|

हरेक देशका आ-आफ्नै परम्परा एवम्‌ रीतिथिति हुन्छन्। मौलिक संस्कृति र चालचलन हुन्छन्। त्यस्ता कतिपय संस्कृति परम्परा र मान्यताहरू एउटा देशबाट अर्को देशमा फैलिन्छन् भने केही आफ्नै क्षेत्रमा सीमित हुन्छन्।

यी सबै कुराले व्यक्ति, समाज र राष्ट्रलाई बचाउँछ, चिनाउँछ र क्रमश: समुन्नत मार्गमा डोहोर्‍याउँदै लान्छ।

तिनलाई विस्तार हुन उस्तै भू-बनोट, हावापानी, वनस्पति र ग्रहणशील समाज पनि चाहिन्छ। यस्ता कुराले आपसी सद्‌भाव र प्रेम बढाउँछन्‌। जसका माध्यमबाट शान्ति, विकास र समृद्धिको अकाट्य मार्ग प्रशस्त हुन्छ।

जबरजस्ती विस्तार गर्न वा हटाउन खोजिएका उत्सव, पर्व, धर्म र परम्पराका नाउँमा विश्वमा ठूलाठूला लडाइँ/झगडा र त्यसकारण उब्जिएका मनमुटावले अन्तरदेशीय युद्ध पनि भएका छन्

नेपालमा मौलिक परम्परामा रहेका शाक संवत्‌, नेपाल संवत्‌, गोरख संवत्‌, किरात येले संवत्‌, चासोक तङनाम लगायत विभिन्न जातजाति र सम्प्रदायका संवत्‌ पनि प्रचलनमा छन्।व्यावहारिक प्रयोग हुन नसके पनि तिनको संरक्षण र मौलिकता जोगाउन भुल्नु हुदैन। ति नेपालकै साँस्कृतिक धरोहर हुन् ।  पछिल्लो कालखण्डमा ईसाइ संवत्‌ दुनियाँमा विस्तार हुँदै गरेको छ। ईसाइ संवत अन्तराष्ट्रिय रुपमा मान्यता पाउँदै आएको सन्दर्भमा त्यसको अपरिहार्य ठहर्ने  यथास्थानमा मात्र प्रयोग गर्दा उचित हुन्छ।

यस ग्रगोरियन पात्रो अनुसार चल्ने पात्रोले नेपाल र नेपालजस्ता अल्पविकसित र विकासशील राष्ट्रका कतिपय संवत्‌लाई पाखा लगाउँदै जान थालेको छ। तथापी; हालसम्म चलनचल्तीका लागि सर्वमान्य रूपमा नेपालमा विक्रम संवत्‌ नै सहज हिसाबले प्रचलित छ।

विक्रम संवत्‌को ऐतिहासिकता

विक्रम संवत्‌ हिमवत्खण्ड एकीकरणपूर्व नेपालका विभिन्न साना राज्यहरूमा प्रचलनमा रहेको थियो। नेपालको एकीकरण भएपछि पनि विक्रम संवत्‌ नै नेपालको राष्ट्रिय संवत्‌को रूपमा स्थापित भयो।

विक्रम संवत्‌ नेपालको संवत्‌ नै होइन भन्ने दाबी पनि समाजमा नभएका होइनन्‌। यसबारेका तथ्यहरू उजागर गरिनु आवश्यक छ। किनभने, नेपालीलाई विभाजन गर्ने र रमाइलो मान्नेहरूबाट हामी सावधान हुनैपर्छ।

एकीकरण अभियानमा काठमाडौं उपत्यका समावेश गरेपछि पृथ्वीनारायण शाहले विक्रम संवत्‌ १८२५ मा वसन्तपुर दरबारमा राखेको अभिलेखमा- 'राजा पृथ्वीनारायणको वंश गुहृयकाली र पशुपतिका दुई पाउका धुलाका प्रसादले स्थिर भइरहोस्' उल्लेख गरेका थिए।

हुनत त्यो भन्दा धेरैअघि लिच्छवी शासनकालमा निर्मित हरिसिद्धि मन्दिरमा विक्रम संवत्‌ ७११ उल्लेख भएको वंशावली छ र विक्रम संवत्‌ ९४५ मा हरिसिद्धि नाटक मञ्चन भएको हरिसिद्धि उपपुराणमा उल्लेख रहेको ऐतिहासिक दस्तावेज लगायत विकिपिडियामै पाइन्छ। जयस्थिति मल्लको पालाको सुवर्णपत्रमा 'विक्रम राजवर्ष १४४८ श्रीमत नेपालीकेः श्रेयोस्तु' उल्लेख छ भनिन्छ।

