कोरोना संक्रमण रोक्न सरकारसँग राख्यो ८ बुँदे माग

|
फाइल फोटो

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना नियन्त्रणमा सरकार उदासिन भएको आरोप लगाएको छ। कांग्रेसका सह–महामन्त्री एवं कोभिड–१९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले मंगलबार विज्ञप्ति जारी गर्दै सरकार उदासिन भएको आरोप लगाएका हुन्।

महतद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘कोभिड-१९ को कू–व्यवस्थापन, चरम आर्थिक दुरुपयोग, स्वास्थ्य सामग्री खरीदमा भएको व्यापक भष्ट्राचारको नेपाली कांग्रेसले निरन्तर विरोध गर्दै आएको हो। कोभिड-१९ को संक्रमण कम हुँदै गए पनि फेरि संक्रमण विस्तार हुन सक्ने र विश्वका अन्य देशहरुमा देखिएका कोभिड-१९ को नयाँ भेरिएन्ट नेपालमा प्रवेश गर्ने सम्भावना प्रति सरकार उदासिन भएका कारण अहिले फेरि कोभिड–१९ को संक्रमण फैलिदो छ।’

संक्रमितको संख्या, गम्भीर विरामी भएर आइसियुमा बस्नु पर्ने विरामीहरूको संख्या र मृतकको संख्या बढ्दो रहेको भन्दै कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ।

सरकारले बेलैमा आवश्यक कदम नचाले भविश्यमा अझ भयावह स्थिति आउन सक्ने सम्भावना रहेको समेत कांग्रेसले जनाएको छ। कांग्रेसले कोरोना संक्रमण रोक्न सरकारसँग आठ बुँदे माग तत्काल अगाडि बढाउन आग्रह समेत गरेको छ।

कोरोनाको कारणले २०७८ संकटपूर्ण हुन नदिन स्वदेश तथा विदेशमा रहेका सम्पूर्णलाई अनिवार्य मास्क लगाउने, सेनिटाइजर र सावुन पानीको प्रयोग गरी हात सफाइमा ध्यान राख्ने र भौतिक दुरी कायम गर्दै संक्रमणको जोखिमलाई कम गर्न अनुरोध समेत गरेको छ। 

यस्ता छन् आठ बुँदे माग

(१) गम्भीर विरामीहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सामाग्रीको तत्काल आपूर्ति सुनिश्चित गरियोस्। 

(२) अन्तर्राष्ट्रिय उडानबाट आउनेहरु र सिमा नाकाबाट आउनेहरुलाई व्यवस्थित चेक जाँच र क्वारेन्टाइनको व्यवस्था सुनिश्चित गरियोस्। 

(३) कन्ट्रयाक्ट ट्रेसिङलाई प्रभावकारी बनाई सम्भावित संक्रमितहरुलाई लक्षित गरी पिसिआरको परिक्षण दायरालाई व्यापक गरियोस्। 

(४) कोभिड—१९ को विरुद्ध आम जनतालाई खोप पु¥याउने कामलाई स्पष्ट कार्ययोजना सहित अगाडि बढाइयोस्। खोप आपूर्ति सुनिश्चित गर्न उच्च कुटनैतिक पहल गरियोस्। 

(५) स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ता दिने घोषणा गरेर पनि सरकारले कार्यान्वयन गरेको छैन। यसले गर्दा स्वास्थ्यकर्मीहरुको मनोवल खस्किएको छ। स्वास्थ्यकर्मीहरुको विमा र जोखिम भत्तालाई तत्काल कार्यान्वयनमा ल्याइयोस् । साथै अस्पतालहरुमा स्वास्थ्यकमीहरुको संख्यामा देखिएको कमीलाई ध्यानमा राखी आवश्यक स्वास्थ्यकर्मीहरुको व्यवस्था तत्काल गरियोस्। 

(६) पूर्वाग्रही ढंगले लामो समयदेखि प्राविधिक स्वास्थ्य सचिव रिक्त राख्ने सरकारी रवैयाको भत्र्सना गर्दै तत्काल प्राविधिक स्वास्थ्य सचिवको व्यवस्था सुनिश्चित गर्न माग गर्दछौं। 

(७) देशले फेरि लकडाउनको अवस्था धान्न सक्दैन। यस परिस्थितिमा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउने र भौतिक दुरीमा जोड दिने व्यवस्थालाई कार्यान्वयन गर्न सरकारसँग माग गर्दछ। साथै, कार्यालय तथा अन्य कार्यस्थलमा स्वास्थ्य मापदण्ड सुनिश्चित गर्ने र अनुगमनलाई मजबुत गर्न समेत माग गर्दछौं। 
 
(८) समग्रमा कोभिड—१९ को रोकथाम र उपचारका सम्बन्धमा कुरा मात्र गर्ने काम नगर्ने प्रवृत्ति छोड्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछौं। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.