|

विराटनगर : पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित बोक्रे चोक जाने सडक आजभोलि निकै चर्चित बनेको छ। दैनिक मानिसहरू भेला भई फोटो खिच्ने तथा 'टिकटक' बनाउनाले यो सडकले चर्चा कमाउँदै गयो। जसका कारण सडकको नामै ' टिकटक' रोड बन्‍न पुग्यो। 

करिब १ किलोमिटर कालोपत्रे भएको यो सडक पथरी र उर्लाबारीको सिमानामा पर्छ। झापा, सुनसरी, मोरङ साथै धनकुटाबाट सेल्फी रोडमा फोटो र भिडियो खिच्ने मानिसहरूको भीडले यो सडक 'रातारात' चर्चित बन्यो।

विशेष गरी शनिबार र विभिन्न पर्वमा पथरीको चौतारी सामुदायिक वन क्षेत्रभित्र पर्ने यो सडकमा फोटो र भिडियो खिच्नकै लागि मानिसहरू आउने गर्छन्। 

नेपालमा कोरोना कहर सुरु हुन थालेपछि सरकारले गत चैतमा देशव्यापी लकडाउनको घोषणा गरेपछि मानिसहरू घरभित्र थुनिन बाध्य भएका थिए। तर लडकडाउन खुलेसँगै यसले भने एकाएक चर्चा पायो। थुनिएर बसेका मानिसको रोजाइमा यो चिल्लो सडक पर्न थाल्यो। फलतः यसले 'सेल्फी रोड'को पनि परिचय थप्यो।

टिकटक बनाउनकै लागि यहाँ आउनेले यसको निःशुलक विज्ञापन गरिदिएका कारण यो सडक चर्चाको शिखरमा पुगेको स्थानीय सञ्चारकर्मी एलिना दियाली बताउँछिन्।  

आज बुधबार २०७८ सालको नयाँ वर्षको दिन यहाँ समय बिताउन र टिकटक बनाउनकै निमित्त झापा, मोरङ, सुनसरीलगायत स्थानबाट उल्लेख्य मानिस आएका दियालीले बताइन्।

सडकमा मानिसहरूको चाप बढ्न थालेपछि यहाँ आसपासमा सञ्चालित व्यापार पनि फस्टाउन थालेका छन्। आइसक्रिम, चटपटेका ठेलाका साथै विभिन्न खेलौनाका सामग्रीहरूको स्टलसमेत राखिएका छन् यहाँ।

अहिले दैनिक व्यापार बढ्दै गएको व्यापारी राजकुमारी मण्डल सुनाउँछिन्। उनी खेलौना व्यापारका लागि उर्लाबारीबाट आउने गरेको उनले सुनाइन्। 'आजभोलि खुब व्यापार हुन थालेको छ, 'हाँस्दै उनी भन्छिन्, 'विशेष शनिबार र अन्य पर्वको समयमा दैनिक सातदेखि आठ हजारसम्मको व्यापार हुन्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.