|

बर्दिया : बर्दिया निकुञ्जमा २६ औँ वन्यजन्तु सप्ताह आजबाट सुरु भएको छ।

समन्वय, सहकार्य र सहअस्तित्व भन्ने नारासहित यस वर्ष वन्यजन्तु सप्ताह मनाउन लागिएको बर्दिया निकुञ्जका सहायक संरक्षण अधिकृत असीम कुमार थापाले जानकारी दिए।

वैशाख ७ गतेसम्म १ हप्ताको अवधिमा विभिन्न कार्यक्रम सञ्चालन गरिने तयारी छ। 

आज एक कार्यक्रमबीच सप्ताहको उद्घाटन गरिएको हो। कार्यक्रममा एनटिएनसी, नागा, सिबिएपीयु, सेन्स नेपाल, महिला वातावरण उपसमितिलगायत संघसंस्थाको उपस्थिति थियो।

भोलि(बिहीबार) चराहहरूको अवलोकन तथा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। 

यस्तै सप्ताहको तेस्रो दिन राजमार्ग सरसफाइ गरिने जनाइएको छ। ४ गते चित्रकला र निबन्ध लेखन प्रतियोगिता तथा वन्यजन्तुबाट पीडित एकल महिलालाई राहत वितरण गरिने छ। ५ गते संरक्षण शिक्षा वन्यजन्तुको आनीबानीसम्बन्धी अन्तरक्रिया, फायर लाइन सरसफाइ तथा सामुदायिक वन व्यवस्थापन तालिम सञ्चालन गरिने छ। 

६ गते फुटबल प्रतियोगिता र मानव वन्यजन्तुबीच द्वन्द्व न्यूनीकरणका लागि अन्तरक्रिया गरिने छ भने सप्ताहको अन्तिम दिन प्रकृति र संस्कृतिसम्बन्धी फोटो प्रदर्शनी र वन्यजन्तु सप्ताह समापन गरिने सहायक संरक्षण अधिकृत थापाले बताए। 

मानव र वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि वन्यजन्तु सप्ताहले सहयोग पुग्ने अपेक्षा गरिएको छ। यस्तै उनले मध्यवर्ती क्षेत्र आसपासका बस्तीमा मानव वन्यजन्तु आक्रमणका घटना बढिरहेकाले सावधानी अपनाउन पनि आग्रह गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.