मोरङका राजा हरिश्चन्द्र सेन र वृषसेनको स्याहामोहरमा विक्रम संवत्‌ १७१९ पौष वदी ४, मकवानपुरका राजा मानिकसेनले विक्रम संवत्‌ १७८४ कार्तिक शुदी ७, विजयपुरमा बुद्धिकर्ण राईले विक्रम संवत्‌ १८२४ नेपाली भाषामा लेखेका कैयौँ प्रमाणहरू भएको कुरा इतिहासविद् शंकरमान राजवंशीलिखित पुरातत्व सङ्ग्रह-२०१८ मा प्रकाशित छ।

फर्पिङमा कनकेशरको ढोका फेरेर मुकुट चढाएको अंकित अभिलेखमा विक्रम संवत्‌ १२९७ उल्लेख छ। गोरखाको रामेश्वर मन्दिरस्थित रामशाहको अभिलेखमा विक्रम संवत्‌ १६९३ उल्लेख छ। अछामको वरदादेवी मन्दिरमा विक्रम संवत्‌ १७७९ पौष उल्लेख छ।

भक्तपुर दरबार नजिकै गहिरो धाराको पश्चिमपट्टि भित्तामा विक्रम संवत्‌ १७३५ र भक्तपुर दरबारको तलेजु चोकको देवद्वारको तोरणको स्वर्ण पट्टामा विक्रम संवत्‌ १७४१ र भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा विक्रमाब्द १७६४ साथै नेपाल संवत्‌ ८२८ माघ उल्लेख छ।

भक्तपुर राजदरबारको कुमारी चोकमा जितामित्र मल्लको अभिलेखमा विक्रम संवत्‌ १७३४ उल्लेख भएको कुरा नयनाथ पौडेलले अभिलेख संग्रहमा उल्लेख गरेका छन्। राजा भूपतेन्द्र मल्लले विक्रम संवत्‌ १७६३ उल्लेख गरेको कुरा भूवनलाल प्रधानले पनि उल्लेख गरेका छन।

जयप्रकाश मल्लले विक्रम संवत्‌ १८१४ मा पृथ्वीनारायणलाई नेपाली भाषामा धर्मपत्र गरी दिएको कुरा इतिहासविद् नयराज पन्तले 'इतिहास संशोधनको प्रमाण प्रमेयमा उल्लेख गरेको पाइन्छ।

विक्रम संवत्‌ नेपालको राष्ट्रिय संवत्‌को रूपमा प्रचलित हुँदै आएकाले प्रधानमन्त्री जंगबहादुरले जारी गरेको मुलुकी ऐनमा विक्रम संवत्‌ १९१० नै उल्लेख गरेको प्रष्ट बुझ्न सकिन्छ।

विक्रम संवत्‌ १९३७ मा भारत गुजरातका विद्वान खोजकर्ता पं.भगवानलाल इन्द्रजी नेपालमा आई यहाँबाट अभिलेख खोजेर लिच्छविकालमा उल्लेखित संवत्‌हरूलाई विक्रम संवत्‌ ठहर्‍याएका थिए।

त्यसैगरी, कलकत्ता विश्वविद्यालयका इतिहासका प्राध्यापक राधागोविन्द बासकले भारतको उत्तरपूर्वी भागबारे इतिहासमा लेखेका छन्‌ - 'मानदेवको पालाको संवत्‌ ३८६ को चाँगुको अभिलेखको संवत्‌ 'विक्रम संवत्‌ हो। यसरी विक्रम संवत्‌ ३८६ देखि प्रारम्भ भएर चपली गाउँमा रहेको अभिलेखमा लेखिएको संवत्‌ ४८९ सम्मका संवत्‌ विक्रम संवत्‌ हुन्। ' 

शुभकामना ! मुरी मुरी शुभकामना !

इतिहासका अनेक पाटा समेटेर नेपाल, नेपाली समाज र माटोको पहिचान बन्दै आएको विक्रम संवत्‌को नयाँ वर्ष २०७८ आज शुरू हुँदैछ।

ओहो ! २०७७ त भागाभागमा बित्यो। कोरोना भाइरसयुक्त सुरुङमा पसेको २०७७ सालले नयाँ वर्ष २०७८ लाई पनि सोही सुरुङमा छोडेर गएको छ। यस कोरोनाको कहरबाट विश्व मानव समुदायसँगै हामी पनि मुक्त हुन चाहन्छौं। यद्यपि विभिन्न अवरोध र कष्टका बिच हामीले प्रगतिका केहि पाइला भने अगाडि बढाएका छौं। पाँच बर्ष अघि  भूकम्पको झट्काले थिलथिलो भएका धेरै संरचनाको पुन निर्माण भएको छ ।

