कोरोना कहरमै २ लाख बढीले छाडे देश

|

काठमाडौं : मध्याह्नको तातो घाम। जस्ताको छाना तातिएर आइरहेको बाफ। हेर्दा फिल्म हलमा टिकट काट्न लाइनमा बसेजस्ता देखिन्छन्। तर ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयका परिसरमा तन्नेरीहरूको लाइनमा भेटिन्छन् कतार जान श्रम स्वीकृति गर्न आएकाहरू। त्यही भीडमा छन् दुर्गेश कुमार यादव।

यतिखेर विश्वभर कोरोना कहर छ। तर सिराहाको दुर्गेशलाई परिवार पाल्ने बाध्यताले बिदेसिनुपर्ने छ। सिराहामा गर्मीको तापक्रम उकालो लाग्दै छ। उनको जीवन र परिवारमा पनि ऋणको ग्राफ उकालो लागिरहेको छ।

काठमाडौं १० वर्ष बस्दा दुर्गेशले गरेको उपलब्धि 'ऋण' हो। १० वर्ष काठमाडौं बसेको भन्दा २ वर्ष कतार बस्दा धेरै राम्रो कमाइ गर्न सकिने उनलाई लागेको छ। पढाइका लागि लिएको ऋण बढ्दै गएपछि पढाइ छाडेर उनी विदेश जान आएको सुनाउँछन्। 

प्राविधिक विषय अध्ययन गरेका दुर्गेशले ओभरसियर पढेका थिए। काठमाडौंको एक प्राविधिक कलेजमा उनले पढाइ पूरा गर्न सकेनन्। व्यवसाय गर्ने सोचसहित टयाक्सी किने। सुरुमा १ लाख रुपैयाँ दिएर किस्ताबन्दीमा निकालेको टयाक्सीले राम्रो कमाइ गरेको थियो।

दुर्गेश चालक थिएनन्। न उनीसँग कुनै सवारीसाधनको लाइसेन्स नै थियो। टयाक्सी किनेर ड्राइभर खोजेर टयाक्सी चलाउन दिएका थिए। तर चालकले आफूले सोचेजस्तो नचलाएकाले टयाक्सी बिग्रने समस्या बढ्न थाल्यो। समयमा पैसा बुझाउन नसक्दा बैंकले टयाक्सी लग्यो। 

पढ्न आएका दुर्गेश झन् झन् ऋणमा फस्दै गए। अनि कतार जाने सोचाइमा पासपोर्ट बोकी विभिन्न म्यानपावर धाउन थाले। चार वर्ष अगाडि कतार जान पहिलोपटक त्रिभुवन विमानस्थल छिरेका थिए उनी। जहाँ दैनिक धेरैको जहाजसँगै सपना उडिरहेका हुन्छन्।

३१ वर्षे दुर्गेशले उर्वर उमेर खाडीको गर्मीमा पसिना बग्न दिए पनि सपना बग्न दिएनन्। 'मेहनत गरेर पढेको भए विदेश जाने दिन आउँदैनथ्यो,' उनी सुनाउँछन्। तराईका अधिकांश मानिस गरिबीको रेखामुनी रहे पनि उनले कक्षा १० सम्म निजी विद्यालयमा अध्ययन गरेका थिए।

'अंग्रेजी बुझ्थें, त्यसले पनि आत्मविश्वास जगाएर कतार जाने आँट गरेको थिएँ,' उनले विगत सुनाए, 'अभिभावकले आफू नपढे पनि ऋण गरेर हामीलाई राम्रो पढाएका थिए।'

कतारको सनैयामा उनले दुई वर्ष बिताएका थिए। जसलाई औद्योगिक क्षेत्रको रुपमा चिनिन्छ। दुर्गेश जेनेरेटरको पार्टपुर्जा बिक्री गर्ने ठाउँमा काम गर्थे। खाडीमा बढेको गर्मीको जसरी ताप बढेको थियो, उनको परिवारमा लागेको ऋणको ब्याज फनफनी घुमिरहेको थियो।

'दुई वर्षसम्म घरमा बस्दा काम पाइनँ'

