|

कोरोनाको भुंग्रो बनेको भारत महाराष्ट्रबाट त्यहाँका आन्तरिक र विदेशी मजदुरहरू बाहिरिन थालेका छन्। महाराष्ट्रमा कडा भेरियन्टको कोरोना भाइरस फैलिइरहेको छ। 

त्यहाँ महामारी रोकथाम गर्न भारतीय संविधानको धारा १४४ लागू गरिएको छ। सो धारा लागू गरिएपछि मजदुरहरू राज्यबाट निस्कन थालेका हुन्। 

मुम्बईको लोकमान्य तिलक टर्मिनल समेत अन्य बसपार्क तथा रेल स्टेशनमा घर फर्कन लागेका मजदुरको भीड लागेको छ। 

धारा १४४ लागू भएसँगै कर्फ्यू लागेकाले आफूहरू महाराष्ट्रबाट निस्कँदै गरेको मजदुरहरूले बताएका छन्। बीबीसी हिन्दीका अनुसार कर्फ्यू लागेपछि मजदुरहरूले रोजगारी गुमाएका र खानबस्न समेत समस्या भोगिरहेका छन्। यसैकारण उनीहरू घर फर्किंदै गरेका हुन्। 

अघिल्लो वर्ष पनि कोरोनाको पहिलो लहर फैलिएका बेला भारतका विभिन्न शहरबाट करोडौं मजदुरहरू घर फर्किएका थिए। कोरोना अतिप्रभावित क्षेत्रबाट संक्रमित मजदुरसमेत फर्किएकाले नेपाल र बंगलादेशसम्म कोरोना भाइरस फैलिएको थियो। 

महामारी फैलिएपछि महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले बुधबार बेलुकी ८ बजेदेखि राज्यभर कडा प्रतिबन्ध घोषणा गरेका छन्। संविधानको धारा १४४ बमोजिम उनले यस्तो घोषणा गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.