|

विराटनगर :  विभागीय टिम एपिएफ क्लब विराटनगरलाई हराउँदै विराट गोल्ड कपको फाइनल प्रवेश गरेको छ। 

विराटनगरस्थित सहिद मैदानमा जारी छैटौं विराट गोल्डकपमा बुधबार भएको पहिलो सेमिफाइनलमा एपिएफले घरेलु टिम विराटनगर–११ लाई ३–२ गोलले पाखा लगायो। 

एफिएफका सनिश श्रेष्ठ, रवि थिङ र मणि लामाको गोलमा एपिएफले जित निकालेको हो। खेलको सुरुवातमा दुवै टिम आक्रमक देखिए पनि पहिलो हाफको २६ औं मिनेटमा एपिएफले गोलको खाता खोल्यो। 

सनिश श्रेष्ठले गोल गर्दै एपिएफले टिमलाई अग्रता दिलाएका थिए। श्याम नेपालीले दिएको क्रस पासलाई सनिशले पेलान्टी एरियामा गरेको वान टचलाई गोलमा परिणत गरे।

खेलको १५ औं मिनेटमा विराटनगरले खेल बराबरी गर्ने अवसर गुमाएको थियो। फ्लोरेन कौराको क्रस पासमा कप्तान दीपक राईले डिबक्स एरियादेखि गोल गर्न सकेनन्। २७ औं मिनेटमा २०७२ को विराट गोल्डकप उपविजेता एपिएफका खेलाडी श्याम नेपालीले गरेको उत्कृष्ट प्रहार विराटनगरका गोलरक्षक किशोर गिरीले उत्कृष्ट बचाउ गरिदिएका थिए।

पहिलो गोल खाएपछि दबाबमा परेको विराटनगरले पहिलो हाफमा खेल बराबरीमा ल्याउन निकै संघर्ष गर्‍यो। तर सफल हुन सकेन।  

पहिलो हाफमा १–० को अग्रता लिएको एपिएफलाई दोस्रो हाफमा भने विराटनगरले निकैबेर रोक्न सफल भयो। खेलको ५३ औं मिनेटमा विराटनगरका विदेशी खेलाडी स्टेपर समीरले डिबक्स एरिया नजिक बललाई होल्ड गरी गरेको प्रहार गोलमा परिणत भयो। खेल बराबरी भयो। 

तर त्यसको १४ मिनेट बित्न नपाउँदै एपिएफका रवि थिङले ६७ मिनेटमा गोल गरी टिमलाई २–१ को अवस्थामा ल्याए। श्याम नेपालीले निकालिदिएको क्रस पासलाई रविले जाली चुमाएका थिए। 

एपिएफले दोस्रो गोल गरेको दुई मिनेट बित्न नपाउँदै विराटनगरले ६९ औं मिनेटमा गोल गरी खेल फेरि बराबरीमा ल्यायो। प्रकाश बुढाथोकीले पेलान्टी एरियादेखि वान टच बललाई गोलमा परिणत गरेका थिए। 

घरेलु दर्शकको साथ र समर्थन पाएको विराटनगरका लागि ८० र ८३ औं मिनेनमा माैका थियो। तर उनै बुढाथोकीको डिबक्स एरियादेखिको प्रहार बाहरियो। 

९० औं मिनेटको निर्धारित समयसम्म २/२ को बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समयतर्फ धकेलिएको थियो। थप गरिएको समयको २७ औं मिनेटमा एपिएफका मणि लामाले डिबक्स बाहिरदेखि गरेको प्रहार गोलमा परिणत भयो। जुन गोल नै एपिएफको जित बन्यो। 

खेलको म्यान अफ द म्याच एपिएफका मणि लामा घोषित भए। उनले नगद १० हजार रुपैयाँ पाए। अब बिहीबार अर्को सेमिफाइनल आरा–रारा गोल्डकप विजेता संकटा र भारतको पन्जाब पुलिसबीच हुनेछ। उक्त खेलमा जित निकाल्नेसँग एपिएफले फाइनल भीडन्त गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.