‘प्रतिपक्षी दलले आफ्नो भूमिका नदेखाउँदा चुनाव नजिक’

|

काठमाडौं : ०७७ को सुरुबाटै नेपालको राजनीतिक परिस्थिती भद्रगोल बनिरहेको छ। त्यो परिस्थितीले अझै स्पष्ट निकास लिन सकेको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अर्को सरकार बनाउन तिव्र कसरत भइरहेपनि त्यसले सार्थकता नपाउँदा राजनीतिक निकास हुन नसकेको हो। 

ओलीविरुद्ध साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रहँदा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लागिरहेका थिए। तर, नेकपाको एकता भंग भएर एमाले र माओवादी केन्द्रमा फर्केपछि पनि प्रचण्डले ओलीविरुद्धको मोर्चाबन्दी रोकेका छैनन्। 

तर, प्रचण्डको प्रयासमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले अरुचि देखाउँदा तत्कालै पूरा गर्न सकस परिरहेको छ। गठबन्धन सरकारको टुंगो नलाग्दा प्रचण्डले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिन सकेका छैनन्।  
 
ओलीले पुष ५ गते संसद् विघटन गरेपछि थप बिच्किएका प्रचण्डले सार्वजनिक रुपमै कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा अध्यक्ष महन्थ ठाकुरलाई सरकारको नेतृत्व गरेर मिलेर जान आग्रह गरिरहे। 

कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, गगन थापालगायतको दबावपछि देउवाले ओलीविरुद्ध अविश्वासको प्रस्ताव लाने निर्णय गरे तर, त्यस बिषयमा देउवाले अझै खुलेर रुची देखाएको पाइएको छैन। 

जसपाको हातमा सत्ताको चाबी !

कांग्रेस-माओवादी-जसपा गठबन्धनको सरकारको चाबी चौथो दल जसपासँग छ। तर, ओली सरकार ढाल्ने कि निरन्तरता दिने भन्ने बिषयमा जसपा आफ्नै विवादमा रुमल्लिएको छ। 

त्यसो त ओली जसपाले राख्दै आएको माग सम्बाेधन गर्न  सकारात्मक देखिएका छन्। जसपाले रेशम चौधरीको रिहाइ, थरूहट र मद्येश आन्दोलनको मुद्दा फिर्ता, संविधान संशोधन लगायतको माग राख्दै आइरहेको छ। 

ओलीले यी माग पूरा गरेमा ओली सरकारलाई सहयोग गर्न सक्ने नेता महतोले बताउँदै आएका छन्। हाताहाती आफ्नो माग सम्बोधन गरेको अवस्थामा यही सरकारलाई सहयोग गर्ने जसपाको अडान छ। 

यता, अदालतको फागुन २३ गतेको फैसलापछि आ–आफ्नो बाटोमा फर्किएको भएपनि ओलीविरुद्धको कदममा माधव नेपालले अघोषित रुपमा प्रचण्डलाई सहयोग गरिरहेका छन्। 

कांग्रेस प्रमुख प्रतिपक्षी दल भएकाले नेतृत्वसहितको प्रस्ताव गरेपछि गठबन्धन सरकारको बाटो खुलेको माओवादी नेता देवेन्द्र पौडेल बताउँछन्।
 
‘कांग्रेसले आफ्नो नेतृत्वको सरकार बनाउने पार्टीबाट नै निर्णय गरिसकेको छ। हामीले त्यसको स्वागत गरिसकेका छौँ’ उनले भने, ‘अब जसपाले पनि पार्टीबाट आधिकारिक रुपमा निर्णय गरेपछि नयाँ सरकार गठन धेरै दिन पर जाँदैन भन्ने अपेक्षा गरेका छौँ।’

देउवा-प्रचण्ड अर्थपूर्ण भेटवार्ता 

ओली नेतृत्वको सरकार ढाल्ने बिषयमा माओवादी अध्यक्ष प्रचण्ड निरन्तर कांग्रेस र जसपासँगको छलफलमा लागिरहेका छन्। त्यही बिषयमा छलफल गर्नका लागि प्रचण्डले कांग्रेस सभापति देउवासँग मंगलबार साँझ भेटवार्ता गरे। ​

‘उहाँहरु बीचको भेटवार्तामा गठबन्धनको सरकार निर्माणको वातावरण कसरी निर्माण गर्न सकिन्छ भनेर छलफल भयो’ उनले भने। 

गठबन्धनको सरकार निर्माणमा कांग्रेस सभापति देउवा पनि सकारात्मक रहेको उनले दाबी गरे। ‘ओलीविरुद्धको सरकार बनाउन देउवा पनि सकारात्मक हुनुहुन्छ। त्यसैले उहाँले पार्टीबाट आधिकारिक निर्णय गरेर आउनुभएको छ’ उनले भने। 

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्ने भन्ने बिषयमा छलफल नभएको बताउँछन्। ‘कांग्रेस प्रमुख प्रतिपक्षी दल हो। त्यसैले उसले नेतृत्वको दाबी गर्नु स्वभाविक हो। अब गठबन्धनको सरकार बनाउन दलहरुबीच सहमति बनेपछि कसको नेतृत्वमा जाने भन्ने बिषयमा तीन दलको सहमतिअनुसार हुन्छ’ उनले भने। 

त्यसो त देउवाले प्रचण्डलाई भेट्नुअघि जसपा संघीय परिषद् अध्यक्ष भट्टराई र अध्यक्ष यादवबीच भेटवार्ता गरेका थिए। सरकारको नेतृत्व गर्नका लागि देउवा अग्रसर नभएको भन्दै जसपाका नेताहरुले आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्ने मत राखिरहेका छन्। 

यी हुनसक्छ निकासको विकल्प 

अहिलको भद्रगोल राजनीति निकासका लागि तीन विकल्प रहेको राजनीतिक विश्लेषक पुरञ्जन आचार्य बताउँछन्। उनका अनुसार पहिलो गठबन्धनको नयाँ सरकार, दोस्रो ओली सरकारकै निरन्तरता र तेस्रो निर्वाचनमा जानुको विकल्प छैन।

‘संवैधानिक ढंगले नै अहिलेको समस्या समाधान गर्नुपर्छ। प्रधानमन्त्रीको विकल्प खोज्ने जिम्मेवारी कांग्रेस, माओवादी र जसपाको हो। एउटा विकल्प त्यहाँ भेटिन्छ’ उनले भने, ‘अर्काे भनेको प्रधानमन्त्री स्वयमले अल्पमतको सरकारको नेतृत्व गरिराख्नुभएको छ। उहाँले विश्वासको मत लिनुपर्छ। संसदमा विश्वासको मत पाउनुभयो भने उहाँ अगाडि बढ्न सक्नुहुन्छ।’

राजनीतिक निकासको लागि संविधानभन्दा बाहिर जान नमिल्ने उनको धारणा छ।  

उनले भने, ‘अब संविधान बाहिर गएर निकास दिन मिल्दैन। ओली नेतृत्वको सरकारबाट धेरै पार्टीलाई चुनावमा जाने रुची छैन। रुची नै नभएपनि उहाँहरु ओली सरकारको विकल्पमा शक्ति बनाउन पनि सक्नुभएको छैन।’

माओवादीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिन नसके देश चुनावमा जाने उनको भनाई छ। 

‘माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको खण्डमा विश्वासको मत लिन नसके देश चुनावमा गइहाल्छ। त्यसैपनि अब चुनाव धेरै टाढा छ जस्तो मलाई लाग्दैन। प्रतिपक्षी दलले आफ्नो भूमिका खेल्न नसके देश चुनावमा जानुको विकल्प नै छैन’ उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.