विद्युत कटौतीको कालरात्रीबाट बाहिर निस्कँदै गएका छौं। राजनीतिक अस्थिरता र कलहका बिच स्थानीय तथा प्रदेश सरकारले कामको गति लिन नथालेका पनि होइनन्। तर जनअपेक्षा र समयको माग पूरा गर्न राष्ट्रिय एकता र निहित स्वार्थ त्यागेर गम्भिर राजनीतिक सुझबुझ हुनु जरुरी छ।

यसबेला देश स्थिर सरकार र द्रुत विकासको अपेक्षामा छ भन्ने कुरा गत निर्वाचनमा जनताले दिएको मतबाट स्पष्ट भएको बुझ्न नसक्नु राजनीतिक नेतृत्वको कमजोरी शिवाय केही होइन। अबका दिनमा यो कमजोरीबाट ग्रस्त दल र त्यसको नेतृत्वलाई जनमतद्वारा नै बहिष्करणमा पार्दै जानु एक मात्र उपाय हुनसक्छ। समावेशी प्रजातन्त्र, समतामुलक एवं न्यायपूर्ण समाज निर्माणका लागि सक्षम दल कुशल नेतृत्व र राष्ट्रिय चरित्रको विकास पनि अहिलेको आवश्यकता हो। जसले दातामुखी विकासको बदला समयानुकूल र देश सुहाउँदो विकास दिनेछ।

हरेक वर्षजस्तै यसपटकको वसन्त ऋतु प्रकृतिमा उस्तै छ। तर, कोरोनाले निम्तिएको महाव्याधि बीच गतवर्ष २०७७ व्यतित गर्नुपरेको थियो। समृद्धि र विकासका कतिपय सपना अपेक्षाकृत अधुरै रहे भने चरम राजनीतिक कलह र कृषिमा सलहको समेत प्रवेश भयो। घाटा व्यापार र विप्रेषणमा आधारित हुँदै गएको अर्थतन्त्रलाई उद्यम र उन्नत कृषिका माध्यमबाट उकास्ने कुरा योजना विहीन गफबाट निकालेर यथार्थमा परिणत गर्नुपर्ने छ।

जबसम्म उत्पादनशील कर्मठ मानिसको निर्यात गर्नुको साटो मुलुकले तिनका हातले उत्पादन गरेका सामान खाद्यान्न र फलफूल निर्यात गर्ने दिशामा काम शुरु गर्दैन तबसम्म हामी विकासका दृष्टिले कमजोर रहिरहने छौं। गाउँठाउँमा जतासुकै बाटाहरु बनिएका छन् अब ति बाटाहरुबाट विकास आएको त्यसबेला महसुस हुनेछ जुन बेला हामी आफ्नै उत्पादन प्रशोधन गरेर बजारसम्म पुग्न सक्षम हुने छौं।

विगतको समीक्षा र आगतको योजना, आत्म-मूल्यांकन र समग्रमा लेखा जोखा गर्ने कामसँगै नयाँ वर्ष शुरू हुन्छ। हामी पनि यसो गर्न चुक्नु हुदैन। किनभने आफूलाई शुद्धीकरण र सुदृढीकरण गर्ने यो एउटा मौका हो। यो मूल्यांकन समाज र राज्यका नेतृत्वमा रहनेहरूले मात्र होइन, हरेक नागरिकले पनि जिम्मेवार भएर गर्नुपर्छ।

नेपाल, बंगलादेश, थाइल्याण्ड, कम्बोडिया, बर्मा र भारत लगायत देशमा विशेष उल्लासका साथ बैशाख सङ्क्रान्तिदेखि प्रवेश गर्ने नयाँ वर्षको ऐतिहासिकतासँगै कतिपय एशियाली देशहरूमा पुराना पात झरेर प्रकृति अङ्‌कुराउने, वसन्त ऋतुको स्वागत गर्ने र उत्सव मनाउने प्राचीन परम्परा जोडिएको छ। यससँग हाम्रो इतिहास र भूगोल समेटिएको छ। इतिहास, परम्परा, पहिचान र संस्कृति जोडिएको छ। यससँग हाम्रा जात्रा पर्व र कृषि कर्मका अथाह कुरा सम्बन्धित रहेको कुरा वनबाट कुहु कुहु गर्ने कोइलीले समेत बताउँछ। 

परम्परा, संस्कृति र प्रकृति संयोजनको नयाँ वर्षको स्वागत महोत्सवमा सबै सहभागी हुनुपर्छ। शुभकामना आदानप्रदान र सद्‌भाव साझेदारी गरेर राष्ट्रिय एकताको प्रवर्द्धन अभिवृद्धि गर्दै सुख, शान्ति, खुसी र समृद्धिका लागि अग्रसर हुन यो महत्वपूर्ण अवसर पनि हो। यस र यी अर्थहरूमा नयाँ वर्ष २०७८ का अवसरमा सबैमा मंगलमय शुभकामना ! शुभकामना !! शुभकामना !!!

अनन्त शुभकामना...

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.