प्रधानमन्त्रीलाई जस पाउने लोभ

|

काठमाडौं : रानीपोखरी र धरहरा २०७२ बैशाख १२ को भूकम्पले क्षतिग्रस्त बनायो। राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ माघ २ मा रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरिन्।

पाँच वर्षपछि रानीपोखरी मल्लकालीन स्वरुपमा निर्माण सम्पन्न गरी २०७७ कात्तिक ५ मा राष्टपति भण्डारीले उद्घाटन गरिन्। तर, धरहरा भने पुनर्निमार्णको काम नसकी यही वैशाख ११ मा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार धरहराको पुनर्निर्माण अहिलेसम्म ६० प्रतिशत मात्रै सकिएको छ।

धरहरा पुनर्निर्माण काममा खटिएका एक कर्मचारी सरकार फेरिने सम्भावना भएकाले काम नसकी सरकारले उद्घाटन गर्न लागेको अनुमान लगाउँछन्। ‘काम सकिन त अझै धेरै नै समय लाग्छ,' उनले भने‚ 'तर,सरकार फेरिने सम्भावना रहेकाले प्रधानमन्त्रीले वैशाख ११ गते नै उद्घाटन गर्न लागेका हुन्।’

प्रधानमन्त्रीलाई जस पाउने लोभ

पूर्वरक्षामन्त्री तथा संघीय सांसद भीमसेनदास प्रधानले प्रधानमन्त्री ओलीले जस पाउनका लागि धरहरा उद्घाटन गर्न हतार गरेको दाबी गर्छन्।

‘ओली अहिले जहाँ पनि आफ्नो नाम अगाडि आओस् भनी जहाँ पनि शिलान्यास र उद्घाटन गर्न दौडिरहेका छन्,’ प्रधानले भने, ‘धरहराको पनि जस पाउन उहाँले काम नसकी उद्घाटन गर्न लागेका हुन्। जात्रा देखाउन ओली र राष्टपति भण्डारीले शिलान्यास र उद्घाटन गर्न भागबण्डा गरिरहेका छन्। ओलीले कुन दिन समृद्ध नेपाल, सुखी नेपाली नाराको पनि शिलान्यास गर्न बेर छैन!’

सांसद प्रधानले काष्ठमण्डपबाट काठमाडौंको नाम रहेको भए पनि प्रधानमन्त्री ओलीलाई काष्ठमण्डपको महत्त्व थाहा नपाएको आरोप लगाए। ‘काष्ठमण्डपको के कति काम भयो भन्ने उहाँलाई चासो र चिन्ता नै छैन,' उनले भने‚ 'तर, धरहरामा धेरै उनको चिन्ता छ।’ उनले धरहरा पुनर्निर्माणको काम सकेपछि मात्रै उद्‍घाटन गर्नुपर्ने धारणा राखे।

यसो भन्छ प्राधिकरण

पुनर्निर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले चेतना फैलाउन धरहराको उद्घाटन गर्न लागिएको तर्क गर्छन्। ‘धरहरा टावरको ९८ प्रतिशत काम सकिसकेको छ, बाँकी काम तुरुन्त सम्पन्न गर्ने योजना छ,' उनले भने‚ 'बाँकी काम हुँदै जान्छ,हामी भूकम्पबाट सम्पदा पुनर्निर्माणमा उठ्यौ है भन्ने चेतना आम मानिसमा फैलाउन ११ गते उद्घाटन गर्ने योजना बनाएका हौं।’ 

ठकेदार कम्पनीलाई काम छिटो सकाउन प्रेसर दिने उद्देश्यले पनि परियोजनाको सम्पूर्ण काम नसकी उद्घाटन कार्यक्रम  गरिएको मानन्धर बताउँछन्। 'निर्माण व्यवसायीलाई १५ महिना समय थप गरिसक्यो,' उनले भने‚ 'तर काम सम्पन्न नगरेकाले छिटो सकाउन प्रेसर दिनलाई पनि हतार गरिएको हो।’

मानन्धरका अनुसार धरहराको सम्पूर्ण योजनाको भने अहिलेसम्म ६० प्रतिशत काम सम्पन्न भएको बताए। बाँकी काम आगामी मंसिरसम्म सकिने उनले बताए। उनका अनुसार अहिले तीन तला पार्किङको ढलान,रङरोगन,वाल निर्माण लगायत काम धमाधम भैरहेको छ।

प्राधिकरणले २०७७ को माघ ३ गते नै प्रधानमन्त्रीलाई धरहरामा चढाउने योजना बनाएको थियो। तर‚ कोरोना महामारीका कारण उक्त योजना पूरा नभएको मानन्धर बताउँछन्। ‘कोभिड–१९ ले त्यो समयमा धरहरामा प्रधानमन्त्री ज्यु लाई चढाउन सकेनौँ,’ उनले भने, ‘समय सारेर चैत पहिलो साता उद्घाटन गर्ने योजना थियो। तर, त्यो पनि भएन। यो तेस्रो पटकको योजना हो।’

धरहरा निर्माणका लागि तीन अर्ब आठ करोड रुपैयाँ सम्झौतामा भएको छ। जसमध्ये अहिलेसम्म एक अर्ब ६७ करोड रुपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ।पुरानो धरहरा अगाडिको ४२.२ रोपनी क्षेत्रफलमा २२ तलाको धरहरा पुनर्निर्माण गरिएको छ। धरहरामा संग्रहालय, बगैंचा, प्रदर्शनी हल, चमेना गृहलगायत बनाइने छ। प्रधानमन्त्री ओलीले २०७५ पुस १२ गते भूकम्पले क्षतिग्रस्त धरहरा पुनर्निर्माणको शिलान्यास गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.