जसपाले पनि बनायो वार्ता समिति

|

पोखरा : नेपाली कांग्रेस गण्डकी प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्तावको तयारीमा लागेको छ।  

अविश्वासको मत लिन भोलि (बिहीबार) या शुक्रबार अविश्वास प्रस्ताव दर्ता गरिने कांग्रेसका सांसद कुमार खड्काले थाहाखबरलाई जानकारी दिए। भोलि ११ बजे अन्य दलका सांसदलाई पनि हस्ताक्षर गर्न बोलाएको उनले बताए। 

‘भोलि सबै सांसदलाई बोलाएका छौँ। केही प्राविधिक काम बाँकी छ। सकियो भने भोलि, नभए पर्सि अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेका छौँ’, सांसद खड्काले टेलिफोनमा भने। 

अविश्वासको प्रस्ताव दर्ता गर्नुअघि बहुमतको हस्ताक्षर संकलनको प्रयास गरिने खड्काले जानकारी दिए। ‘हामीले सकेसम्म ३१ जना सांसदको हस्ताक्षर गराएर प्रस्ताव दर्ता गर्नेछौँ। कोही आउन सक्नुभएन भने एक चौथाई पुर्‍याएर गर्छाैं’, उनले भने। 

गण्डकी प्रदेशमा एमालेका २७, कांग्रेसका १५ र माओवादीका १२ र जनमोर्चाका ३, जसपाका २ र २ ज‍ना स्वतन्त्र सांसद छन्। गण्डकीमा नयाँ सरकार गठन गर्न अर्थात् अविश्वास प्रस्ताव पास हुन् वा विश्वासको मत लिन ३१ सांसद आवश्यक पर्छ। 

कांग्रेसले माओवादी, जसपा र जनमोर्चाको साथ लिएर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न लागेको हो। 

अविश्वास प्रस्ताव पास भए कांग्रेसका कृष्णचन्द्र नेपाली मुख्यमन्त्री

अविश्वास प्रस्ताव पास भएमा कांग्रेसका सांसद कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउने कांग्रेसले सहमति जुटाएको छ। मुख्यमन्त्रीको दाबी गर्न सक्ने माओवादी केन्द्रले नेपाली कांग्रेसको नेतृत्व मान्न तयार भएको सांसद खड्काले जानकारी दिए। 

उनले भने, ‘कांग्रेस, माओवादी र जसपा एउटै बैठकमा बसेर नेपालीलाई मुख्यमन्त्रीको नेतृत्व दिने निर्णय भएको छ। 'जनमोर्चाका संसदीय दलका नेतासँग भने कुरा भएको छैन, पार्टीका केन्द्रीय अध्यक्षले नै अविश्वास प्रस्ताव आए साथ दिने भन्नुभएको छ। उहाँहरुले पनि पार्टीको सर्कुलर मान्नुहुन्छ होला भन्ने लाग्छ।'

नेतृत्वको टुंगो लगाए पनि अन्य मन्त्रालय बाँडफाँट भने अविश्वास प्रस्ताव पास भए मात्रै छलफल गर्ने उनले जानकारी दिए।  ​

जसपाले पनि बनायो वार्ता समिति

यसैबीच नयाँ सत्ता समीकरणका लागि वार्ता गर्न जनता समाजवादी पार्टीले गण्डकी प्रदेशमा वार्ता कमिटी बनाएको छ। बुधबार प्रदेश सांसद र पार्टीका नेता सम्मिलित ५ सदस्यीय वार्ता कमिटी बनाइएको जसपाकी सांसल धनमाया लामाले जानकारी दिइन्। 

जसपाका प्रदेश इन्चार्जसमेत रहेका केन्द्रीय सदस्य गणेशमान गुरुङको संयोजकत्वमा गठन भएको वार्ता कमिटी सदस्यमा प्रदेश सांसद हरिशरण आचार्य, धनमाया लामा पोखरेल, डिबी नेपाली र मोती रिसाल सदस्य छन्। 

सरकारमा जाने तयारी रहेकाले पार्टीका तर्फबाट हुने सम्पूर्ण छलफल तथा बैठकमा प्रतिनिधित्व गर्न वार्ता समिति बनाइएको सांसद एवं समिति सदस्य आचार्यले बताए। 

कांग्रेसले सांसद कुमार खड्का र माओवादीले सांसद हरिबहादुर चुमानको संयोजकत्वमा यसअघि नै वार्ता कमिटी गठन गरिसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.