'कतारको गर्मी र परिवार सम्झँदा घर आउन मन लागे पनि पढाइ र टयाक्सी किन्दा लागेको ऋण सम्झेर आउन सकिनँ, 'दुर्गेश भन्छन्,' दुई वर्ष बसेपछि सदाको लागि कतार छोडेपनि घर व्यवहार चलाउन गाह्रो भएपछि पुनः जान लागेको छु।' दुई वर्षसम्म घरमा बसे तर भनेजस्तो काम नपाएको उनले दुखेसो पोखे। उनले दुई वर्ष घरमा बस्दा भनेजस्तो काम फेला पारेन र सहुलियतमा ऋण पाए केही गरेर स्वदेशमा बस्ने सोच पनि बनाएका थिए।

दुर्गेश अहिले फेरि दुई वर्ष अगाडि काम गरेको कम्पनीमा जान लागेका छन्। उनले कतार जाने आँट गरेसँगै यसपटक पनि ऋण र ब्याज लुगाका झोलासँगै लाने छन्। श्रम स्वीकृति बनेपछि टिकट काट्ने उनले बताए। उनले यसपटक पनि टिकटसहित यताउता गरेर करिब १ लाख खर्च लाग्ने बताए।

काम गर्ने कम्पनीले ड्राइभरका लागि डकुमेन्ट पठाए पनि आफू भने 'सेल्स मेन'का लागि जान लागेको उनले सुनाए। कम्पनीलाई पुनः 'सेल्समेन'को डकुमेन्ट पठाइदिन उनले फोन गरिरहेका थिए। केही समयपछि उनको मोबाइलमा म्यासेज आयो। जसमा थियो 'सेल्स मेन' को' म्यासेज। सही कामको डकुमेन्ट आएपछि उनी श्रम हुनेमा विश्वस्त देखिएका थिए।

कोरोना महामारीले कतारलाई पनि छोडेको छैन। उनी एयरपोर्टमा झरेपछि सीधै कम्पनी जना पाउँदैनन्। होटल क्वारेन्टाइनमा केही समय बसेपछि मात्र आफ्नो कम्पनीमा जान पाउँछन्।

'भाइलाई इन्जिनियर बनाएँ, खुसी छु'

उनको घरमा दुई सन्तानसहित परिवारमा ६ जना छन्। दुई छोरा, श्रीमती, बाबा, आमा र भाइ छन्। भाइलाई कतारमा काम गरेर भए पनि इन्जिनियर बनाएकोमा उनलाई गर्व लागेको छ। भाइ इन्जिनियर बन्दा आफैं बनेजस्तो उनले महसुस गरेका छन्।

'म इन्जिनियर बनिनँ, तर भाइलाई बनाएँ,' उनले हाँस्दै भने, 'चार वर्ष बैंग्लोरमा इन्जिनियर पढेर आएको छ।' उनको भाइ इन्जिनियरको रुपमा सिराहा नगरपालिकामा करारमा काम गरिरहेका छन्। उनले जस्तै काठमाडौंबाट भाइले १२ सम्म पढेका थिए।

१० कठ्ठा खेतीमा राम्रोसँग कृषि उत्पादन हुन नसकेकोमा पनि उनी गुनासो गर्छन्। वर्षमा दुई बाली उत्पादन हुने जग्गमा धान र गहुँ उत्पादन हुन्छ। 

महामारीमा पनि करिब अढाइ लाख कामदारले देश छाडे

दैनिक करिब ४ सय हाराहारीमा श्रम गराउन आइरहेका वैदेशिक रोजगार श्रम कार्यालय ताहाचलका प्रवक्ता छत्र बहादुर शाह बताउँछन्। उनका अनुसार अहिले व्यक्तिगत श्रम गराउन आउनेको संख्या बढी छ। कतार र साउदीमा सहजै कामदार जान पाउने गरेका छन्।

युएई, कुवेत, साउदी र बहराइन तथा अन्य मुलुकबाट छुट्टीमा आइरहेका मानिसहरु पुनःश्रम गर्न आउने गरेको शाहले थाहाखबरलाई जानकारी दिए। महामारी भएपछि २ लाख ४३ हजार ९५ ले श्रम स्वीकृति लिएका उनको भनाइ छ। जसअनुसार पुरुष २ लाख २५ हजार ७ सय ६७ र महिला १७ हजार ३ सय २८ छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.