|

लमजुङ : घरबास (होम स्टे) सञ्चालन भएका लमजुङका पर्यटकीय गाउँहरू आन्तिरिक पर्यटकले भरिभराउ भएका छन्। उत्कृष्ट पर्यटकीय घलेगाउँ र गाउँशहरको काउलेपानी लगायत गाउँहरूमा नयाँ वर्ष मनाउनेहरूको ओइरो लागेको हो। 

२०७७ साललाई बिदाइ गर्दै नयाँ वर्ष २०७८ लाई रहेर स्वागत गर्न पर्यटकीय गाउँहरूमा आन्तरिक पर्यटकको ओइरो लागेको स्थानीय पर्यटन व्यवसायीहरूले जानकारी दिएका छन्‌।

नयाँ वर्षको आगमनसँगै आन्तरिक पर्यटकहरूको आगमन बढेपछि स्थानीय पर्यटन व्यवसायीलाई भ्याइ-नभ्याइ भएको छ। पर्यटकहरूको चाप बढ्दा आफूहरू निकै व्यस्त भएको काउलेपानी पर्यटन विकास समितिका अध्यक्ष देव गुरुङले बताए।

कोराना महामारीका कारण व्यवसाय लामो समयसम्म थला परेपनि नयाँ वर्ष मनाउन आएका पाहुनाले होमस्टे भरिभराउ भएपछि राहत महसुस गरेका गुरुङ प्रफुल्ल देखिएका छन्‌।

यस्तै, स्मार्ट भिलेजको रूपमा परिचित घलेगाउँमा पनि नयाँ वर्षको रौनक छाएको पर्यटन व्यवस्थापन समिति ग्रामिण पर्यटन घलेगाउँका सचिव दीर्घ घलेले बताए। यतिबेला जिल्लाका विभिन्न स्थान र जिल्ला बाहिरबाट आउने पर्यटकहरूले घलेगाउँका होमस्टे खचाखच भएको उनले बताए। 

नयाँ वर्षका दिन घलेगाउँमा आयोजना गरिएको सांगीतिक कार्यक्रम र नयाँ वर्ष आएका पर्यटकको चाप बढेसँगै पाहुनाको स्वागत र व्यवस्थापनमा भ्याइ-नभ्याइ भएको उनले जानकारी दिए। 

नयाँ वर्षमा सबैतिर बिदा भएकोले पारिवारिक तथा समूहगत रूपमा पर्यटकहरू गाउँ पुगेका हुन्‌। ​होमस्टे सञ्चालन गरिएका जिल्लाका भुजुङ, राईनास, सिउरुङ लगायत  पर्यटकीय गाउँहरूमा पनि नयाँ वर्षका बेला आन्तरिक पर्यटकहरूको आगमन बढेको छ।

पछिल्लो समय जिल्लाका पर्यटकीय गाउँहरूमा आन्तरिक पर्यटकहरूको आगमन बढ्न थालेपछि पर्यटन व्यवसायीहरू उत्साहित बनेका छन्‌। कोरोना महामारी फैलिएसँगै उनीहरू यसअघि निराश बनेका थिए भने जिल्लाका अधिकांश गाउँहरूमा प्रवेशमा समेत रोक लगाइएको थियो। कोरोना संक्रमण जोखिम कम हुँदै गएपछि पर्यटकीय गाउँहरू पर्यटकका लागि आगमन खुला गरिएको हो। 

यद्यपी; सरकारले कोरोनाको दोस्रो लहर शुरू भएकाले स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड अपनाउन र अनावश्यक जमघट नगर्न तथा सर्तकता अपनाउन आग्रह गरिरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.