी गरिएको समेत मन्त्री त्रिपाठीले बताए। उनले भने,‘बालबालिकालाई हाल सम्म खोपको सुविधा पनि छैन। हाम्रोमा बालबालिकामा संक्रमण बढ्दो छ। जसले गर्दा हामीले कान्ति अस्पतालाई तयारी अवस्थामा रहन भनेका छौँ।‘

यस्तै कोभिड-१९ को संक्रमण बढेसँगै सरकारले प्रमुख सहरका विद्यालयको पठनपाठन अनलाइनबाट गराउने तयारी गरेको छ। 

सीमामा एक हजार अट्ने होल्डिङ सेन्टर बनाइने  

सरकारले सीमा नाकामा हजार जना सम्म अट्ने होल्डिङ सेन्टर बनाउने तयारी थालेको छ। छिमेकी भारतमा कोरोना संक्रमण बढ्दै गएको र भारतमा विभिन्न कामको शिलशिलामा गएका नागरिक घर फर्कने संख्या बढ्दै गएकाले होल्डिङ सेन्टर बनाउने तयारी थालेको मन्त्री त्रिपाठीले बताए।

उनका अनुसार भारतमा नयाँ खालको भेरिएन्ट देखिएको र त्यहाँको अति प्रभावित ठाउँबाट आएका नागरिक सबैलाई केही दिन होल्डिङ  सेन्टरमा राखेर घर पठाउने तयारी सरकारले गरेको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.