|

काठमाडौं : उपत्यकामा सवारी दुर्घटनाबाट पछिल्लो तीन वर्षमा पाँच सय २० जनाले ज्यान गुमाएका छन्। ०७५ साल यता पाँच सय २० जनाले सवारी दुर्घटनामा ज्यान गुमाएको महानगरीय ट्राफिक महाशाखाको तथ्यांक छ।

महाशाखाका अनुसार सवारी दुर्घटनाबाट १६ वर्ष मुनिका २७ जना, १७ देखि ३५ वर्ष उमेर समुहका तीन सय सात जना र ३६ वर्षमाथिका एक सय ८६ जना रहेका छन्। दुर्घटनामा सात सय ११ गम्भीर घाइते र १७ हजार ६ सय ९५ जना समान्य घाइते भएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।

महाशाखाको तथ्यांक अनुसार उपत्यकामा दैनिक २० भन्दा बढी सवारी दुर्घटना हुने गरेका छन्। तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/०७६ मा आठ हजार पाँच सय ११ सवारी दुर्घटना भएका छन् भने दुर्घटनामा परि ज्यान गुमाउनेको सख्या २ सय ५४ छ।

त्यस्तै आर्थिक वर्ष २०७६/०७७ मा १० हजार ३८ दुर्घटनामा ज्यान गुमाउनेको सख्या एक सय ५४ जना छ। चालु आर्थिक वर्ष २०७७/०७८ को हाल सम्म सात हजार ४० सवारी दुर्घटना भएकामा ज्यान गुमाउनेको सख्या एक सय १३ छ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईका अनुसार सडक दुर्घटनाको कारण सडकको अवस्था, चालकको लापरबाही, तीव्र गति, मदिरा सेवन गरेर सवारी चलाउनु, सडकमा छाडा चौपाया, पैदल यात्रुले जथाभावी सडक पार गर्नु र क्षमता भन्दा बढी यात्रु बोक्दा सवारी दुर्घटना हुने गर्दछ। 

मोटरसाइकल, स्कुटर र कार बढी दुर्घटना

उपत्यकामा हुने सवारी दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल, स्कुटर र कार बढी दुर्घटना हुने गरेको महाशाखाको तथ्यांकमा छ। त्यसपछि बस र टेम्पो लगायतका सवारी साधन दुर्घटना हुने गरेको छ।

आर्थिक वर्ष २०७५/०७६ मा भएको दुर्घटना मध्ये पाँच हजार पाँच सय ११ दुर्घटना मोटरसाइकल र स्कुटर रहेको छ भने पाँच हजार तीन सय पाँच बस दुर्घटना भएको छन्। त्यस्तै, आर्थिक वर्ष २०७७/०७७ मा सात हजार एक सय ४२ मोटरसाइकल र स्कुटर दुर्घटना भएका छन् भने ६ हजार पाँच सय ६४ कार भ्यान दुर्घटना भएका छन्।

आर्थिक वर्ष २०७७/०७८ मा छ हजार १६ दुर्घटना भएका छन्। कार र भ्यान चार हजार २ सय ३७ रहेका छन्। तीन आर्थिक वर्षमा ज्यान गुमाएका पाँच सय २० जनामध्ये दुई सय ५५ जना मोटरसाइकल, स्कुटर, कार र जीप  चालक रहेको महाशाखाले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.