|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले  २०७७ सालमा सरकारले उल्लेखित प्रगति हासिल गरेको बताएका छन्। प्रधानमन्त्री ओलीले नयाँ वर्ष २०७८ को अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै उनले अनेकन असहज परिस्थितिका बाबजुत २०७७ साल सफल वर्षको रुपमा रहेको बताएका हुन्।

कोभिड १९ को महामारीले विश्व नै आक्रान्त भएको बेला त्यसको असर नेपालका सबै क्षेत्रमा परेको भए पनि २०७७ सालमा ठूला दीर्घकालीन महत्वका काम भएको दाबी गरे। उनले प्रतिकूलताका बीच २०७७ सालमा असाधारण काम भएको र राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा सफलताको वर्ष रहेको  बताए।

कोभिड १९ महामारीसँगै मुलुकमा केही राजनीतिक अस्वस्थता देखापरे पनि गत वर्ष उपलब्धिको वर्ष रहेको उनले बताए। दशकौँपछिको सफलता प्राप्त गर्दै मेलम्चीको पानी काठमाडौं आइपुगेको, अतिक्रमित भूमि फिर्ता, पुनर्निर्माणका कामहरूले पूर्णता पाउने क्रम तीव्र गतिमा बढेको तथा नयाँ नयाँ असाधारण र दुरगामी महत्वका कामहरू बढेको पनि उनले उल्लेख गरे।

उनले आफ्नो भूभागसमेत सामेल गरेर नया नक्सा सार्वजनिक गरेको र यसले राष्ट्रिय गौरव बढाएको र सबैमा आत्मविश्वास बढाएको दाबी गरे। सरकारले सातै प्रदेशमा ठूला ठूला नयाँ औद्योगिक क्षेत्रको शिलान्यास गरेको र लगानीका लागि शान्तिपूर्ण र अनुकूल वातावरण बनेको उनले उल्लेख गरे।

​कोभिड १९ महामारीको प्रतिकूल अवस्थामा पनि अनलाइन र विभिन्न माध्यमका शिक्षण विधि अघि सारेर बालबालिकालाई शिक्षा प्रदान गरिएको र सामाजिक जनजीवनलाई सामान्य अवस्थामा राख्ने प्रयास गरेको दाबी पनि उनले गरे। कोभिड १९ को महामारी कसैका लागि पनि सकारात्मक नभएको भन्दै उनले त्यसबाट अर्थतन्त्रलगायत विभिन्न क्षेत्रमा असर पुर्‍याए पनि सरकारले नागरिकको जीवनरक्षालाई प्राथमिकता दिँदै आएको स्पष्ट पारे।

आशा जगाउने काम भएका छन्...

प्रधानमन्त्री ओलीले जनतालाई आशा जगाउने गरी विकास निर्माणका कामहरू भइरहेको बताए। सरकारले गरेका कामहरू नदेख्ने समूहले निरन्तर जनता भड्काउने प्रयास भइरहे पनि सरकारका क्रियाकलापप्रति आशा र भरोसा जगाउने कामहरू लगातार भइरहेको दाबी उनले गरे।

उनले प्रतिदिन साढे ५ किलोमिटर बाटो बन्ने गरेको, प्रति १२ वटा आवासगृह निर्माण भइरहेको, पूर्वदेखि पश्चिमसम्म पुल बनाउने, करिडोर र लिंकरोड, मध्यपहाडी राजमार्ग (पुष्पलाल), मदनभण्डारी राजमार्ग, पूर्वपश्चिम राजमार्गलगायत राजमार्गको स्तरोन्नति र निर्माणको कम भइरहेको फेहरिस्त प्रस्तुत गरे।

उनले महिनाको १ सय बाट सुरु भएको सामाजिक सुरक्षा भत्ता भत्ता दिनको १ सयमा पुगेको उल्लेख गर्दै उनले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी सामाजिक सुरक्षा भत्तामा वृद्धि गर्ने जानकारी दिए।

