महामारीमा ४८ हजार बढीले देश छोडे

|

काठमाडौं : कोरोना भाइरसले करिब डेढ वर्षदेखि विश्वलाई त्रासमा पारिरहेको छ। अहिले पनि कतिपय मुलुकमा दोस्रो चरणको भाइरस देखिएर आर्थिक क्रियाकलाप ठप्पै छ। धेरै मुलुकमा आयात निर्यात व्यापार, मनोरञ्जन तथा शिक्षा लगायतका धेरै क्षेत्रमा निकै असर परिसकेको छ।

नेपालमा पनि कोरोना महामारीले असर नगरेको कुनै क्षेत्र छैन। शिक्षा, पर्यटन, व्यापार अन्य रोजगारका क्षेत्रमा असर पर्दा धेरैले रोजगारी पनि गुमाए। महामारीले वैदेशिक रोजगारका लागि उडेर जाने धेरै वायुयान कम्पनीका जहाज घटे। आकाश रित्तो मात्र भएन यसपटक धेरै आमाहरूको काख पनि रित्तियो। धन कमाउने आशामा तेस्रो मुलुक गएका कयौं कामदार रित्तो हात फर्कन बाध्य भए।

महामारीले सबैभन्दा बढी असर वैदेशिक रोजगारमा परेको छ। वर्षेनी करिब दुई लाख मानिस रोजगारको लागि विभिन्न मुलुक जाने गर्थे। कोरोनाकै कारण रोजगारमा जानेको संख्यामा चार गुणाले कमी आएको छ। तीन वर्ष यताकै सबैभन्दा कम कामदार रोजगारका लागि विदेश गएका छन्। 

चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा खाडीलगायत अन्य मुलुकमा ४८ हजार ९ सय ४९ ले देश छोडेका छन्। जबकी अघिल्लो आर्थिक वर्ष ०७६/०७७ मा सोही अवधिमा एक लाख ९३ हजार आठ सय ८० कामदार रोजगारका लागि विभिन्न मुलुकतर्फ गएका थिए। आर्थिक वर्ष ०७५/०७६ मा सोही अवधिमा एक लाख ५६ हजार ९४ कामदार बाहिर गएका थिए।

बैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृतिको लिनेको संख्या ७४.८ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष २४.२ प्रतिशतले बढेको थियो। पुनः श्रमस्वीकृति लिनेको संख्या ६५.२ ले घटेको छ। 

पछिल्लो आठ महिनामा युएईमा १४ हजार २ सय ४७, साउदी अरब ११ हजार ८ सय ६१, कतार ९ हजार ५ सय ५७, मलेसिया दुई हजार सात सय ४४, बहराइन एक हजार चार सय २९, रोमानिया एक हजार एक सय ७३, कुवेत एक हजार १२, ओमन आठ सय ८०, जोर्डन आठ सय ५७, माल्दिभ्स सात सय ७५, अफगानिस्तान सात सय २१, साइप्रस ६ सय २७, जापान पाँच सय १५, टर्की चार सय ७७, पोल्याण्ड दुई सय ९१, माल्टा एक सय ६५, साउथ कोरिया १३, इजरायल चार, लेबनान एक र अन्य मुलुकमा एक हजार ६ सय कामदार गएका छन्।

विभिन्न समयमा वैदेशिक रोजगारमा गएकाहरूमा यस वर्ष ६ सय १५ जनाले ज्यान गुमाएका छन्। युएईमा ७३, साउदी अरेबिया एक सय ७०, मलेसिया दुई सय १४, कतार ९९, दक्षिण कोरिया पाँच, रोमानिया दुई, ओमन एक, लेबनान एक, कुवेत २५, जोर्डन तीन, जापान दुई, इजरायल एक, साइप्रस दुई र बहराइन ११ जनाको मृत्यु भएको वैदेशिक रोजगार बोर्डले जनाएको छ।

मृतकका आफन्तलाई आर्थिक सहयोग स्वरुप करिब २८ करोड रुपैयाँ वितरण गरिएको बोर्डका प्रवक्ता दीनबन्धु सुवेदीले जानकारी दिए। उनका अनुसार ७९ जना अंगभंग भएका छन्। वैदेशिक रोजगार छात्रवृत्ति अन्तर्गत एक हजार पाँच, ९४ वटा शव झिकाइएको र ७८ मृतकका आफन्तलाई सान्त्वना रकम स्वरुप ३९ लाख रुपैयाँ दिएको छ। विभिन्न मुलुकमा अलपत्र परेका तीन सय २६ कामदारलाई उद्धार गरिएको छ। 

६ खर्ब रेमिटेन्स भित्रियो

चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा ६ खर्ब ४२ अर्ब १४ करोड बराबरको विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत फागुन मसान्तसम्मको आर्थिक विवरणमा विप्रेषण आप्रवाह ८.६ प्रतिशतले वृद्धि भएको जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले बढेको थियो।

वैदेशिक रोजगार खुलाउन सरकारबाट पहल भएन

वैदेशिक रोजगारको इतिहासमै व्यवसाय यसरी ठप्प भएको पहिलोपटक रहेको वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष विष्णु गैरेले बताए। महामारीले वैदेशिक रोजगारीको आकाशमा कालो बादल छाएको उनले बताए। व्यवसायीलाई सरकारले पनि सहयोग नगरेको उनले गुनासो गरे।

‘विभिन्न देशमा श्रमिक पठाउन सरकारले कुनै पनि पहल नगर्दा समस्या भएको छ’ गैरेले भने,‘मलेसिया, कुवेत लगायत बन्द छ। कतार र साउदी मात्र खुलेको छ। यस वर्ष वैदेशिक रोजगारीको लागि निलो आकाशमा कालो बादल मडारिरह्यो।’  

युएईमा भिजिट भिसामा धेरै गएका छन्। तिनीहरूले उतै काम पाउने भएकाले त्यसलाई सरकारले नियमन गरेर रोक्न नसक्दा व्यवसायीले पाउने कोटा गुमेको उनी बताउँछन्। पछिल्लो समय भारतीय नागरिक नेपाललाई ट्रान्जिट बनाइ साउदी जाने हुँदा पनि नेपाली कामदार र व्यवसायीलाई असर पर्ने गैरेले बताए।

३० प्रतिशतको श्रमस्वीकृति

यस वर्ष वैदेशिक रोजगारमा जानेका लागि सुखद नरहेको वैदेशिक रोजगार कार्यालय ताहाचलका प्रवक्ता छत्र बहादुर शाह बताउँछन्। उनका अनुसार ३० प्रतिशत कामदारको श्रमस्वीकृति भएको छ।

‘युरोपबाट आउने माग ठप्प छ। साउदी र कतारको लागि मात्र श्रम स्वीकृतिका लागि आएका छन्’ शाहले भने,‘कुवेतमा घरमा काम गर्नेहरू मात्र श्रमस्वीकृति लिएर गए।’  क्वारेन्टिनमा बस्न नपर्ने र कतारमा क्वारेन्टिनमा बस्न पाउने भएपछि श्रम स्वीकृति गरेर गएको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.