भित्री सडकमा धेरै जोखिम, चैतमा मात्रै २६ को मृत्यु

|

चितवन : चितवनमा ट्राफिक जनशक्ति अभाव बर्सेनि बढ्दै गएको छ।

घर भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको जनशक्ति २२ वर्षदेखि बढ्न सकेको छैन। पर्याप्त जनशक्ति नहुँदा दुर्घटना न्यूनीकरणमा चुनौती थपिएको छ।  

एउटा महानगरपालिका समेत रहेको जिल्लामा अहिले ट्राफिकको ४५ जना मात्रै जनशक्ति छ। यहाँको सवारी चाप र सडक सञ्जालअनुसार कम्तीमा १५० जना ट्राफिक प्रहरी चाहिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्ट बताउँछन्। 

उपलब्ध ट्राफिक जनशक्तिलाई राजमार्ग र शहरी क्षेत्रमा खटाउनुपर्ने भएकाले भित्रि सडकमा दुर्घटनाको जोखिम बढ्दै गएको छ। ट्राफिक प्रहरीका अनुसार चालू आर्थिक वर्ष ०७७/७८ को फागुन मसान्तसम्म सवारी दुर्घटनाबाट १०५ जनाको मृत्यु भएको छ। चैतमा मात्रै २६ जनाको मृत्यु भएको भट्टले बताए।

जिल्लाका भित्री क्षेत्रमा कालोपत्रे सडक निर्माण हुने क्रम बढे पनि ती सडक दुर्घटना न्यूनीकरणका लागि उपयुक्त नभएको उनले बताए। ट्राफिकको तथ्यांकअनुसार चालू आवको फागुन मसान्तसम्ममा सवारी दुर्घटनामा परी मृत्यु भएका १०५ जनामध्ये ४६ जनाको मृत्यु भित्री सडकमा भएको हो। 

सवारी दुर्घटनाबाट पूर्वपश्चिम राजमार्गमा ३६ जना, नारायणगढ–मुग्लिङ सडकखण्डमा ९ जना, पृथ्वी राजमार्ग र भरतपुर नगर (रिङ रोड)मा ७÷७ जनाको मृत्यु भएको हो। गत आर्थिक वर्ष ०७६/७७ मा जिल्लामा सवारी दुर्घटनाबाट १०७ जनाको मृत्यु भएको थियो। जसमा २९ जनाको मृत्यु भित्री सडकमा भएका दुर्घटनाबाट भएको हो। 

‘भित्री सडकखण्ड साँघुरा छन्, सुरक्षाका अन्य पूर्वाधारहरु पनि छैनन्’, उनी भन्छन्, ‘जिल्लामा ट्राफिक जनशक्तिको उपलब्धता पनि कम छ। भित्री सडकमा निगरानी पनि कम हुने भएकाले दुर्घटना अलि बढी भएका छन्।’ चैतमा यात्रु बहाक सवारी साधन धेरै दुर्घटना भएकाले मृत्यु हुनेको संख्या उच्च भएको उनले बताए। 

चैत २९ गते राप्ती नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो। कामदार चढेको ट्याक्टर अनियन्त्रित भएर सडकबाट २०० मिटर तल खस्दा घटनास्थलमा ५ जना र पछि उपचारका क्रममा एक जनाको मृत्यु भएको थियो। 

सोही दिन भरतपुर–१९ रामपुरमा म्याजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो। चैत १४ गते भरतपुरको पकौडीमा यात्रुबाहक बसमा स्कुटर ठोक्किँदा तीन जनाको मृत्यु भएको थियो।

सडकको दुवै छेउमा खाल्डो खनेर छाड्दा साँघुरो बाटोका कारण स्कुटर बसमा ठोक्किन पुगेको थियो। यी प्रमुख तीन वटा घटनाका कारण चैतमा दुर्घटनाबाट मृत्यु हुनेको संख्या बढेको हो। 

‘मुख्य बजार क्षेत्रमा पनि जनशक्ति नपुगेर ट्राफिक व्यवस्थापन गर्न कठिन भइरहेको छ’, ट्राफिक प्रमुख भट्ट भन्छन्, ‘हामीले नसोचेको भित्री सडकमा समेत सवारी साधन गुडेका छन्। त्यस कारण हामिले मात्रै दुर्घटना कम गर्न सक्ने अवस्था छैन।’ जनशक्ति नबढ्दा सवारी दुर्घटना अझै बढेर जाने चुनौती रहेको उनी बताउँछन्।

३३ हजार बढीलाई कारबाही

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चालू आवको फागुन मसान्तसम्म ट्राफिक नियम उल्लघंन गर्ने ३३ हजार बढी सवारी साधनलाई कारबाही गरेको छ। ३३ हजार ६२ वटा सवारी साधनलाई कारबाही गरी दुई करोड ७८ लाख १६ हजार ५०० रुपैयाँ जरिवाना असुल गरिएको ट्राफिक प्रमुख भट्टले बताए।

गत आव ०७६/७७ मा ट्राफिक नियम उल्लंघन गर्ने ३० हजार ८५९ सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरी दुई करोड ३१ लाख चार हजार रुपैयाँ जरिवाना असुल गरेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.