५ लाखको संख्यामा सामाजिक सुरक्षा भत्ता लिनेहरुको संख्या थपिएका, २०७५ मंसिर ११ गतेबाट नै मजदुरका लागि योगदानमा आधारिक सामाजिक सुरक्षा भत्ता सुरु गरेको तथा भुकम्पबाट क्षतिग्रस्त धरहरा पुनर्निर्माण भई ११ दिनपछि उद्घाटन गर्ने पनि उनले उल्लेख गरे। उनले भने, 'विभिन्न क्षेत्रमा ठूलो प्रगति गरेका छौँ। पुनर्निर्माण प्राधिकरणले असाधारण काम गरेको छ।'

हवाई मैदान र त्रिभुवन विमानस्थललगायतका विमानस्थलमा नयाँपन ल्याइएको, विद्यालयहरू पुनर्निर्माण हुने क्रम बढेको भन्दै उनले कुनै पनि विकासको श्रेय लिने होडबाजीमा सरकार नलागेको बताए।

उनले भने, 'मेलम्चीको पानी ल्याउने सपनामा जस लिने,श्रेय लिने। हामीलाई जस वा श्रेय लिने होडबाजीमा सामेल हुनु छैन। हामीलाई देशलाई माथि उठाउनु छ। आधुनिकीकरण गर्नु छ। विज्ञान प्रविधिको काम गर्नु छ र देशलाई अघि बढाउनु छ। देशलाई डिजिटल प्रणालीमा लैजानु छ।'

२०७८ सालभित्र सडक बालबालिकाको अन्त्य गर्ने बताएको र त्यो पूरा गर्ने दोहोर्‍याए। सहारा गुमाएका ज्येष्ठ नागरिक र अभिभावक गुमाएका बालबालिकाको सहारा सरकार रहेको भन्दै सबैले सम्मानित जीवन बाँच्न पाउने स्थितिको निर्माण सरकारले गर्ने बताए।

उनले भने, 'यो २०७८ सालभित्र सडक बालबालिका, सडक मानव र सडकमा भिक्षामदेही भन्ने स्थिति अन्त्य गर्ने भन्ने कुराहरु पूरा गर्छौं भनेर भनेका छौँ। २०७७ सालमा नै क्याम्पेन गरेर सडकबालबालिका नरहेको स्थिति बनाइसक्यौँ।'

एसिड आक्रमणविरुद्ध, बलात्कार र बलात्कारपछिको हत्या नियन्त्रण गर्नका लागि सरकारले अध्यादेशमार्फत कडा कानुन ल्याएको भए पनि संसदमा पेश गर्न नदिइएको गुनासो पनि उनले गरे। पुन:स्थापनापछिको संसदको पहिलो बैठक नै चल्न नदिएर अप्रिय र अशोभनीय स्थिति संसदमा देखिएको टिप्पणी उनले गरे।

हिंसा अन्त्य भएको दाबी

२०७६ सालमा पृथकथावादी सोचसहित अघि बढेको समूहलाई राष्ट्रिय राजनीतिमा समाहित गराएको र २०७७ सालमा हिंसाको बाटो लिइरहेको समूहलाई शान्तिपुर्ण मूलधारमा फर्काउन सफल भएकालेले मुलुकबाट हिंसाको राजनीतिको अन्त्य भएको प्रधानमन्त्रीले दाबी गरे।

हिंसाको बाटोमा लागेको समूह राष्ट्रिय राजनीतिको मूलधारमा फर्कनुले राजनीतिक अभिष्ट संवैधानिक र कानुनको मूलधारबाट नै प्राप्त गर्न सकिन्छ भन्ने कुरालाई स्थापित गरेको  बताए।
उनले २०७७ सालमा लुम्बिनीमा ५ हजार क्षमताको सभाहल सञ्चालनमा आएको, गोदाबरीमा ३ हजार क्षमताको सभाहल र संसद् भवन निर्माणको काम भइरहेको उल्लेख गर्दै जनतामा आशा जगाउने ढंगले विभिन्न विकास निर्माणका काम भइरहेको बताए।

लकडाउन हुँदैन, सतर्कता अपनाउन आह्‍वान

प्रधानमन्त्री केपी शर्मा ओलीले र कोरोना महामारीको जोखिम रहेकाले आवश्यक सावधानी अपनाउन आग्रह गरे। उनले कोभिड १९ को महामारीबाट बच्नका लागि स्वास्थ्य सतर्कताका मापदण्ड कडाइका साथ पालना गर्न सबैलाई आह्‍वान गरे। उनले मानवस्वास्थ्य र मानवजीवन नै सबैभन्दा महत्वपूर्ण भएको उल्लेख गर्दै स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्न र चिकित्सकका परामर्शलाई शिरोधार्य र गरि आफुलाई सुरक्षित राख्न आग्रह गरे।

महामारी ह्वात्तै बढेपछि कतिपय विकसित देशहरूले पनि दोस्रो तेस्रो चरणमामा लकडाउन गरिरहेको प्रसंग उल्लेख गर्दै उनले स्वास्थ्य सतर्कताका मापदण्ड प्रयोग गरेर नै महामारी नियन्त्रणमा राखेर सामाजिक आर्थिक क्रियाकलाप सञ्चालन गर्नुपर्छ भन्ने सोचमा सरकार रहेको स्पष्ट पारे।

उनले भने, 'सरकार सकभर लकडाउन गर्ने मनस्थितिमा छैन। कतिपयले आजै लकडाउन हुन्छ। भरे नै लकडाउन हुन्छ। भोलि नै लकडाउन हुन्छ। भन्ने हल्ला चलाएका थिए। तर, सरकार सकेसम्म लकडाउनमा जान चाहँदैन।'

२०७७ सालमा कोभिड १९ महामारीको असरका कारण सामाजिक जनजीवन, अर्थतन्त्र, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रलाई आक्रान्त बनाएको बताए। कोभिड १९ कात्तिकबाट नियन्त्रित गर्दै ल्याएको भए पनि चैतदेखि फेरि बढ्न थालेको उल्लेख गर्दै उनले अर्थतन्त्रलगायत विकासका आकांक्षाहरूमा प्रतिकुल असर नपरोस् भन्नका लागि सबै सजग हुनुपर्ने आवश्यकता औँल्याए।

एमसिसी संसदले अनुमोदन गरोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संसद् सचिवालयमा टेबल गरेको एमसिसी प्रस्ताव छलफलका लागि संसदमा प्रस्तुत गर्नुपर्ने धारणा राखेका छन्। नेपाली कांग्रेस र नेकपा माओवादी सरकारमा हुँदा एमसिसीमा सम्झौता गरिएको उल्लेख गर्दै उनले सरकार सो प्रस्तावबारे संसदमा छलफल होस् भन्ने माग गरिरहेको बताए। उनले सरकारले प्रस्तुत गरिसकेपछि संसदमा निर्णयार्थ प्रस्तुत नगर्नु भनेको असंवैधानिक हुने तर्क गरे।

उनले भने, 'नेपाली कांग्रेस र नेकपा माओवादी सरकारमा हुँदा एमसिसी सम्झौता गरिएको थियो। त्यो निर्णयार्थ हामीले संसदमा टेबल गरेका छौँ। टेबलमा निर्णयार्थ प्रस्तुत गरिएको छैन। हामी त्यसको माग गरिरहेका छौँ। त्यसरी सरकारले प्रस्तुत गरिसकेपछि निर्णयार्थ  प्रस्तुत नगर्ने संवैधानिक अधिकार कसैसँग हुँदैन। त्यो गर्नैपर्ने हुन्छ। तर, संविधान नै नमान्ने, जिद्दी गर्ने प्रवृत्ति हामीले झेलिरहेका छौँ।'

आपसी बैमनश्यता नभई एक भएर अघि बढ्नु आजको आवश्यकता रहेको उल्लेख गर्दै उनले भने, 'फाटोको खेती होइन वैनश्यताको होइन। अनेकता र दूरीलाई हटाएर राष्ट्रिय एकता कामय गर्ने र हाम्रा सम्पूर्ण सामर्थ्य र सहयोगहरू देश विकासका लागि प्रयोग गर्नुपर्ने आजको आवश्यकता हो। त्यस आवश्यकतातर्फ म सबैको ध्यानाकर्षण गराउँछु।'

'मेरो कित्ता' कार्यक्रम शुभारम्भ

प्रधानमन्त्री ओलीले नयाँ वर्षमा सरकारले नयाँ नयाँ कामहरुको थालनी गर्ने बताए। उनले  आफ्नो जग्गा जमिन आफू बसेकै ठाउँबाट हेर्न सक्ने गरि डिजिटल प्रविधि शुभारम्भ सरकारले गरेको बताए।

उनले भने, 'नयाँ वर्षमा हामी नयाँ नयाँ कामहरू थालनी गर्दैछौँ। 'मेरो कित्ता' भन्ने कार्यक्रम। जो किसानहरुका लागि आफ्नै धनीपुर्जा, आफ्नो कित्ता, आफू बसेकै ठाउँबाट एपबाट हेर्न सक्ने गरि मेरो कित्ता कार्यक्रम शुभारम्भ हुँदैछ।'

विभिन्न भूमिकामा रहेर राज्यलाई योगदान पुर्‍याएका र लोकतान्त्रिक आन्दोलनमा योगदान गरेका व्यक्तिहरूलाई प्रतिकात्मक ढंगले सम्मान गर्ने कार्यक्रम रहेको पनि उनले जानकारी दिए।

सरकार नयाँ उत्साह र नयाँ आत्मविश्वासका साथ नया वर्षमा प्रवेश गरेको भन्दै उनले सुरु गरेका कार्यक्रमलाई पूरा गर्ने, अपूर्णतालाई पूरा गर्ने र नयाँ कार्यक्रमहरू सुरु गर्ने बताए।

उनले यसै वर्षभित्र हुम्लाको सिमिकोटलाई सडक सञ्जालसँग जोड्ने, शिलान्यास भएका ३ सय ९७ वटा अस्पतालको निर्माण कार्य अघि बढाउनुको साथै अस्पताल, विद्यालय, विश्वविद्यालय र प्राविधिक शिक्षालयको व्यापक रूपमा निर्माण गरि अघि बढ्ने स्पष्ट पारे। उनले अहिले नेपालीहरूको आत्मविश्वास र मनोबल बढेको दाबी गरे।

आशावादी भएर अगाडि बढ्न आह्‍वान

प्रधानमन्त्री ओलीले सबैको निष्ठा देश र जनताप्रति हुनुपर्ने भन्दै राष्ट्रिय हितलाई रक्षा गर्दै अघि बढ्न सबैलाई आह्‍वान गरे। उनले भने, 'विभिन्न प्रकारका हल्लाहरूका पछाडि नअलमलिन, राष्ट्रनिर्माणका काममा ढुक्कले आत्मविश्वासका साथ अगाडि बढ्न ,निराशा जगाउन खोजिएका प्रयासहरूलाई अस्वीकार गर्न र आशावादी भएर अगाडि बढ्न सबैमा हार्दिक आग्रह गर्दछु।'

उनले न्यायसहितको अन्तर्राष्ट्रिय उत्तरदायित्वसहितको अन्तर्राष्ट्रिय सम्बन्धको पक्षपोषण गर्ने उल्लेख गर्दै विश्वसँग पनि  त्यस्तै शान्ति  र सम्बन्धको अपेक्षा गर्ने स्पष्ट पारे। उनले अबको विश्वलाई भयमुक्त, त्रासमुक्त, समानतायुक्त र सम्मानपूर्वक बाँच्न पाउने विश्व बनाउनका लागि सबैलाई आग्रह गरे।

उनले भने, 'राष्ट्रिय हितको पक्षमा जहिले पनि न्यायोचित र अन्तर्राष्ट्रिय उत्तरदायित्वका पक्षहरूलाई हामीले बिर्सनु हुँदैन। न्यायबिनाको या न्यायरहित राष्ट्रियहित राष्ट्रिय अहंकार हुनसक्छ अथवा अन्यायपूर्ण राष्ट्रियहित हुनसक्छ। त्यस कुरामा हामी सजग हुनुपर्छ।'

सरकारले सामाजिक जीवनको कुनै पनि क्षेत्रलाई नबिर्सेको उल्लेख गर्दै सबैको समस्या समाधानका लागि सरकार सजग रहेको बताए। तात्कालीन सशसस्त्र द्वन्द्वका कारण गाउँमा बस्ने अवस्था नरहेको र विदेशिनुपर्ने अवस्था सृजना भएको उल्लेख गर्दै उनले अब भने नेपालमै उपयुक्त रोजगारी सृजना हुने दाबी गरे।

सम्बोधनको सुरुमा प्रधानमन्त्री ओलीले मुलुकभित्र र बाहिर रहेका सबै नेपालीलाई सुस्वास्थ्य, उन्नति प्रगति र सफलताको शुभकामना दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.